बिरामीको सहारा बन्दै सैनामैना प्राकृतिक चिकित्सालय

    • स्वास्थ्य पेज

  • ७ कार्तिक २०८१, बुधबार

बुटवलः जति औषधी गरे पनि निको नहुने दीर्घरोगीका लागि रुपन्देहीको सैनामैना नगरपालिका–१, चारपालामा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सा केन्द्र सहारा बन्दै गएको छ । विसं २०६८ मा स्थापना भएको प्राकृतिक चिकित्सा केन्द्रमा पञ्चतत्व हावा, पानी, माटो, जल र आकाशको माध्यमबाट उपचार गरिन्छ । त्यसैगरी जल चिकित्सा, अकुपञ्चर, अकुप्रेसर, आन्द्रा सफा गर्ने प्रविधि, वैज्ञानिक योग प्राणायाम, ध्यान एवं यौगिक क्रिया, जोर्नी तथा नसा बाथसम्बन्धी समस्या, ग्यास्टिक, कब्जियत, पाइल्स, अल्सर, थाइराइडलगायतका समस्याको उपचार हुँदै आएको छ । खासगरी बढी मात्रामा वृद्धवृद्धा एलोपेथी औषधी सेवन गर्दा समेत निको नभएको भन्दै प्राकृतिक चिकित्सा केन्द्रमा आउने गरेका छन् ।

पदमपाणि योग तथा प्राकृतिक चिकित्सा केन्द्रका अध्यक्ष चित्रबहादुर कार्कीले खासगरी दीर्घरोगीहरू, पुराना जीर्ण रोगका बिरामीका लागि प्राकृतिक चिकित्सा केन्द्र आशाको केन्द्र बनेको बताए । अहिले चिकित्सा केन्द्रले बिहान बेलुका बिरामीको उपचार गर्नुका साथै योगका माध्यमबाट समेत बिरामीलाई उपचारको व्यवस्था मिलाएको छ । दैनिक करिब ५०–६० जना बिरामी उपचारका लागि आउने गरेका छन । करिब नौ बिघामा फैलिएको प्राकृतिक चिकित्सा केन्द्रको दुई बिघा क्षेत्रमा केन्द्रको भौतिक संरचना निर्माण गरिएको छ भने बाँकी जग्गामा ड्र्यागन खेतीसहित चिकित्सा केन्द्रले बगैँचा बनाएर वरिपरिको वातावरणलाई बिरामीमैत्री गराएको जनाएको छ ।

प्राकृतिक चिकित्सा केन्द्रकी सदस्य खगीमाया भुजेलले भर्खरै मात्र सैनामैना नगरपालिकाका पूर्वनगरप्रमुख चित्रबहादुर कार्कीको नेतृत्वमा नयाँ समिति गठन भएको र उक्त समितिले प्राकृतिक चिकित्सा केन्द्रको विकास गरेर छाड्ने प्रतिबद्धता जनाए । प्राकृतिक चिकित्सा केन्द्र परिसरमा रहेको सिउँडी (ड्र्यागन फ्रुट) को संरक्षणका साथै गोडमेल गर्ने काम सुरु भइसकेको छ भने यसमा अध्यक्षसहितको सञ्चालक समितिका सदस्यहरू आफैँले काम गरिरहेका छन् । स्थानीय पूर्वभारतीय सैनिक श्यामबहादुर थापाले यो प्राकृतिक चिकित्सा केन्द्रलाई पूर्वी नवपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सा केन्द्र जस्तै बनाउने बताए ।

उनले महिलाको महिनावारी समस्या, हड्डी खिइएको, ग्यास्टिक, बाथरोगलगायत दम, निमोनिया जस्ता रोगका बिरामी उपचारका लागि आउने गरेको र अधिकांश बिरामी सञ्चो भएर जाने गरेको बताए । अबको केही समयमै भारतले चार करोड रुपियाँको लगानीमा योग हल बनाइदिने भएको छ भने एउटा एम्बुलेन्ससमेत प्रदान गर्ने भारतीय पूर्वसैनिक थापाले बताए । प्राकृतिक चिकित्सा केन्द्रका अध्यक्ष चित्रबहादुर कार्कीले सबैको सहयोग र साथ पाएमा प्राकृतिक चिकित्सा केन्द्रलाई यो क्षेत्रकै राम्रो चिकित्सा केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

  • ७ कार्तिक २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech