चिकित्सकले उपचारमा लापरबाही गरेको भन्दै मेडिसिटी अस्पतालविरुद्ध अदालतमा मुद्दा दायर

    • स्वास्थ्य पेज

  • ६ कार्तिक २०८१, मंगलवार

काठमाडौंः ललितपुरको मेडिसिटी अस्पतालमा चिकित्सकको गम्भीर लापरबाहीका कारण बिरामीको मृत्यु भएको दाबीसहित मेडिकल काउन्सिलमा उजुरी परेको छ । अदालतमा पनि मुद्दा समेत दायर भएको छ ।

मेडिसिटीमा उपचारका क्रममा ६२ वर्षीय ज्ञानप्रसाद रिमालको मृत्यु भएपछि उनका छोरा प्रताप रिमालले कात्तिक ४ गते काउन्सिलमा उजुरी दर्ता गराएका हुन् ।

उपचारको सम्पूर्ण प्रक्रिया र घटनाक्रमको तथ्यपरक छानबिन र दोषीलाई कानूनबमोजिम कारबाहीको माग गर्दै उजुरी दिइएको प्रतापले बताए ।

मृतक रिमाल गैरआवासीय नेपाली (अमेरिकन नागरिक) हुन् । उजुरीकर्ता पनि हाल अमेरिकी नागरिक नै हुन् ।

null

छोरा प्रतापको भनाइमा यसरी भएको थियो लापरवाही

मेरो बुबा ज्ञानप्रसाद रिमालले विगत डेढ महिनादेखि हेमोडाइलाइसिस गराइराख्नुभएको थियो । भारतमा इमर्जेन्सी डाइलाइसिस शुरू गरेर मेडिसिटीमा निरन्तरता दिएका थियौं । उहाँ क्रोनिक किड्नी डिजिज तथा कोरोनरी आर्टरी डिजिजको प्यासेन्ट हुनुहुन्थ्यो । उहाँ पहिलेदेखि नै टाइप टु डाइबिटिक प्यासेन्ट हुनुहुन्थ्यो । उहाँलाई हप्प्तामा ३ दिन डाइलाइसिस गराइराखेका थियौं ।

एक्कासि घरमा साँझदेखि नै रिंगटा लाग्ने, श्वासप्रश्वासमा अप्ठ्यारो हुने अवस्था आयो । उहाँलाई बेचैनी भएपछि भदौ ३१ गते बिहानै मेडिसिटीको इमर्जेन्सीमा भर्ना गराएका थियौं । त्यहाँ जाँच गर्दा युरिया लेभल एकदमै धेरै भएर २०७ मा पुगेकाले गाह्रो भएको भनियो ।

सोही दिन उहाँको डाइलाइसिस गर्ने पालो पनि थियो । डाइलाइसिस गर्दैगर्दा असहज भएपछि आईसीयूमा राखेर अवलोकन गर्नुपर्छ, इन्फेक्सन हो कि भन्ने कुरा आयो । त्यसपछि रगतको स्याम्पल कल्चरमा लगियो । तर, इन्फेक्सन हो कि होइन भन्ने कुरा त आधिकारिकरूपमा बुवाको मृत्युसम्म पनि हामीलाई जानकारी गराइएन ।

असोज १ गते ईसीजीमा परिवर्तन देखिएको र कार्डियाक इन्जाइम्सको पनि जाँच गर्नुपर्छ भनियो । धेरै एलिभेसन देखिएमा सोहीदिन बेलुकासम्ममा नै एन्जियोग्राम गर्ने भनिएको थियो । तर, के कस्तो रिपोर्ट आयो,त्यसको केही पनि जनकारी गराइएन । अन्ततः भोलि मात्र एन्जियोग्राम गर्ने भनेर सूचित गराइयो ।

असोज २ गते कार्डियोलोजी विभागका एचओडी डा. रञ्जितकुमार शर्मा र उहाँको टीमद्वारा एन्जियोग्राम सफलतापूर्वक सम्पन्न गरिएको भन्ने जानकारी गराइएको थियो । अब्जरभेसनका लागि पुनः दिउँसो १ बजेतिर आईसीयूमा लगियो । त्यहाँ हामी परिवारका सदस्यलाई बिरामीसँग भेट्न दिइएको थियो । बुवा त्यति बेला सामान्य अवस्थामै हनुहुन्थ्यो । उहाँसँग हाम्रो छोटो कुराकानी पनि भयो ।

बुबासँग कोही पनि बस्नु नपर्ने र आईसीयूमा रहेका बिरामीको रेखदेख अस्पतालले नै गर्ने भनियो । बिरामीको अवस्थाबारे जानकारी गराइने र केही गाह्रो परेमा तुरुन्तै खबर गर्ने भनेर त्यहाँ बस्न नदिएपछि ३ बजेतिर हामी घर फर्कियौं ।

अस्पतालबाट साँझसम्म केही अपडेट नआएपछि ६:२८ तिर आफैंले फोन गरेर कस्तो छ भनेर सोध्यौं । उताबाटसबै कुरा सामान्य छ, आत्तिन पर्दैनभनियो । तर, नर्सिङ नोट्समा भने फरक कुरा लेखिएको हामीले बुवाको मृत्युपश्चात मात्र थाहा पाएका थियौं । उक्त नोटमा साँझ ५ बजेतिर नै सीएजी साइट्स सुनिएको र निलो भएको उल्लेख छ । डा. किशोर खनालले पनि कम्प्रेसन ड्रेसिङ हटाउनुपर्ने भनेको नोटमा उल्लेख छ । तर, त्यो हटाइयो वा हटाइएन भन्ने कुरा नोटमा उल्लेख गरिएको छैन ।

 नर्स रोजिना केसीले धनमाया थापासँग करिब ७ बजे  ह्यान्डओभर लिएको र सोही नोट्समा एन्जियोप्लास्ट साइट नर्मल भनेर लेखिएको छ । १ बजे नै देखिएको कुरा ७ बजेको नोटमा किन खुलाइएको छैन?नर्सले बिरामीको अवस्था परीक्षण गरेर लेखेको हो वा कपीपेस्ट गरेर आफ्नो काम देखाएको हो भन्ने प्रश्न उठ्छ ।

डा. किशोर खनालले बिरामीलाई ५ बजेसम्म हेरेर ह्यान्डओभर गरी घर जानुभयो । बिरामीको दुखाइबारे म जानकार रहेकाले ७ बजेतिर आफैंले आईसीयूमा फोन गरेर बुझ्दा त्यस्तो केही समस्या नरहेको भनियो ।

रातको ९ बजे हातमा फोका देखिएर आईसीयूका डाक्टर रञ्जनलाई पनि जानकारी गराइएको र बल्ल ड्रेसिङ लुज गरिएको भनिएको छ । १० बजेको नोट्समा पो बल्ल सुन्निएको कुरा लेखिएको छ । जुनकुरा ५ बजेकै नोटमा लेखिएपनि ७ बजेको ह्यान्डओभर नोटमा कहीँकतै मेन्सन गरिएको थिएन ।

बुवाको अवस्थाबारे हामीलाई रातभरि केही जानकारी गराएनन् । असोज ३ गते बिहान ६ बजेतिर अस्पतालबाट फोन आयो । केही नबुझेपछि कलब्याक गरें । त्यहाँ इन्फर्मेसन दिने कोही पनि छैनन्, पछि जानकारी गराउँछौं भनेर फोन काटियो ।

त्यसपछि बिरामीको एन्जियोप्लास्ट साइटबाट रगत बगिरहेको छ, टेपको एलर्जीलेब्लिस्टर (पानी फोका) देखिएको छ र कार्डियाक टीमलाई पनि बोलाएको छ भनियो ।

हामी अस्पतालतर्फ जाँदैगर्दा फेरि आईसीयूबाट फोन आयो । उनीहरूले बिरामीलाई इमर्जेन्सी अप्रेसनमा लैजानुपर्‍यो भने । हामी अस्पताल पुग्दा बिरामीलाई स्ट्रेचरमा राखेर अप्रेसन थिएटरमा लैजाने तयारी गर्दै थिए । हामीलाई देख्नेबित्तिकै बुवाले रुँदै रातभर पीडा र दुखाइले अत्तालिएर परिवारलाई खबर गर्दिनू भन्दै बिन्ति गर्दा पनि नर्स र डाक्टरहरूले वास्ता नगरेको गुनासो गर्नुभयो ।

रातभर सुन्निएको र निलो भएर फोका उठेको हातको उपचार गर्नुको सट्टा ब्यान्डेजले छोपेर राखिएको रहेछ । त्यस्तो हेर्न नसकिने घाउ देखाउँदै बुवाले भिडियो खिच्न लगाउनुभयो । उहाँले आफूमाथि अन्याय भएको,आफ्नो जिन्दगीमाथि खेलबाड भएकोआईसीयूमा रातभर आफ्नो अर्तनाद कसैले नसुनेको गुनासो गर्नुभयो । उहाँले डा. राधेश्यामको पनि नाम लिनुभयो ।

हामीलाई त नर्सिङ नोट्सबाट पछि मात्र थाहा भयो कि बुवालाई ७ घण्टा (राति १० बजेदेखि बिहान ५ बजेसम्म) १३५ एमसीजी फेन्टानिल(कडा पेनकिलरदिइएको रहेछ । यति धेरै डोजको फेन्टानिल दिँदा पनि दुखाइ कम नभएर बिरामी छटपटाइरहँदा  समेत अर्को विकल्प सोचेर बिरामीको रिएसेसमेन्ट गर्नु त परको कुरा १० बजेपछि एकैचोटि १:३० मा बल्ल बिरामीको अवस्थाबारे नर्सिङ नोट्समा लेखिएको छ । २ बजेपछि पनि एसेसमेन्ट छैन । फेन्टानिलको डोज मात्र बढाइएकोछ । बिहान ६:३० बजेपछि त झन् २५ एमसीजी प्रतिघण्टा फेन्टानिल दिइएको रहेछ ।

राति १० बजे कार्डियोलोजिस्ट डा. मञ्जुले एमजीएसओफोर ड्रेसिङ गर्नू भनेर भनेकी रहिछन्,तर अस्पतालको फार्मेसीमा उपलब्ध नभएको भन्दै मुपिरोसिन ड्रेसिङ गरिएको रहेछ । बुवाले भिडियो खिच भनेर हात देखाउँदा हामी त छाँगाबाटखसेजस्तो भयौं । हातगोडा डगमगाउन थाल्यो । हाम्रो मन एकदमै अस्थिर भयो । रिंगटा लागेकोजस्तो भयो । बुवालाई अप्रेसनका लागि लगियो । हामी भने हतारिँदै त्यो भिडियो लिएर डा. रञ्जितलाई भेट्न गयौं । डा. रञ्जितले नै एन्जियोप्लास्ट गर्नुभएको र त्यसपछि नै कम्प्लिकेसन भएकाले कौतुहलता र सल्लाहका लागि भेट्न पुगेका थियौं ।

छोरा प्रताप रिमालछोरा प्रताप रिमाल

डा. रञ्जितसँगै आईसीयू इन्चार्ज डा. किशोर खनाल र क्याथ ल्याबका अर्का एक डाक्टर पनि हुनुहुन्थ्यो । उहाँहरूको अनुमति लिएरै हामीले मीटिङको अडियो रेकर्ड गरेका थियौं । डा. रञ्जितले आर्टरी कम्प्रमाइज्ड नभएको तथा यस्ता ब्लिस्टर (पानीकाफोका) टेपकै एलर्जीका कारणले हुने बताउनुभयो । यस्ता केसहरू आफूले पहिले पनि देखेकाले सामान्य नै रहेको बताउनुभयो । कन्जरभेटिभ एप्रोचबाट हात ठाडो गरेर नै यसको उपचार गरिने भनेर उहाँले बारम्बार दोहोर्‍याउनुभयो । आफूले १७ वर्ष गंगालाल र ७ वर्ष मेडिसिटी अस्पतालमा रहँदा दशौं हजारको एन्जियोप्लास्ट सम्पन्न गरेको उहाँले बताउनुभयो ।

हामीले पनि एलर्जी नै कन्फर्म भइसकेको हो भने किन तुरुन्तै एक्सन नलिएर अप्रेसन गर्नुपर्ने अवस्थामा पुर्‍याएको हो भन्ने प्रश्न गर्दा एलेग्रा दिइएको थियो भनेर जवाफ दिनुभयो । एलेग्रा पनि मुखबाट दिइएको रहेछ । अघिल्लो दिनको ५ बजे नै ब्लिस्टर देखिएको लेखेर झण्डै १२ घण्टापछि आईभी एक्सेस हुँदा पनि मुखबाट एलेग्रा दिनुले बिरामीको अवस्थाप्रति अस्पताल र चिकित्सकको कति गम्भीर लापरबाही छ भन्ने पुष्टि गर्छ ।

डा. रञ्जितले बिहान ५ बजे अस्पतालबाट कल आएको र बिरामीको हातको भिडियो पनि आएको स्वीकार गर्दै वेट एन्ड सी एप्रोच र हात ठाडो गरेर नै यसको उपचार हुने दोहोर्‍याउनुभयो । कुरा गर्दै जाँदा उहाँले एकपटक कम्पार्टमेन्ट भन्ने शब्दको उच्चारण गर्नुभयो । त्यसपछि कतै कम्पार्टमेन्ट सिन्ड्रोम त थिएन भन्ने हामीलाई शंका लाग्यो । त्यो हो भने त मेडिकल इमर्जेन्सी हो । यस्तो बेला त झन् मेडिकल इन्टरभेन्सन गरिनुपर्थ्यो । तरउहाँले टेपकै कारण एलर्जी भएको दाबी गर्दै यसभन्दा वर्स्ट एलर्जीको केस देखेको बताउनुभयो । गंगालाल अस्पतालमा त ३ पटकसम्म टेपपरिवर्तन गरेको पनि भन्नुभयो । कम्पार्टमेन्ट सिन्ड्रोम त हुँदै होइन भनेर ठोकुवा गर्नुभयो । तरहामीले पछि अस्पतालको नोट्स पढ्दा डा. किशोर खनालले साढे ९ बजेतिर नैइम्पेन्डिङ कम्पार्टमेन्ट सिन्ड्रोम सो फ्यासिओटोमी प्लानभनेर लेखेको थाहा पायौं ।

हामी त्यही मीटिङमा रहेकै बेला सर्जनले फोन गरेर बाहिर निस्किनुभएका डाक्टर रञ्जित फर्किएर फ्यासियोटोमी सफलतापूर्वक सम्पन्न भएको तथा हातको अवस्था पनि अहिले राम्रो रहेको बताउनुभयो । त्यसलगतै १२ बजेतिर हामी फ्यासियोटोमी गराउने सर्जन डा. सुनिलकुमार शर्मालाई भेट्न पुग्यौं ।

बिरामीको यो अवस्था हुँदासम्म निकै नै विलम्ब भएको तथापि आफूसमक्ष आइपुग्नेबित्तिकै तत्काल एक्सन लिएर बिरामीको ज्यान मात्र होइन,हात पनि जोगाउने कर्तव्यमा आफूले सफलता प्राप्त गरेको बताउनुभयो । पूर्णरूपमा निको हुन केही समय लाग्ने र घाउ खुला रहने हुँदा स्किन ग्राफ्ट (अन्यत्रबाट छाला र मासु ल्याएर राख्ने काम)गर्नुपर्ने बताउनुभयो । तीन ठाउँमा हातको सर्जरी गरिएको भनेर उहाँले भिडियो देखाएपछि मात्र हामीले कति डरलाग्दो र जटिल सर्जरी थियो भन्ने बुझ्यौं ।

कम्पार्टमेन्ट सिन्ड्रोमकै कारण उक्त हालत भएको भएपनि टेपको एलर्जी भनेर लापरबाही गरिएकै कारण उक्त अवस्था आएको हामीले थाहा पाएका थियौं । त्यो सबै कुरा हामीले किन पनि थाहा पायौं भने मेरो दिदी ज्योति रिमाल जो कुरुवा पनि हुनुहुन्थ्योउहाँ आफैं पेशाले चिकित्सक हो । दिदी अमेरिकामै डाक्टर हुनुहुन्छ । डाक्टरसँग कुरा गर्दा दिदी पनि सँगै हुनुहुन्थ्यो,जसले गर्दा चिकित्सकको लापरबाही भएको हामीले थाहा पाएका थियौं ।

त्यति हुँदाहुँदै पनि २४ घण्टाको अवधिमा २ पटक एनेस्थेसिया दिएर एन्जियोप्लास्टी र फ्यासियोटोमी गरेपछि रातभर कडा पेनकिलर औषधि दिइएको थियो ।

हेमोग्लोबिनको स्तर कम छ भने हुनसक्ने जटिलताबारे चिकित्सकले केही पनि ध्यान दिएको पाइएन । उक्त सर्जरी गरेपछि बुवालाई आईसीयूमा लागिएको २ घण्टापछि ३ बजेतिर बुवा कोमामा जानुभयो र भेन्टिलेटरमा राखियो । बुवा कोमामा जानु भएपछि डाक्टरले झिनो आशा देखाउँदै५ प्रतिशत चान्स छअन्तिमपटक हेमोडाइलाइसिस गरौं‘ भन्नुभयो ।

अन्ततः भोलिपल्ट असोज ४ गते दिउँसो १२:५० मा बुवालाई उनीहरूले मृत घोषित गरे । मृत्युको कारण रिफरफ्युजन इन्जुरी फलोइङ फ्यासियोटोमी राइट फोरआर्म भनेर जानकारी गराइयो ।

मृत्यु भइसकेपछि अस्पताल प्रशासनले प्रहरी निरीक्षक विनु शाहीको कमान्डमा ठूलो संख्यामा प्रहरी परिचालन गराएको थियो ।

उपचारका लागि हामीले डिपोजिट गरेको १ लाख ७५ हजार रुपैयाँ फिर्ता गर्नुका साथै उपचारमा लागेको ७ लाख ९४ हजार ८४९ रुपैयाँ पनि अस्पतालले लिएन । उपचारको रकम नलिनुले पनि चिकित्सक तथा अस्पताल प्रशासनको लापरबाही थियो भन्ने पुष्टि हुन्छ ।

यस विषयमा मेडिसिटी अस्पतालका आईसीयू इन्चार्ज डा. रविन्द्र खनालसँग प्रतिक्रिया माग्दा उनले यो विषय मेडिकल काउन्सिलमै पुगिसकेकाले केही भन्न नसकिने बताए ।

‘हाम्रो लापरबाही हो भनेर हामीले भन्न मिल्दैन । मेडिकल काउन्सिलमै पनि उजुरी परेको हामीले बुझेका छौं,’ उनले लोकान्तरसँग भने, ‘अब काउन्सिलले त्यसको छानबिन गर्ला । विस्तृतमा मेडिकल डाइरेक्टर डा. राज राणासँग नै तपाईंले प्रतिक्रिया लिनुपर्ला ।’

मेडिसिटीका मेडिकल डाइरेक्टर डा. राज राणासँग प्रतिक्रिया माग्दा उनले यस विषयमा विस्तृतमा कुरा गर्नुपर्ने र अहिले आफूसँग समय नरहेको बताए । ‘मलाई अहिले अप्रेसनमा जानुछ । त्यस विषयमा छोटो प्रतिक्रिया दिएर हुँदैन, म तपाईंसँग विस्तृतमै कुरा गर्छु,’ डा. राणाले लोकान्तरसँग भने, ‘यस विषयमा बिरामी पक्षसँग पनि हामीले कुराकानी गरिसकेका छौं ।’​

५ करोड रुपैयाँ क्षतिपूर्ति माग्दै अदालतमा मुद्दा

मृतक परिवारका सबै सदस्यले ५ करोड रुपैयाँ क्षतिपूर्तिको माग दाबी गर्दै ललितपुर जिल्ला अदालतमा कात्तिक ५ गते मुद्दा दर्ता गराएका छन् ।

मृतकका जेठा छोरा प्रताप रिमाल, श्रीमती तुलादेवी रिमाल, छोरी ज्योति रिमाल र अर्का छोरा प्रसन्न रिमालसहित निवेदकले मेडिसिटी अस्पताल तथा उपचारमा संलग्न चिकित्सकहरूलाई विपक्षी बनाएर मुद्दा दायर गरेका हुन् ।

अस्पतालसहित डा. रञ्जित शर्मा, डा. किशोर खनाल, डा. राधेश्याम यादव, रञ्जन लामिछाने र नर्स रोजिना केसीलाई विपक्षी बनाए मुद्दा दायर गरिएको छ ।

null

  • ६ कार्तिक २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech