नेपालगन्जः खोपद्वारा बचाउन सकिने रोगहरुको खोजपड्तालका लागि सबैको साझा दायित्वमा जोड दिइएको छ । परिवार कल्याण महाशाखा र विश्व स्वास्थ्य संगठनको सहकार्यमा नेपालगञ्जमा आज आयोजित छलफल कार्यक्रममा खोपद्वारा बचाउन सकिने रोगहरुको नियन्त्रण, निवारण र उन्मूलनमा सबैको साझा दायित्व हुनुपर्नेमा जोड दिइएको हो ।
पोलियो दिवसको अवसरमा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरीको अध्यक्षतामा आयोजित छलफलमा सरकारी निकायबाट मात्र यो सम्भव नहुने भन्दै सबै पक्ष र निकायको हातेमालो आवश्यक रहेको औंल्याइएको छ ।
चिकित्सक, स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी लगायतको सहभागितामा भएको छलफलमा खोपद्वारा बचाउन सकिने रोगहरु पोलियो, दादुरा-रुबेला, नवजात शिशु धनुष्टंकार र जापानिज इन्सेफ्लाइटिसको खोडपड्तालका लागि सरकारी, निजी क्षेत्र, स्वास्थ्यकर्मी तथा जनस्वास्थ्यकर्मीको भूमिकाका विषयमा चर्चा गरिएको थियो ।
नेपालबाट सन् २०२६ मा दादुरा-रुबेला उन्मूलन गर्ने लक्ष्य लिइएको छ । यसअघि सन् २०२३ मा उन्मूलन गर्ने लक्ष्य लिइए पनि नेपालगञ्जमै त्यसको महामारी देखिएपछि समय पछाडि धकेलिएको हो । यो बर्ष भने लुम्बिनी प्रदेशमा एउटा पनि केश भेटिएको छैन । पोलियो सन् २०१० पछि देखिएको छैन भने नवजात शिशु धनुष्टंकार सन् २००५ मा निवारण गरिएको थियो । जापानिज इन्फ्लाइटिस भने देखिइरहेको छ । पाकिस्तान र अफगानिस्तानमा पोलियो देखिइरहेकाले जोखिम मानिएको छ ।
बाल रोग विशेषज्ञ डा. पियुष कुमार कनोडिया तथा विश्व स्वास्थ्य संगठनका डा. सोनिया भगत र डा. प्रस्तुति शर्माले खोपद्वारा बचाउन सकिने रोगहरुको अवस्था, अपनाउनुपर्ने सजकता, रोगहरु खोजपड्तालमा सम्बन्धित सरोकारवालाको भूमिका लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए । छलफल कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गिरीले सबैको साझा प्रयासबाट खोपद्वारा बचाउन सकिने रोगहरुको नियन्त्रण, निवारण र उन्मूलन सम्भव रहेको बताए । बरिष्ठ बाल रोग विशेषज्ञ डा. विनोद खेतानले यसमा सबैको साझा दायित्व रहेको बताए ।
नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले सहजीकरण गरेको उक्त कार्यक्रममा भेरी अस्पतालका निमित्त मेसु डा.दिनेश चौधरी, अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन राजन पाण्डे, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगत बहादुर शाही, नेपालगन्ज मेडिकल कलेज कोहलपुरका प्रमुख डा.रेशम राना, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, बरिष्ठ बालरोग विशेषज्ञ, स्वास्थ्यकर्मी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा भेरी अस्पतालका निमित्त मेसु डा. दिनेश कुमार चौधरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, चिकित्सक, स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी लगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले गरेका थिए ।