कोहलपुरमा थपिँदै अस्पताल, छैन दक्ष जनशक्ति

कोहलपुर स्वास्थ्य क्षेत्रको हवको सम्भावना भएपनि बिरामी रोक्न भने सकेको छैन । कोहलपुरमा अस्पतालहरु खुल्दै जाँदा लगानी पनि बढेको छ । तर अस्पतालमा बसेर पूर्णकालिन सेवा गर्ने कन्सल्टेन्ट चिकित्सकहरुको अभाव भने खुलेका र खुल्दै गरेका हस्पिटलहरुको लागि चुनौतिपूर्ण बन्दै आएको छ । मुश्किलले एक–दुईजना विशेषज्ञ चिकित्सकहरु हस्पिटलहरुले राखेपनि अधिकांशले ‘अन कल’चिकित्सक बोलाउने गरेका छन् ।


    • प्रियास्मृति ढकाल

  • ३ कार्तिक २०८१, शनिबार

कोहलपुर: उदाउँदो सहरका रुपमा रहेको कोहलपुरमा पछिल्लो समय मेडिकल क्षेत्रमा लगानी थपिदै गएको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो नेपालगन्ज मेडिकल कलेज कोहलपुर बाहेक अन्य अस्पतालहरु पनि खुल्नेक्रम बढेको छ । एक हिसावले कोहलपुर मेडिकल सिटीको रुपमा अगाडि बढेको देखिन्छ । तर जनशक्तिको भने अभाव देखिन्छ । विशेषज्ञ चिकित्सक सेवा सहितका अस्पताल खुल्दै जाँदा बिरामीहरुलाई सहज भएको छ । कोहलपुरमा मात्रै अहिले आधादर्जन बढीले १५ शैयाको स्वीकृत लिएर अस्पताल सञ्चालन गरिरहेका छन् । केही अझै प्रक्रियामा छन् ।

‘पछिल्लो समय कोहलपुरमा अस्पतालहरु खुल्नेक्रम बढेको छ कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरी भन्छन्–‘बिरामीहरुका लागि यो सबैभन्दा राम्रो कुरा हो ।’ अस्पताल धेरै खुल्दैमा बिरामी बाँडिने र लगानीमा समस्या पर्ने कुरा होइन । अस्पतालजति धेरै खुल्दै जान्छन् बिरामीहरुको विकल्पका ढोकाहरु पनि त्यति धेरै खुल्दै जान्छन् ।

‘एक ठाउँमा ठिक नभएअर्को ठाउँमा जाउँ भन्ने विकल्प हुनु पर्छ उनी भन्छन्–‘बिरामीका लागि त्यो विकल्प दिन क्रमशः कोहलपुर तयार भइरहेको जस्तो लाग्छ ।’ कोहलपुर सिटीले ओपिडीसँगै फिजिसियन र विशेषगरी अर्थोपेडिक सेवाप्रवाह गर्दै आएको छ । डा.सन्दीप कँडेल यसक्षेत्रका लागि चलेका अर्थोपेडिक सर्जन हुन् । उनै डा.कँडेलले कोहलपुर सिटीबाट अर्थोको सेवा दिँदै आएका छन् । दुई करोड बढीको लगानीमा सेवा प्रवाह गर्दै आएको कोहलपुर सिटीले आफ्ना सेवाहरुलाई थप स्तरीय र विस्तार गर्दै लैजाने योजना बनाएको छ ।

आफ्नै भवनबाट सेवा सुरु गरेको १५ शैयाको स्वीकृत प्राप्त आर.एम हस्पिटलले चौविसैं घण्टा इमरजेन्सी र ल्याब सहित विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । डा.गोविन्द थारुको नेतृत्वमा वि.स २०८१ माघ ५ गतेबाट आर.एम हस्पिटलमा बिरामी भर्ना, ओटी लगायतका सेवा छन् । ओपिडी, फिजिसियन, बालरोग, प्रसूति तथा स्त्री रोग, हाडजोर्नी, नाक, कान र घाँटी, छाला तथा यौन रोगको उपचार सेवा प्रवाह गर्दै आएको डा.थारु बताउँछन् । पछिल्लो समय अस्पतालले सर्जरी सेवा पनि दिन थालेको छ । डा.थारु र रेडियोलोजिष्ट डा.सागर खड्का फुल टाइम चिकित्सक हुन् भने अन्य चिकित्सकहरु भने ‘अनकल’ आउने गरेका छन् ।

कोहलपुर सिटी, आर.एम हस्पिटलसँगै भेरी कर्णाली हस्पिटलले पनि १५ शैयाको अनुमति प्राप्त गरी बिरामीहरुलाई सेवा दिँदै आएको छ । त्यसैगरी श्री अगा हस्पिटलले ११ शैया, हिमाल अमृता हस्पिटलले १० शैया वेड सञ्चालन गरेको छ । हाइस्कुल नजिकै रहेको कौसिल्या अस्पतालले प्रदेशबाट २५ वेडको अनुमति लिएर सञ्चालनमा छ । हवल्दारमा रहेको कौसिल्या मेमोरियल अस्पतालले पनि प्रदेशबाटै अनुमति लिएर अत्याधुनिक भवनबाट उपचार सेवा प्रवाह गर्न थालेको छ ।

थापा मेडिकल हलले लगानी बढाउँदै आफुलाई पोलिक्लिनिकमा स्तरोन्नति गरेको छ । नागरिक पोलिक्लिनक, पब्लिक आरोग्य क्लिनिक, शारदा पोलिक्लिनिक, लाइफ ओके, कालिका हस्पिटल एण्ड रिर्सच सेन्टरलगायतले पनि यसक्षेत्रका बिरामीहरुलाई सेवा दिँदै आएका छन् । माता मनकामना आयुर्वेदिक क्लिनिकले बैकल्पिक आयुर्वेदिक चिकित्सा सेवा प्रदान गर्दै आएको छ ।

दाँत उपचारका लागि पनि कोहलपुर अब्बल बन्दै गएको छ । ‘फ्रेस डेन्ट’ डेन्टल क्लिनिकमा कार्यरत दन्त विशेषज्ञ डा.विश्वनाथ चौधरीले दन्त उपचारमा कोहलपुरले स्तरीय सेवा दिइरहेको बताए । ‘माइनर सर्जरी देखि मेजर सर्जरी समेत भइरहेका छन् डा.चौधरी भन्छन्–‘दाँत उखल्ने, आरसिटी गर्ने, तार बाँध्ने लगायतका सेवा प्रदान गर्ने काम भइरहेको छ ।’ नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरले पछिल्लो समय दन्त उपचारका लागि ओपिडी सेवा नै सुरु गरेको छ ।

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले कोहलपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मेडिकल कलेजको टिम ।

कोहलपुर डेन्टल क्लिनिक, ओमभरी डेन्टल क्लिनिक, स्माइल डेन्टल क्लिनिक लगायतले सेवा दिइरहेका छन् । त्यसैगरी कोहलपुरमा स्तरीय प्रयोगशाला पनि विस्तार हुँदै गएका छन् । जसले गर्दा बिरामीको उपचार निदानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । नमस्ने डाइग्नोष्टिक सेन्टर कोहलपुर क्षेत्रकालागि स्तरीय प्रयोगशाला हो । खुलेका अधिकांश हस्पिटलसँग ‘सी’क्याटेगोरीका ल्यावहरु छन् । रोगको पहिचान र निदानमा प्रयोगशालाले दिने रिपोर्ट अत्यन्तै महत्वपूर्ण मानिने भएकाले स्तरीय ल्याव जडान गरिएको डा.चौधरी बताउँछन् ।

फिजियोथेरापी र अकुपञ्चर सेवामा अब्बल दरिएको कौसिल्या अस्पतालले छिमेकी जिल्ला बर्दियाको बासगढीमा पनि शाखा अस्पताल सञ्चालन गरेर विशेषज्ञ चिकित्सक सहितको उपचार सेवा प्रवाह गर्दै आएको छ । चौविसैं घण्टा इमरजेन्सी सहित नसा तथा प्यारालाइसिस सम्वन्धी रोग, हाडजोर्नी, आँखा सम्वन्धी रोगको उपचार सेवा पनि अस्पतालले दिँदै आएको कौसिल्या अस्पतालका प्रवन्ध निर्देशक राम प्रसाद न्यौपाने बताउँछन् ।

‘कोहलपुर स्वास्थ्य क्षेत्रको ठूलो सम्भावना बोकेको ठाउँ हो न्यौपाने भन्छन्–‘अस्पतालहरुमा लगानी बढाउँदै विशेषज्ञ सेवा सहितको स्तरीय सेवा दिन सकियो भने बिरामीहरुलाई यही रोक्न सकिन्छ ।’

कोहलपुर स्वास्थ्य क्षेत्रको हवको सम्भावना भएपनि बिरामी रोक्न भने सकेको छैन । कोहलपुरमा अस्पतालहरु खुल्दै जाँदा लगानी पनि बढेको छ । तर अस्पतालमा बसेर पूर्णकालिन सेवा गर्ने कन्सल्टेन्ट चिकित्सकहरुको अभाव भने खुलेका र खुल्दै गरेका हस्पिटलहरुको लागि चुनौतिपूर्ण बन्दै आएको छ । मुश्किलले एक–दुईजना विशेषज्ञ चिकित्सकहरु हस्पिटलहरुले राखेपनि अधिकांशले ‘अन कल’चिकित्सक बोलाउने गरेका छन् ।

यो चुनौतिका बाबजुतपनि कोहलपुरमा सुविधा सम्पन्न ट्रमा सेन्टरको अत्यन्तै आवश्यक रहेको देखिन्छ । कोहलपुरकी युवा नेतृ अञ्जना पाण्डेले त्यसको सम्भावना पनि देखेकी छिन् । कोहलपुर कर्णाली र सुदूरपश्चिम प्रदेशको हब हो । सुविधा सम्पन्न ट्रमा सेन्टर बनाउन सकियो भने कोहलपुरको स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धी हुने पाडेको बुझाइ छ ।

स्वास्थ्यकर्मी समेत रहेकी युवा नेतृ अञ्जना पाण्डे ।

तर त्यसकालागि स्थानीय सरकारले अलि बढी ध्यानदिनु पर्नेमा स्वास्थ्यकर्मी समेत रहेकी युवा नेतृ पाण्डे बताउँछिन् । ‘समुदायमा आधारित सुविधा सम्पन्न ‘ट्रमा सेन्टर’ निर्माण गर्न सकिन्छ । र, त्यो यहाँको आवश्यकता पनि हो’ उनी थप्छिन् । दुर्घटना वा चोटपटक लाग्दा समयमै बिरामीले छिटो छरितो र गुणस्तरीय सेवापाउने गरी ट्रमा सेन्टर निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

  • ३ कार्तिक २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech