मस्तिष्कघात भन्ने बित्तिकै यसले मृत्यु गराउँछ भन्ने धेरैको मनमा आउँछ । ‘बाँच्ने टुंगो शून्य बराबर छ, बाँचे पनि पक्षघातको सम्भावना हुन्छ ।’ ‘त्यो व्यक्ति उपचारपछि बाँचे पनि सक्रिय हुँदैन ।’
यस्तो सोचाइ पूर्णतया सत्य नभएको वरिष्ठ स्नायु, नसा तथा मेरुदण्ड रोग विशेषज्ञ प्रा.डा. राजीव झा बताउँछन् । उनका अनुसार सही समयमा अस्पताल पुगेर उपचार पाए बाँच्ने सम्भावना उच्च हुन्छ । यसै सन्दर्भममा प्रा.डा. झासँगको कुराकानीको सम्पादित अंशः
मस्तिष्कघात के हो, यो कसरी हुन्छ ?
मस्तिष्कमा कुनै कारणवश आघात पुग्नु नै मस्तिष्कघात हो । यो दुई किसिमको हुन्छ, दिमागको नसा सुकेर अर्को भनेको मस्तिष्कभित्र नसा फुटेर रक्तस्राव भई मस्तिष्कघात हुनसक्छ ।
यो आफैंमा जटिल समस्या हो । तर समयमै उपचार गर्न सकियो भने बिरामीलाई बचाउन सकिन्छ । किनभने हामीकहाँ मस्तिष्कघातको घटनालाई केलाउँदा धेरैजसो अस्पताल पुग्न नपाएर मृत्यु भएको देखिन्छ ।
यो समस्या अस्वस्थ जीवनशैली भएको व्यक्तिमा हुने जोखिम रहन्छ । कोलेस्टेरोल, मुटुरोग, मधुमेह, उच्च रक्तचाप समयमा पत्ता नलाग्नु वा सो नियन्त्रणमा ल्याउने औषधि नखानु र चिकित्सकको फलोअपमा नजाने, औषधि खाने तर रक्सी र चुरोट अत्यधिक खाने, शारीरिक व्यायाम पटक्कै नगर्ने र अनियन्त्रित खानपान तथा मोटोपन भएमा यो समस्या हुनसक्छ ।
नेपालमा मस्तिष्कघातका बिरामीको वृद्धिदर कस्तो छ ?
नेपालमा मस्तिष्कघातका बिरामी बढ्दो अवस्थामा छन् । पछिल्लो समय युवा पनि यसको जोखिममा परेको देखिन्छ । मस्तिष्कघातको समस्या देखा परी उपचारको पहुँचमा पुग्न ढिला हुँदा उपचार गर्न नसकिएका दुःखलाग्दा यथार्थ छन् ।
यसको कारण खानपान, समयमा अस्पताल नपुग्नु, भौगोलिक अवस्था, स्वास्थ्य संस्था र चिकित्सक पर्याप्त नहुनु नै हो । विश्वको तथ्यांकलाई नियाल्ने हो भने मस्तिष्कघात मृत्यु र पक्षघात ल्याउने रोगमा तेस्रो नम्बरमा पर्छ । विज्ञहरुले के अनुमान गरेका छन् भने पछिल्लो पाँच वर्षमा मृत्यु र पक्षघात गराउने प्रमुख कारणमा मस्तिष्कघात हो । नेपालको सन्दर्भमा भन्नुपर्दा स्ट्रोक पाँचौं नम्बरमा रहेको छ ।
के मस्तिष्कघात भइसकेपछि उपचार सम्भव छ ?
मस्तिष्कघातको उपचार सम्भव छ । यदि मस्तिष्कघात हुने बित्तिकै सही समयमा तुरुन्त मस्तिष्कघातको उपचारका लागि दक्ष चिकित्सक र उपकरण भएको अस्पतालमा पुग्यो भने उपचार सम्भव छ । बिरामीको ज्यान बच्न सक्छ । तर विडम्बना नेपालमा मस्तिष्कघातकै लागि भनेर विशेष केन्द्रहरु छैनन् । जसकारण सही उपचार पाउन र बाँच्न कठिन छ ।
विशिष्टकृत इकाई कस्तो हुनुपर्छ ?
विशिष्टकृत इकाई भन्नाले मस्तिष्कघातको उपचारका लागि चाहिने छुट्टाछुट्टै औषधि, प्रयोगशाला, शल्यक्रिया, दक्ष चिकित्सक, २४ औं घण्टा सेवा हुनुपर्छ । सो इकाईमा क्याथ ल्याब हुनुपर्छ । सो ल्याब सहितको उपचारले जहाँ मस्तिष्कमा रगतको थेग्ला अड्किएको छ भने तार जस्तो उपकरण घुँडा वा पैतालाबाट छिराएर निकाल्न सकिन्छ ।
के नेपालमा यस्तो विशिष्टकृत इकाई छन् ?
नेपालमा मस्तिष्कघात विशिष्टकृत इकाई औंलामा गन्न सकिनेछन् । जसमा वीर अस्पताल, उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल, अन्नपूर्ण न्युरो अस्पताल, नर्भिक अस्पताल, ग्राण्डी इन्टरनेसनल अस्पताल र मेडिसिटी अस्पताल । यी त भए काठमाडौंभित्रका अस्पताल । उपत्यका बाहिर त शून्य बराबरमा अस्पताल होलान् । जसले गर्दा दु:खसात भन्नैपर्छ । भौगोलिक रुपमा छरिएका बिरामीलाई बचाउन सक्ने अवस्था छैन ।
समस्या पहिचान भई अस्पताल पुग्नेहरूमा कत्तिको सफल उपचार भइरहेको छ ?
मस्तिष्कघात भएको पहिलो चार घण्टासम्म पुगेमा सफल उपचार हुनसक्छ । उनीहरुपछि सामान्य जीवनमा फर्किन सक्छन् । सो चार घण्टालाई गोल्डेन आवर पनि भनिन्छ ।
त्यसैले जतिसक्दो चाँडो अस्पताल पुर्याउनुपर्छ । चार घण्टा कटेपछि पनि पक्षघात भएमा १०० मध्ये १५ जना औषधि र फिजियोपछि सामान्य अवस्था फर्किन सक्छन् । ८५ प्रतिशतको नतिजा भने अनुकूल रहँदैन । नेपालको सन्दर्भमा भने अस्पताल ढिला पुगेर नै ज्यान गइरहेको छ ।
नेपालमा सही समयमा अस्पताल नपुग्नुको कारण के हो ?
नेपालमा कुनै समस्या भयो भने पर्ख र हेरको अवस्थामा बस्ने चलन छ । कसैलाई केही भयो भने कम हुन्छ कि भनेर बस्दा वा मस्तिष्कघातबारे ज्ञानको कमीले अवस्था गम्भीर बन्छ । मस्तिष्कघात जस्तो आपतकालीन केसमा त झन् अवस्था भयावह नै छ । मस्तिष्कघातपछि देखिने लक्षण टाउको दुख्नु, मुख बाङ्गिनु, बोली अस्पष्ट हुनु, हातखुट्टा झमझमाउदा नजिकको अस्पताल लगरे प्राथमिक उपचार गराउँदा गराउँदै समय गइसकेको हुन्छ । मुख्य उपचार हुने अस्पताल लैजाँदा अवस्था गम्भीर भइसक्छ ।
मस्तिष्कघात भइसकेपछि पक्षघात भयो भने त्यसपछि निको हुन कतिको सम्भावना छ ?
पक्षघात भइसकेपछि सामान्य अवस्थामा आउने सम्भावना छ । तर पक्षघातपछि सुधार हुनको पुनर्स्थापना केन्द्र आवश्यक पर्छ । नेपालमा भने पुनर्स्थापना केन्द्र कम छ । सरकारी तवरमा भने यो मस्तिष्कघातकै लागि भनेर खोलिएको पुनर्स्थापना शून्य बराबर नै छ ।
मस्तिष्कघातको रोकथाम छ ?
मस्तिष्कघातको कुनै रोकथाम छैन । तर कुनै कुरामा शरीरबाट बल लगाउनुपर्ने अवस्थामा भने यसको जोखिम बढ्छ । मधुमेह, मुटुरोग भएका व्यक्तिले दिसा गर्न बल लगाउने, प्रोस्टेटको समस्या हुनेले पिसाबको लागि अत्यधिक बल लगाउने गर्नु हुँदैन ।
त्यस्तै शारीरिक सक्रियता बढाउने, दीर्घरोगलाई नियन्त्रणमा राख्ने र मदिरापानको लतबाट बच्नु मस्तिष्कघात मात्र होइन, धेरै रोगबाट बच्न सम्भव छ ।