मधेशी तथा मुस्लिम समुदायमा अझै पनि स्वास्थ्य शिक्षा बारेको जागरण सन्तोषजनक छैन । पढेलेखेकै घरपरिवारमा पनि स्वास्थ्यबारेको बुझाई सकारात्मक हुन नसक्दा थुप्रै महिलाहरु विभिन्न खालका स्वास्थ्य समस्यासँग जुधिरहेका छन् ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा एक दशकदेखि प्रसूति तथा स्त्रीरोग विशेषज्ञको रुपमा कार्यरत डा.कमर जहाँ सहरी क्षेत्र र त्यसमा पनि शिक्षित भनिएकै परिवारमा स्वास्थ्य सचेतनाको चेतनास्तर सन्तोष गर्न लायक नभएको बताउँछिन् । ‘पहिलेको भन्दा स्वभाविकरुपमा चेतनाको स्तर बढेको छ, तर सन्तोष गर्न लायक छैन,’ उनी भन्छिन्–‘पढेलेखेकै घर परिवारका महिलाहरु गर्भवती हुँदा नियमित स्वास्थ्य चेकजाँच गरेको पाइँदैन । समस्या बढ्दै गएपछि मात्रै अस्पतालसम्म पुग्ने गरेका छन् ।’ नियमित गर्भ चेकजाँच नहुँदा आमा र शिशु मृत्युदर बढेको उनले बताइन् ।
बाँकेमा मातृ तथा नवजात शिशु मृत्युदर उच्च छ । उनले नियमित चेकजाँच अभाव पनि मातृमृत्यदरका विभिन्न कारण मध्ये पहिलो कारण भएको बताइन् । ‘अस्पताल वरिपरिकै महिला नियमित चेकजाँचका लागि आउनु हुँदैन,’ उनी भन्छिन्–‘कतिपयका श्रीमान् शिक्षक हुनुहुन्छ । कतिपयका प्रहरी र अन्य सेवामा कार्यरत कर्मचारी हुनुहुन्छ । तर, उहाँहरु नै गर्भ रहेको ७\८ महिना पुगेपछि अस्पताल आउनुहुन्छ । जसका कारण समस्याको सही समयमा पहिचान हुँदैन । यसले आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्छ ।’
मधेशी तथा मुस्लिम समुदायका महिलाहरु अझै पनि पुरुषको भर पर्ने गरेका छन् । स्वास्थ्यमा उनीहरुको पहुँच पुग्न नसक्नु अर्को कारण भएको पनि डा.जहाँले सुनाइन् । पछिल्लो समय बाँझोपनको समस्या भएका दम्पत्तिहरु अस्पतालमा आउने क्रम बढेको छ । यसका विभिन्न कारणहरु छन् । कतिपयमा महिलाहरुमै समस्या देखिएको पाइन्छ भने कतिपयमा पुरुषहरुमा पनि समस्या छ । ‘हाम्रो समाजमा अझै पनि बाँझोपनको समस्या महिलामा मात्रै हुन्छ भन्ने खालको बुझाई छ त्यो एकदमै गलत हो,’ उनी भन्छिन्–‘बदलिँदो जीवनशैली, अस्वस्थ खानपिन, हर्मोन लगायतका कारणले पुरुषमा पनि बाँझोपनको समस्या विकराल छ ।’ यस्तै आङ खस्ने समस्या, यौनीबाट सेतो पानी बग्ने लगायतका समस्या लिएर आउने महिलाको संख्या पनि धेरै छ ।
लाज र डरका कारण पनि कतिपय महिलाहरुले आफ्ना समस्याहरु लुकाएर बस्ने गरेको पाइन्छ । जटिल हुँदै गएपछि मात्रै चिकित्सककहाँ पुग्ने चलन छ । जसले गर्दा एकातिर महिलाहरुले पीडा खेप्नुपरेको छ भने खर्च पनि बढी हुने गरेको छ । डा.जहान भन्छिन्–‘नियमित स्वास्थ्य चेकजाँच गराउने हो भने धेरै समस्याहरु समयमै समाधान हुन्छन् । न बिरामीले धेरै पीडा खेप्नु पर्ने हुन्छ न त आर्थिक क्षती बढी हुन्छ ।’
सायद उनी मर्न सक्थिन्
करिव ७\८ वर्ष अघि नेपालगञ्ज मेडिकल कलेजमा एक जना गर्भवती आइन् । प्रसूति व्यथाले च्यापेर उनी लथ्रक्क थिइन् । नेपालगञ्जकै भएपनि उनलाई अन्तिम अवस्थामै अस्पताल ल्याइएको थियो । ड्युटीमा डा.कमर जहाँ थिइन् । साल उल्टो थियो । हेमोग्लोविनको मात्रा ४ भन्दा तल थियो । उनको टोली शल्यक्रिया गरेर भएपनि सुत्केरी गराउने निष्कर्षमा पुग्यो । त्यो बाहेक अरु विकल्प नै थिएन । रगतको व्यवस्था गरेर तत्काल शल्यक्रिया गरियो । आमा र बच्चा दुवैको ज्यान जोगियो । ‘सायद त्यो जोखिम हाम्रो टिमले नमोलेको भए ती महिला मर्न पनि सक्थिन्’–उनले भनिन् । डिस्चार्ज हुँदा परिवार र उनको त्यो खुसीको चेहेरा अझै पनि जहाँको मानसपटलमा ताजै छ । यो त एक प्रतिनिधिमुलक घटना भयो । यस्ता त कति छन् कति । चिकित्सकीय पेशामा अहिलेसम्म एक हजार बढी शल्यक्रिया गरिसकेको उनले सुनाइन् ।
को हुन् प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.कमर जहाँ ?
वि.सं.२०३७ साल फागुन ५ गते पोखरा महानगरपालिका १३ मियाँपाटनमा कमरको जन्म भयो । वुवा मैनुद्दिन मियाँ र आमा नुरजाह खातुनको पहिलो सन्तानको रुपमा कमर जहाँको जन्म भएको हो । मियाँपाटन पोखराको पहाडी क्षेत्रमा पर्छ । उनको बाल्यकाल तिनै भीरपाखामा वित्दै थियो । कमरका बुवाआमा विजिनेश गर्थे ।
न्यू मोडेल इंग्लिश स्कूलमा कक्षा ७ मा पढ्दै थिइन् कमर जहाँ। त्यहीबेला उनका बुवाआमा विजिनेशका शिलशिलामा चितवन झरे । उनी र वहिनी पनि बुवाआमासँगै चितवन झरे । कमर पढ्नमा तेज भएकाले उनका हजुरबुवाले तिमी (कमर) पछि डाक्टर बन्ने है भन्थे । ‘कक्षामा म प्रथम नै हुन्थें,’ उनले विगत सम्झँदै भनिन्–‘पढ्नमा पनि राम्रै थिएँ । हजुरबुवाको प्रेरणा पनि भयो । त्यतिबेलै कलिलो मेरो मानसपटलमा डाक्टर नै बन्छु भन्ने हुटहुटी भयो । सायद त्यही भएर पनि डाक्टर नै बनियो होला
(…हाँस्दै……) ।’
उनले कक्षा ८, ९ र १० चितवनको स्माल हेवन स्कुलमा पढिन् । वि.सं.२०५४ सालमा उत्कृष्ट अंक लिएर उनले एसएसली गरिन् । प्लस टु भने वि.सं. २०५७ सालमा काठमाडौंको सेन्टमेरी स्कुलबाट गरिन् । त्यसपछि एमबीबीएस अध्ययनका लागि भने उनी पाकिस्तान गइन् । उनलाई पाकिस्तानबाटै एमबीबीएस गर्ने हुटहुटी थियो । त्यतिबेला अधिकांश अध्ययनका लागि पाकिस्तान नै जाने चलन थियो ।
छरछिमेक अधिकांश डाक्टर पढ्न पाकिस्तान जानेको गरेको उनलाई थाहा थियो । त्यही भएर पनि कमरलाई पाकिस्तानमै गएर डाक्टर पढ्ने हुटहुटी थियो । सन् २००७ मा उनले पाकिस्तानको कराँचीस्थित सिन्थ मेडिकल कलेजबाट एमबीबीएस अध्ययन पूरा गरिन् । त्यसपछि उनी नेपालगञ्ज मेडिकल कलेजमा जोडिइन् । करिव एक वर्ष भएको थियो । उनको एमडीमा नाम निस्कियो । नेपाल मेडिकल कलेज काडमाडौंबाट उनले सन् २०१२ मा एमडी गरिन् । त्यसपछि उनले नेपालगञ्ज मेडिकल कलेजमा बसेर यस क्षेत्रका महिलालाई निरन्तर उपचार सेवा प्रदान गर्दै आएकी छिन् ।
गाइनेनै किन रोज्नुभएको हो ?
उनको छोटो जबाफ छ–‘महिलालाई सहज स्वास्थ्य सेवा प्रवाह गर्न ।’ प्रसूति तथा स्त्रीरोग विशेषज्ञमा कैयौं ठाउँमा पुरुष डाक्टर हुँदा महिलाहरुले आफ्ना समस्या खुलेर राख्न अहिले पनि गाह्रो मान्छन् । १२–१५ वर्ष अघिसम्म त झन अवस्था के थियो होला ? त्यही भएर पनि उनलाई प्रसूति तथा स्त्रीरोग विशेषज्ञ नै हुन मन लाग्यो । पहाडी क्षेत्रका मुस्लिम समुदायका महिलाहरुमध्ये विशेषज्ञ चिकित्सक हुने डा.कमर जहान पहिलो हुन् ।
‘तराई क्षेत्रमा हाम्रो समुदायलाई प्रतिनिधित्व गरेर महिला डाक्टर थिए,’ उनी भन्छिन्–‘तर पहाडी जिल्लाबाट प्रतिनिधित्व गर्ने पहिलो महिला डाक्टर सायद म नै हुँ ।’