काठमाडौंः सरकारले गर्भवती महिलाको स्वास्थ्य सुधारका लागि बहु–सूक्ष्म पोषकतत्व (एमएमएस) वितरण अभियान सुरू गर्ने भएको छ ।पहिलो चरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र हेलन केलर इन्टरनेसनलको सहकार्यमा लुम्बिनी प्रदेशका १० जिल्ला र अन्य ६ प्रदेशका १० वटा जिल्लाका गर्भवती महिलाहरुलाई बहु–सूक्ष्म पोषकतत्व दिइनेछ । र, त्यसको प्रभाव हेरेर अरु जिल्लामा विस्तार गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ ।
गर्भवती महिलालाई रक्तअल्पता, कुपोषण जस्ता समस्याबाट बचाउन, अनि कम तौल भएको बच्चा जन्मने वा नवजात शिशु गर्भावस्थामै मृत्यु हुने अवस्थालाई न्युनीकरण गर्न डेढ दशकदेखि आइरन–फोलिक एसिड वितरण गर्दै आएको छ । तर विश्व स्वास्थ्य संगठन लगायतका संस्थाले गरेको पछिल्ला अध्ययनहरुले एमएमएस चक्कीको उच्च प्रभावकारिता देखाएको छ ।
नेपालमा पनि सन् २०२५ मा सूक्ष्म पोषक तत्वको राष्ट्रिय सर्वेक्षण हुँदैछ, जसले कार्यक्रमको प्रभावकारिता मूल्यांकन गर्नेछ । तर विश्वव्यापी रूपमा यसको प्रभावकारिता र सुरक्षाको प्रमाणित भइसकेको हुँदा नेपालमा पनि वितरण गर्न लागिएको हो ।
‘गर्भावस्थामा देखिने रक्तअल्पता, कम तौलको शिशु जन्मने, समयअगावै प्रसव हुने र नवजात शिशु मृत्युदर जस्ता जटिलता न्यूनीकरणमा यो चक्की प्रभावकारी देखिएको छ,’ परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले भने ।
कार्यक्रमको पहिलो चरणमा कपिलवस्तु, नवलपरासी, रुपन्देही, अर्घाखाँची, दाङ, प्युठान, रोल्पा, पूर्वी रुकुम, बाँके र बर्दिया जिल्लाका १२० स्वास्थ्य संस्थामा एमएमएस चक्की वितरण गरिएको छ । महाशाखाका अनुसार लुम्बिनी प्रदेशको १० जिल्लामा गरि करिब २५०० गर्भवती अध्ययनमा समेटिनेछन् ।
सर्वेक्षणमा सहभागी जिल्लामा गर्भवती महिलालाई दुई भागमा विभाजन गरी अध्ययन भइरहेको छ ।
१२५० जनालाई अहिले प्रयोग भइरहेको आइरन–फोलिक एसिड दिइने छ भने बाँकीलाई एमएमएस चक्की दिइनेछ । ‘गर्भवतीले कुन औषधि राम्रो सेवन गर्नुहुन्छ ? प्रतिक्रिया कस्तो रहन्छ ? त्यहाँबाट आएको नतिजालाई हेरेर कार्यक्रमको योजना तय गछौं,’ महाशाखाका परिवार नियोजन सुपरभाइजर निरीक्षक आशिष तिमल्सिनाले भने ।
यस्तैगरी झापा, रौतहट, धनुषा, रुपन्देही, स्याङजा, धादिङ, काभ्रे नवलपरासी पूर्व, सुर्खेत, कञ्चनपुरका करिब ६ सय गर्भवतीलाई एमएमएस चक्की दिइने छ ।
तर कार्यक्रममा गर्भवती महिलाको स्वेच्छिक सहभागितालाई प्राथमिकता दिइएको छ । स्वास्थ्यकर्मीले दुवै चक्कीका फाइदाबारे विस्तृत जानकारी दिएपछि मात्र महिलाहरुले आफ्नो रोजाइ गर्न पाउनेछन् । ‘यो कार्यक्रम नेपालको मातृ तथा शिशु स्वास्थ्य क्षेत्रमा एक महत्वपूर्ण मोड हो,’ डा. लाल भन्छन्, ‘पहिलो चरणको सफलतापछि यसलाई देशव्यापी विस्तार गर्दै लगिने छ ।’
१५ प्रकारका सूक्ष्म पोषक तत्व
गर्भवतीका लागि बहुसूक्ष्म पोषकतत्वयुक्त (एमएमएस) चक्की वितरण भइसकेको छ । विश्वव्यापी रूपमा यसको प्रभावकारिता र सुरक्षाको प्रमाणित भइसकेको हुँदा नेपालमा छुट्टै अध्ययन नगरिने डा. लालले बताए ।
उनका अनुसार हाल वितरण भइरहेको आइरन–फोलिक एसिडसँगै एमएमएस कार्यक्रम कार्यान्वयन गर्दा आइपर्ने व्यवहारिक चुनौतीहरूको पहिचानका लागि भने स्थानीय तहमै वितरण गरी अध्ययन भइरहेको हो ।
‘यसको प्रभावकारिताबारे थप वैज्ञानिक प्रमाण जुटाउन आवश्यक छैन । तर कार्यक्रमलाई देशव्यापी बनाउँदा आउन सक्ने चुनौतीहरूको पहिचान गर्न अध्ययन गरिएको हो,’ उनले भने ।
नेपालमा प्रजनन उमेरका महिलामा कुपोषणको दर उच्च छ । गर्भवती महिलामा कुपोषण हुने सम्भावना अत्याधिक हुन्छ । यसले भु्रण विकासमा समस्या, गर्भवस्थामा शिशुको मृत्यु, जन्मजात विकलांगताको सम्भावना बढ्ने हुन्छ ।
हालसम्म वितरण गरिँदै आएको आइरन–फोलिक एसिडमा दुई प्रकारका मात्र पोषक तत्व छन् । तर गर्भावस्थामा थप सूक्ष्म पोषक तत्वहरूको आवश्यकता पर्ने अध्ययनहरूले देखाएको छ ।
एमएमएस चक्कीमा पाँच प्रकारका खनिज तत्व र दश प्रकारका भिटामिन समावेश छन् । जसले गर्भवती महिलामा देखिने सूक्ष्म पोषक तत्वको कमीलाई सम्बोधन गर्ने विश्वास छ ।
भिटामिन र खनिजले शरीरको वृद्धिविकास र रक्तकोषिका निर्माणमा महत्वपूर्ण भूमिका खेल्छन् ।
गर्भ रहेको १२ हप्ता पुगेपछि दिनको एक चक्की खानुपर्ने हुन्छ । गर्भवती अवधिभर १८५ वटा र सुत्केरी भइसकेपछि ४५ वटा चक्की सेवन गर्नुपर्ने हुन्छ ।
विशेषज्ञहरूका अनुसार, गर्भवस्थामा महिलाको शरीरलाई सामान्यभन्दा बढी पोषक तत्वहरूको आवश्यकता पर्दछ । दैनिक खानपानबाट मात्र यी सबै पोषक तत्वहरू प्राप्त गर्न कठिन हुने भएकाले एमएमएस चक्कीको सेवन महत्वपूर्ण मानिएको छ । यसले शरीरलाई आवश्यक पर्ने १५ प्रकारका सूक्ष्म पोषक तत्व प्रदान गर्दछ ।
भिटामिन समूह ए, डी३, सी, बी१, बी२, बी३, बी६, ई, बी१२ रहेका छन् भने खनिज पदार्थहरूमा आइरन, जिंक, कपर, आयोडिन, सेलेनियम पाइने डा. लालले जानकारी दिए । आइरन चक्कीको सट्टामा गर्भवतीले एमएमएस चक्की प्रयोग गर्दा कम तौलको शिशु जन्मने जोखिम १२ देखि १४ प्रतिशतले घट्ने, समयअगावै प्रसव हुने समस्या ६ देखि ८प्रतिशत ले कम हुने, गर्भावस्थामा मृत जन्मिने दर ८ प्रतिशतसम्म घट्ने अध्ययनले देखाएको डा. लाल बताउँछन् ।
एमएमएस कार्यक्रम कुपोषण र मातृ मृत्युदर घटाउन प्रभावकारी हुने उनको दाबी छ । तर कार्यक्रमलाई दिगो बनाउन बजेटको चुनौती रहेको लालले बताए । ‘सुरुमा दातृ निकायको सहयोगमा कार्यक्रम सञ्चालन गरिने छ । पछि क्रमशः सरकारी बजेट विनियोजन गर्दै लैजाने योजना छ,’ उनले भने ।
उनका अनुसार यो कार्यक्रमलाई देशव्यापी रूपमा लागु गर्न करिब एक वर्ष समय लाग्ने अनुमान छ । कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि विस्तृत कार्ययोजना तयार पारिरहेको र छिट्टै सार्वजनिक गर्ने महाशाखाले जनाएको छ ।