नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले संघीय अस्पतालहरुको छिट्टै जनशक्ति व्यवस्थापन गरिने बताएका छन् । बुधवार भेरी अस्पतालमा पत्रकारहरुसँगको भेटघाटमा उनले अहिले सो कुरा बताएका हुन् । रोगको भार र बिरामीको चापको आधारमा जनशक्ति उपलब्ध गराइने पनि उनले बताए । ‘सातै प्रदेशमा रहेका संघीय अस्पतालहरुमा मौजुदा र आवश्यक जनशक्तिको लगत लिने काम भएको छ उनले भने–‘मन्त्रालयले छिट्टै रोगको भार र बिरामीको चापको आधारमा जनशक्ति उपलब्ध गराउँछ ।’
उनले अस्पतालहरुमा जनशक्तिको अभाव रहेको सुनाए । चार जना स्वास्थ्यकर्मीले गर्नुपर्ने काम अहिले एउटा स्वास्थ्यकर्मीले गर्नु परेको अवस्था सुनाए । उनले प्रदेश र स्थानीय सरकारसँग समन्वय र सहकार्यमार्फत् स्वास्थ्य क्षेत्रको सुधारमा मन्त्रालय लागिपरेको उल्लेख गरे । ‘स्थानीय पालिका र प्रदेश सरकारले पनि स्वास्थ्य क्षेत्रको सुधारका निमित्त समन्वय गर्न आवश्यक छ उनले भने–‘पालिका र प्रदेशबाट सम्भव हुने समस्याहरु त्यहींबाट हल गरिनु पर्छ ।’
उनले सातै प्रदेशमा बिशिष्टिकृत अस्पताल राख्नुको उद्देश्य भनेकै नागरिकहरुले गुणस्तरीय सेवा प्राप्त गरुन भन्ने रहेको पनि उल्लेख गरे । उनले अस्पतालहरुलाई प्रविधिमैत्री बनाउँदै लग्ने योजना रहेको पनि सुनाए । अस्पतालमा डिस्प्ले बोर्ड राख्ने योजनामा मन्त्रालयले तयारी गरिरहेको बताए ।
‘अहिलेपनि अस्पतालमा पुगेपछि बिरामीहरु अलमलमा पर्ने अवस्था छ । बेड नपाएको गुनासो सुनाउँछन् । अप्रेसनमा पालो कुर्नु परेको गुनासो आउँछ उनले भने–‘डिस्प्ले बोर्ड राखियो भने यी सबै कुरा बिरामी र आफन्तहरुले हेर्न सक्छन् ।’ मन्त्रालयसँग बजेट अभाव रहेको सुनाउँदै उनले भएको स्रोतसाधनबाटै सेवालाई चुस्त बनाउनु पर्नेमा जोड दिए ।