रेडियोलोजी फिल्म प्रयोग हटाउने मन्त्रालयको निर्णय, नागरिकलाई वार्षिक १ अर्ब बराबरको खर्चभार कम हुने

    • स्वास्थ्य पेज

  • ७ कार्तिक २०८१, बुधबार

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई वार्षिक १ अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेको छ । फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआइ तथा सीटीस्क्यानको शुल्क समेत नागरिकका लागि घटाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले  मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।

अब यस आधारमा मन्त्रालय मातहतका संघीय २२ अस्पतालले क्रमैसँग नागरिकलाई डिजिटल रिपोर्ट उपलब्ध गराउनेछन् । स्वास्थ्यका लागिसमेत हानीकारक मानिने एक्सरे फिल्म प्रयोगमा भैरहेको ठूलो धनराशी खर्च कटौती गर्दै नागरिकलाई राहत दिने गरी यस्तो निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

यस्तो निर्णय हाल संघीय अस्पतालमा लागू गरिने र क्रमैसँग निजी तथा अन्य तहगत अस्पतालमा समेत विस्तार गर्ने मन्त्रालयको योजना रहेको मन्त्रालयले जनाएको छ । अहिले राजधानीको संघीय वीर अस्पतालले वर्षमा करिब ४ करोड रुपैयाँ रेडियोलोजी फिल्मका लागि खर्च गर्ने गरेको तथ्यांक छ ।

यसैगरी कान्ति बाल अस्पतालमा करिब ३ करोड रुपैयाँ यसका लागि खर्च हुने गरेको छ । यो निर्णयले संघीय अस्पतालको वार्षिक करिब ५० करोड रुपैयाँ बजेट बचत हुने अनुमान गरिएको मन्त्रालयका सहसचिव एवम प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

उनले भने- ‘निजी र देशैभर डिजिटल रिपोर्ट दिन सकिए वर्षमा करिब १ अर्ब रुपैयाँ रकम विदेशिनबाट रोकिने अनुमान गरेका छौं । यसले नागरिकलाई रेडियोलोजी सेवामा लागतसमेत कर्म पर्ने र स्वास्थ्यमा समेत नकारात्मक प्रभाव कम पर्ने अपेक्षा गरेका छौं ।’

  • ७ कार्तिक २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech