टिवी नेपाल अस्पतालद्धारा पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना, ६१ जनाले गरे रक्तदान

    • स्वास्थ्य पेज

  • ९ कार्तिक २०८१, शुक्रबार

नेपालगन्जः टिवी नेपाल अस्पताल नेपालगन्ज क्षयरोग रेफरल सेन्टरले शुक्रबार रक्तदान कार्यक्रम गरेको छ । क्षयरोगका बिरामीलाई लक्षित गरी आयोजना गरिएको रक्तदानमा ६१ जनाले रक्तदान गरेको अस्पताल प्रमुख कमल ढकालले जानकारी दिए । क्षयरोगका बिरामीहरुमा रगतको मात्रा कम हुन्छ । यस्तोमा रगत आवश्यक पर्छ । तर अहिले देशैभरी रगतको अभाव छ । ‘क्षयरोगका बिरामीहरुलाई आवश्यक पर्ने रगतको अभाव नहोस् भन्ने उद्देश्यका साथ पहिलो पटक अस्पतालले रक्तदान कार्यक्रम आयोजना गरेको हो ढकालले भने–‘६१ जनाले रक्तदान गर्नुभयो ।’

खासगरी जिल्ला बाहिरबाट आउने बिरामीले रगतको समस्या बढी झेल्नु परेको छ । दैलेख, सुर्खेत, दाङ लगायतका जिल्लाबाट आउने बिरामीले रगत अभावको समस्या बढी झेल्नु परेको गुनासो आउने गरेको ढकालले बताए । अस्पताल स्थापनापछि पहिलो पटक आयोजना गरिएको यो रक्तदान कार्यक्रमलाई अव ६÷६ महिनामा गर्ने गरी योजना बनाइएको ढकालले सुनाए । कुनै पनि मानिस रगत अभावकै कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम गरिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण रेग्मीले बताए ।

टिवी अस्पतालमा एक वर्षमा करिव ३० हजार बिरामीहरु सम्पर्कमा आउने गरेका छन् । एक वर्षमा १७ हजार टिवीका बिरामीले यहाँबाट उपचार पाउने गरेको प्रमुख ढकालले बताए । उनका अनुसार टिवी अस्पतालले वर्षमा एक हजार एक सय क्षयरोगका नयाँ केसहरु पत्ता लगाउने गरेको छ । जटिल खालको टिवीका ५३ जना बिरामी उपचारत छन् । २५ वेडको यो अस्पतालमा २० वेड होस्टेल रहेको ढकालले बताए । दुई जना मेडिकल अधिकृत सहित ३८ जना कर्मचारी कार्यरत छन् ।

  • ९ कार्तिक २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech