नेपालगन्जः नेपालगन्ज सुर्खेतरोडस्थित शाही डेन्टल क्लिनिकले बर्दियाको मधुवन नगरपालिका– ४ मछाड चोकमा रहेको बालकुमारी इंग्लिस मिडियम स्कुलमा निःशुल्क दन्त शिविर गरेको छ । उक्त शिविरमा २१० जना बालबालिकाहरुले सेवा लिएका थिए । दन्त चिकित्सक डा. सिर्जु पोख्रेलका अनुसार अधिकांश बालबालिकामा दाँतमा किरा लागेको, दाँतहरु हल्लिएको, फोहोर जमेको लगायतका समस्या देखिएको थियो ।
हल्लिएका दाँतहरु निकाल्ने काम पनि गरिएको उनले जानकारी दिइन् । दाँत सम्वन्धी समस्या, उपचार र सचेतनाकाबारेमा बालबालिकाहरुलाई जानकारी प्रवाह गर्ने उद्देश्यले स्कुल केन्द्रीत शिविर गरिएको शाही डेन्टल क्लिनिकका एमडी करिष्मा शाहीले बताइन् । उनका अनुसार अझैपनि दाँत स्वास्थ्यका बारेमा मानिसहरु सचेत हुन सकिरहेका छैनन् । समस्या परेपछि मात्र चिकित्सककहाँ पुग्ने प्रवृत्तिका कारण बिरामीहरुले पीडा खेप्नु पर्ने र आर्थिक भार समेत थपिने गरेको चिकित्सकहरु बताउँछन् । मुख स्वास्थ्य अन्तर्गत पर्ने दाँतको नियमित परीक्षण गर्न चिकित्सकहरु सुझाउँछन् ।
नियमित विहान र साझ ब्रस गर्ने, खाने कुरा खाएपछि पानीले कुल्ला गर्ने लगायतका अभ्यास गर्नेहरु भने दाँतको समस्याबाट धेरै हदसम्म जोगिन सकिने डा.पोख्रेल बताउँछिन् । शिविरमा डा.पोख्रेलसहित असिस्टेन्ट महिमा चौधरीले चेकजाँच तथा परामर्श सेवा दिएका थिए ।