सरकारका १०० दिनः स्वास्थ्यमा के भयो प्रगति ?

    • स्वास्थ्य पेज

  • ७ कार्तिक २०८१, बुधबार

नेपालगन्जः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा बनेको सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन्। १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रमा भएका विषय पनि उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीले स्वास्थ्यका मुख्य तीन वटा विषयहरु समावेश छन्। सात वटै प्रदेशमा सघन जलनका बिरामीको निशुल्क उपचारको व्यवस्था, देशभरका १९ वटा संघीय अस्पतालहरूमा दुई सिफ्टमा बहिरंग सेवा सञ्चालन र १८ संघीय अस्पतालहरूमा सहज उपचार सेवा प्राप्तिका लागि टोकन प्रणाली लागू र क्यान्सर उपचार सेवा सातै प्रदेशमा विस्तार गरिएको विषय उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले एक सय दिनको प्रगति विवरण माग गरेपछि स्वास्थ्यले विभिन्न दश वटा बुँदाका विवरण पठाएको थियो। प्रधानमन्त्री ओलीले आफ्नो मन्तव्यका क्रममा तीन वटा विषय मात्र उल्लेख गरेका छन्। जलनको निशुल्क उपचारका विषयलाई प्रधानमन्त्री ओलीले बढी नै महत्व दिएर प्रगति विवरण सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेको विवरणमा जलन उपचार निशुल्क व्यवस्था गरिएको विषय यसरी उल्लेख गरेका छन् ।

‘आर्थिक अभावमा जलनको उपचार गर्न नसक्ने नागरिकहरुको लागि सातवटै प्रदेशमा निःशुल्क उपचारको व्यवस्था गरेका छौं । कोशी प्रदेशको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश प्रदेशको नारायणी अस्पताल, बागमती प्रदेशको कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमार्फत उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई कस्मेटिक बाहेकको जलन उपचार निःशुल्क गर्ने व्यवस्था गरिएको छ।’

यसैगरी, यसअघि तीनवटा प्रदेशमा मात्रै उपलब्ध रहेको क्यान्सर उपचार सेवा सातै प्रदेशमा विस्तार गरेको विषय र देशभरका १९ वटा संघीय अस्पतालहरूमा दुई सिफ्टमा बहिरंग सेवा सञ्चालन गरि १८ संघीय अस्पतालहरूमा सहज उपचार सेवा प्राप्तिका लागि टोकन प्रणाली लागु गरिएको विषय पनि विवरणमा उल्लेख छ।

  • ७ कार्तिक २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech