भेरी अस्पताल सहित सातवटै प्रदेशमा जलनका बिरामीको निशुल्क उपचार

    • स्वास्थ्य पेज

  • ४ कार्तिक २०८१, आईतवार

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जसहित देशका सात वटा अस्पतालबाट जलनका बिरामीको निशुल्क उपचार हुने भएको छ ।  सरकारले सातवटै प्रदेशका सात वटा अस्पतालमा जलनका बिरामीको निशुल्क उपचार गर्ने निर्णय गरेसंगै लुम्बिनी प्रदेशमा भेरी अस्पतालबाट जलनका बिरामीको निशुल्क उपचार हुने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषदबाट पारित भएसँगै देशका सात वटा अस्पतालबाट उपचार खर्च व्यहोर्न नसक्ने नागरिकले सघन जलनको उपचार नि:शुल्क पाउने भएका हुन्। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्री पौडेलले प्रस्ताव गरेको जलन पीडितको उपचार निःशुल्क बनाउने प्रस्ताव पारित गरेको हो।

मन्त्रिपरिषदको निर्णय अनुसार अब कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश प्रदेशमा नारायणी अस्पताल, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल, कर्णाली प्रदेशमा सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पतालमा उपचार खर्च व्यहोर्न नसक्ने नागरिकले नि:शुल्क सघन जलन उपचार सेवा पाउने छन्।

सघन जलन उपचारका लागि चालु आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायहरुमा ८ करोड रुपैयाँ बिनियोजन भएको छ। जसमा कीर्तिपुर अस्पताललाई दुई करोड र अन्य अस्पताललाई एक/एक करोड रुपैयाँ उपलब्ध हुने छ। देशमा हरेक वर्ष ५५ हजार जनामा आगलागी वा कुनै माध्यमबाट जलनको समस्या देखिने गरेको स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ। तर सबैजना उपचारको दायरामा भने आउँदैनन्।

सबैभन्दा धेरै जलनपीडितको उपचार हुने कीर्तिपुर अस्पतालले आठ सय जनाको उपचार गरेको थियो। मन्त्री पौडेलले कार्यभार सम्हालेलगत्तै गत महिना वीर अस्पतालले समेत जलन वार्ड राखेर जलनपीडितको उपचार थालेको छ। मन्त्री नियुक्त भएलगत्तै सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा मन्त्री पौडेलले जलनसम्बन्धी उपचार निःशुल्क र सहज बनाउने योजना सार्वजनिक गरेका थिए।

मन्त्री पौडेलको प्राथमिकताअनुसार मन्त्रालयले जलन उपचार निःशुल्क बनाउन प्रक्रिया अघि बढाएको थियो। मन्त्रालयले यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा लगेकामा अर्थले हालै स्वीकृति दिएलगत्तै मन्त्रिपरिषद बैठकले समेत स्वीकृत गरेको प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए। मन्त्रिपरिषदको निर्णयमा उपचार गर्न नसक्ने बिरामीलाई कस्मेटिकबाहेकका जलनको उपचार व्यवस्था निःशुल्क गर्ने उल्लेख छ।

  • ४ कार्तिक २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech