रक्तचाप, ब्लड सुगर र कोलेस्टेरोल स्तर कति सामान्य हो ?

    • डा. विनय भट्टराई / मधुमेह, हार्मोन तथा थाइराइड रोग विशेषज्ञ

  • ८ कार्तिक २०८१, बिहीबार

सामान्यतया मानिसले स्वस्थ रहन रक्तचाप, सुगर लेभल र कोलेस्टेरोल तीन कुरामा बढी ध्यान दिनुपर्छ । यी तीनमध्ये एउटा पनि अनियन्त्रित भयो भने विभिन्न स्वास्थ्य समस्या निम्तिन थाल्छ । यी तीनवटै कुराको सम्बन्ध मुटु र मस्तिष्कसँग हुन्छ ।

सुगर र उच्च रक्तचापको डिजिटल मेसिनबाट घरमै बसेर जाँच गर्न सकिन्छ । कोलेस्टेरोलको लागि भने रगत परीक्षण गर्नुपर्ने हुन्छ । स्वास्थ्यमा कुनै खतरा नहोस् भनेर समय-समयमा यी तीन कुरामा ध्यान दिनुपर्छ । यससँग सम्बन्धित केही महत्त्वपूर्ण कुरा थाहा हुनुपर्छ ।

रक्तचाप, सुगर लेभल र कोलेस्टेरोल यी तीन कुरालाई सामान्य राखियो भने धेरै गम्भीर रोगबाट बच्न सकिन्छ । यदि रक्तचाप बढ्यो भने यसले मुटु र मस्तिष्कमा गम्भीर क्षति पुर्‍याउँछ । यदि सुगरको मात्रा बढ्यो भने शरीरका सबै अङ्गहरू बिग्रन थाल्छन् र कोलेस्टेरोल बढ्यो भने हृदयघात समेत हुनसक्छ । त्यसैले यी तीन कुरा नियन्त्रणमा हुनुपर्छ ।

कति हुनुपर्छ रक्तचाप ?

वयस्कको सामान्य रक्तचाप १२०/८० एमएम एचजी हुनुपर्छ । जब रक्तचाप १३०/१८० माथि जान्छ, यसलाई रक्तचाप बढेको वा उच्च रक्तचाप भएको मानिन्छ । उच्च रक्तचापको अवस्थामा रक्तनलीहरूमा दबाब बढ्छ । उच्च रक्तचापको सबैभन्दा ठूलो कारण मोटोपन, तनाव, अस्वस्थ जीवनशैली वा आनुवंशिक कारकहरू हुन् । उच्च रक्तचापको लामो समयसम्म उपचार गरिएन भने यसले हृदयघात, स्ट्रोक र मिर्गौला सम्बन्धी समस्याको जोखिम बढाउन सक्छ । त्यसैले रक्तचापलाई नियन्त्रणमा राख्नुपर्छ । डिजिटल मेसिनको सहायताले घरमै बसेर सजिलै रक्तचाप जाँच गर्न सकिन्छ ।

ब्लड सुगर लेबलको सामान्य स्तर कति हो ?

‘फास्टिङ’ खाली पेट जाँच गर्दा रगतमा चिनीको मात्रा ७० देखि ९९ मिलिग्राम/डीएलसम्म हुन्छ । यदि फास्टिङ ब्लड सुगर १०० देखि १२० मिलिग्राम/डीएलको बीचमा छ भने यसलाई प्रि-डाइबिटिज मानिन्छ । फास्टिङको रगतमा सुगरको मात्रा १२६ मिलिग्राम/डीएल वा सोभन्दा बढी हुँदा मधुमेहको अवस्था हुन्छ ।

खाना खाएपछि रगतमा चिनीको सामान्य स्तर १४० मिलिग्राम/डीएल भन्दा कम हुनुपर्छ । यदि यो १४० देखि १९९ मिलिग्राम/डीएलको बीचमा छ भने यो प्रि-डाइबिटिजको लक्षण हुनसक्छ । तर खाना पछि २०० मिलिग्राम/डीएल वा सो भन्दा बढी छ भने यसलाई मधुमेह मानिन्छ ।

शरीरले इन्सुलिनको उचित प्रयोग गर्न नसकेमा वा शरीरमा पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसक्दा यो अवस्था आउन सक्छ । नियमित स्वास्थ्य परीक्षण र राम्रो जीवनशैली अपनाएमा मधुमेहको समस्याबाट बच्न सकिन्छ । डिजिटल ग्लुकोमिटर मेसिनबाट घरमै बसेर सुगर लेबल पनि जाँच गर्न सकिन्छ ।

कोलेस्टेरोल स्तर कति सामान्य हो ?

राम्रो कोलेस्टेरोल (एचडीएल), खराब कोलेस्टेरोल (एलडीएल) र कुल कोलेस्टेरोलको आधारमा शरीरमा कोलेस्टेरोलको मात्रा नापिन्छ । शरीरमा राम्रो कोलेस्टेरोलको स्तर ४० मिलिग्राम/डीएल भन्दा बढी हुनुपर्छ । खराब कोलेस्टेरोलको स्तर भने १०० मिलिग्राम/डीएल भन्दा कम हुनुपर्छ ।

यदि शरीरमा कुल कोलेस्टेरोलको स्तर २०० मिलिग्राम/डीएल भन्दा कम छ भने यो सामान्य मानिन्छ । यदि यो २०० देखि २३९ मिलिग्राम/डीएल यसलाई सीमारेखा मानिन्छ र यदि यो २४० वा बढी छ भने यसलाई उच्च कोलेस्टेरोल मानिन्छ । शरीरमा ट्राइग्लिसराइडको मात्रा धेरै हुनु हुँदैन । कोलेस्टेरोलको जाँच भने घरमै गर्न सम्भव हुँदैन । त्यसैले यसको स्तर थाहा पाउन समय-समयमा अस्पताल गएर रगत परीक्षण गर्नुपर्छ ।

  • ८ कार्तिक २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech