कर्णाली प्रदेशका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा

    • स्वास्थ्य पेज

  • ६ कार्तिक २०८१, मंगलवार

सुर्खेतः कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा रहेका छन् । प्रदेशमा २५ नगरपालिका र ५४ गाउँपालिका छन् । जम्मा ७९ स्थानीय तहमा ७१८ वडा छन् । आठ स्थानीय तह रहेको डोल्पामा १५ शय्याको जिल्ला अस्पताल र २३ वटा स्वास्थ्य चौकी छन् ।

यहाँका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण हुन सकेको छैन । मुगुमा एक जिल्ला अस्पताल छ, भने २४ वटा स्वास्थ्य चौकी छन् । यहाँका चार स्थानीय तहमा कुनैमा आधारभूत अस्पताल निर्माण हुन सकेका छैनन् । हुम्लामा २६ वटा स्वास्थ्य चौकी छन् भने एउटा जिल्ला अस्पताल छ । यहाँ सात स्थानीय तह छन् ।

जुम्लामा स्वास्थ्य चौकीको सङ्ख्या २९ छ । प्राथमिक स्वास्थ्य केन्द्र एउटा छ । यहाँ जिल्ला अस्पताल छैन । सङ्घीय सरकार मातहतको कर्णाली स्वास्थ्य प्रतिष्ठान सञ्चालनमा छ । जसले कर्णालीमा स्वास्थ्य उपचार सहज बनाएको छ । यहाँ आठ स्थानीय तह छन् । कालिकोटमा २७ स्वास्थ्य चौकी र जिल्ला अस्पताल एक रहेको छ । नौ स्थानीय तहमध्ये पाँच वटामा प्राथमिक अस्पताल छन् ।

दैलेखमा प्राथमिक अस्पतालको सङ्ख्या चार रहेको छ भने स्वास्थ्य चौकीको सङ्ख्या ५५ छ । यहाँ ११ वटा स्थानीय तहमा चार वटा प्राथमिक अस्पताल छन् । जाजरकोटका सात स्थानीय तहमा तीन प्राथमिक अस्पताल र ३० वटा स्वास्थ्य चौकी रहेको स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नवराज कँडेलले जानकारी दिए ।

रुकुम पश्चिममा सामान्य अस्पतालको सङ्ख्या एक रहेकोमा आधारभूत अस्पतालको सङ्ख्या चार रहेको छ । एक जिल्ला अस्पताल छ । निजी अस्पतालको सङ्ख्या चार छ । यहाँ छ स्थानीय तह छन् । १० स्थानीय तह रहेको सल्यानमा प्राथमिक अस्पतालको सङ्ख्या दुई र स्वास्थ्य चौकीको सङ्ख्या ४४ छ । सुर्खेतमा एक कोभिड अस्पताल छ ।

एक सेकेण्डरी अस्पताल, एक जनरल, एक प्राथमिक, ४७ स्वास्थ्य चौकी र चार निजी अस्पताल छन् । तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र छन् । सुर्खेतमा नौ स्थानीय तह छन् । २१ प्राथमिक अस्पताल रहेको कर्णालीमा ३३० वटा स्वास्थ्य चौकी छन् । सात जिल्ला अस्पताल र ११ प्राथमिक स्वास्थ्य केन्द्र छन् । ४८ स्थानीय तहमा अझै आधारभूत अस्पताल निर्माण हुन सकेका छैनन् ।

भौगोलिक विकटताका कारण कर्णालीमा अझै सबै पालिकामा आधारभूत तह अस्पताल निर्माण हुन नसकेको जनाइएको छ । जसका कारण सर्वसाधारणले स्वास्थ्य उपचारको सहज सेवा प्राप्त गर्न सकेका छैनन् । कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन प्रदेश सरकारले विभिन्न योजना अघि सारेको छ । सरकारले नसर्ने रोग, कलिलै उमेरमा आमा हुने समस्या र घरमा सुत्केरी हुने दर घटाउने योजना अगाडि सारेको छ ।

पछिल्लो समय रक्तचाप, मधुमेह, क्यान्सरजस्ता नसर्ने रोगका साथै मानसिक रोगको समस्या बढ्दो छ । गाउँबस्तीमा मानसिक रोग र नसर्ने रोग बढ्दै गएकाले आगामी दिनमा यी रोग निदानका लागि बजेट र कार्यक्रमसहित योजना सञ्चालन गरिने स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

यस्तै २० वर्ष नपुग्दै आमा हुने प्रवृत्तिले स्वास्थ्य समस्या जटिल बन्दै जाँदा बालविवाह न्यूनीकरण लगायतका कार्यक्रमलाई पनि समन्वयका साथ प्रदेशभरका सबै स्थानीय तहसँग सहकार्य गर्ने योजना रहेको निर्देशनालयले जनाएको छ । कर्णालीमा स्वास्थ्य संस्थामा सुत्केरी हुने दर घटेको छ ।

गाउँगाउँमा बर्थिङ सेन्टर स्थापना गरिए पनि मापदण्ड अनुसारका नभएकाले घरमै सुत्केरी हुने दर केही बढेकाले बर्थिङ सेन्टरलाई मापदण्ड अनुसार बनाउने र दक्ष जनशक्ति पूर्ति गर्ने योजना रहेको निर्देशनालयका निर्देशक डा रविन खड्काले बताए । विगतका तुलनामा कर्णालीमा आठ प्रतिशतले घरमा सुत्केरी हुने दर बढेको हो ।

कर्णालीका बालबालिकाका अभिभावक रोजगारका लागि भारततिर जाने हुँदा बालालिकाले पूर्ण खोप लगाउन छुट्ने समस्या बढ्दै गएकाले पूर्ण खोप लगाउन पहल थालिने जनाइएको छ । स्वास्थ्य निर्देशक डा खड्काले प्रदेश पूर्ण खोपयुक्त भइसक्दा पनि बालबालिका खोप लगाउनबाट छुटेकाले उनीहरूलाई खोप लगाउन स्थानीय तहलाई आवश्यक समन्वय गरी काम गर्ने निर्णय गरिएको जानकारी दिए ।

  • ६ कार्तिक २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech