गेटा अस्पतालमा पहिलो शल्यक्रिया

माइनर शल्यक्रियाबाट सेवा सुरु गरिएको बताउँदै अस्पतालका निर्देशक डा विप्लव सापकोटाले अव क्रमशः अन्य शल्यक्रियाहरु पनि गर्दै जाने बताए ।


    • स्वास्थ्य पेज

  • ५ कार्तिक २०८१, सोमबार

धनगढीः कैलालीस्थित गेटा अस्पतालमा पहिलो पटक शल्यक्रिया गरिएको छ । एक जना बिरामीको माइनर शल्यक्रिया गरिएसँगै गेटामा अव शल्यक्रिया सेवा सुरु भएको अस्पतालका निर्देशक डा विप्लव सापकोटाले जानकारी दिए।

अस्पतालको आकस्मिक कक्षमा रहेको शल्यकक्षमा बिरामीको लाइपोमाको शल्यक्रिया गरिएको अस्पतालका निर्देशक डा सापकोटाले जानकारी दिए। अस्पतालमा कार्यरत शल्यचिकित्सक डा शंकर अधिकारीको टोलीले ती बिरामीको माइनर शल्यक्रिया गरेको हो।

शल्यक्रिया गर्ने टोलीमा डा अधिकारीसहित एनेस्थेसियोलोजिष्ट डा आशिष तिवारी, ओटी नर्स रोशनी शाही, आरती भण्डारी र शर्मिला चौधरी र हेल्पर रोशनी चौधरी थिए।

माइनर शल्यक्रियाबाट सेवा सुरु गरिएको बताउँदै उनले अव क्रमशः अन्य शल्यक्रियाहरु पनि गर्दै जाने बताए । उनले अस्पतालले आकस्मिक सेवा तिहारपछि सञ्चालनमा ल्याउने र त्यसपछि पाँच वटा मेजर शल्यकक्ष र ३० शय्याको आइसीयू समेत सञ्चालनमा ल्याउने जानकारी दिए।

अस्पतालमा एक महिना अघि स्तन क्यान्सर पहिचान गर्ने मेमोग्राम सेवा सुरु भएको थियो। अस्पतालले सोमबार र बिहीबार उक्त सेवा दिने गरी कार्यतालिका बनाएको छ। रेडियोलोजिष्ट डा होमप्रसाद पन्तले मेमोग्राम सेवा दिइरहेका छन्।

गेटामा पछिल्लो समय सेवाहरु थप हुँदै गइरहेको छ। अस्पतालमा दुई महिना अघिदेखि इनडोर सेवा सुरु भएको थियो। अस्पतालमा इन्डोस्कोपी सेवा पनि सुरु भइसकेको छ। सेवा थप हुँदै गएपछि अस्पतालमा सेवा लिन आउने बिरामीको संख्या पनि थपिँदै गएको छ।

  • ५ कार्तिक २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech