नेपालगन्ज: नर्स भन्नासाथ आम मस्तिष्कमा सेतो कपडा वाकोट लगाएकी महिलाको आकृति आउँछ । हुनपनि अधिकांश नेपालीले अस्पताल वा स्वास्थ्य संस्थाहरूमा पुरुष नर्स देखेका छैनन् । कतिपय नेपाली शब्द कोषमा ‘नर्स’ को अर्थ ‘परिचारिका’ भनेर पनि लेखिएको पाइन्छ । देशका अधिकांश नर्सिङ कलेजहरूमा पनि विद्यार्थीदेखि लेक्चरर, प्रोफेसरसम्म प्रायः सबै महिला नै हुन्छन् । तर, पछिल्लो समय नेपालगञ्जले पुरुष नर्सहरू उत्पादन गर्न थालेको छ ।
बर्दिया ठाकुरबाबा नगरपालिका–५ बग्नाहका उपेन्द्र खनाल वेष्टर्न नर्सिङ कलेज नेपालगञ्जमा स्टाफ नर्स अध्ययन गरिरहेका छन् । स्टाफ नर्स अर्थात पिसिएल नर्सिङको कोर्ष पूरा गर्न तीन वर्ष पढ्नुपर्छ । उनले अहिले पिसिएल दोस्रो वर्षको परीक्षा दिइसकेका छन् । एसईई उत्तीर्ण गरेपछि पिसिएल अध्ययन गर्न पाइन्छ । कम्प्युटर साइन्सबाट प्लस टु गरेका खनालले किन पिसिएल पढ्न चाहे त ? गाउँघरमा जापान जाने ट्रेन्ट थियो । उनका साथीभाई पनि जापान गइरहेका थिए । उनी पनि जापान जाने सोचले कम्प्युटर साइन्स पढे । तर, घरपरिवारबाट विदेश जान उनले स्वीकृति पाएनन् ।
उनको ठूलो बुवा अहेब छन् । बुवा ल्याव टेक्निसियन । उनीहरु दुवै जनाले गाउँकै स्वास्थ्य संस्थामा काम गर्छन् । उनीहरुकै सुझावमा उपेन्द्र तीन वर्ष अघि पिसिएल पढ्न नेपालगञ्ज आए । यस्तै गोकुल धामी सिगास गाउँपालिका–२ चमरेखड्क बैतडीमा जन्मिए । उनमा एचए पढ्ने सोच थियो । ठूल्बुबाका दुई छोराले एचए पढेका थिए । तर, सरकारी विद्यालयमा अध्ययन गरेकालाई एचए पढ्न गाह्रो हुन्छ भनेको गोकुलले सुनेका थिए । धेरैले नर्स पढ्दा सहज हुन्छ भने । त्यही भएर उनी पनि स्टाफ नर्स बन्ने अठोटका साथ पढिरहेका पुरुष स्टाफ नर्स हुन् ।
सर्केगाड गाउँपालिका–४ मुडी हुम्लामा जन्मिएका हुन् सुवेन्द्र सिंह । उनी पनि एचए पढ्ने रहरले तीन वर्ष अघि नेपालगञ्ज झरे । दिदीले फार्मेसी पढ्नुपर्छ भन्दै थिइन् । तर, अष्ट्रेलियामा रहेका मामाका छोराले नर्स पढ्न सुझाए । नर्स पढेकाहरुका लागि अष्टे«लियामा राम्रो सम्भावना भएको कुरा सुनाए । त्यही भएर सुवेन्द्र पिसिएल नर्सिङमा भर्ना भए । उनीहरु तीनै जनाले दोस्रो वर्षको परीक्षा दिएर तेस्रो वर्षको अध्ययन प्रारम्भ गर्दैछन् ।
अब भने उनीहरुलाई नर्स बनेर नागरिकहरुलाई सेवा गर्ने चाहनाले लपेट्दै लगेको छ । ‘सुरु–सुरुमा साथीभाईहरुले केटीले पढ्ने विषय केटाले किन पढेको भन्दै खिसी टिउरी पनि गर्थे,’उनीहरु विगत सम्झँदै भन्छन्–‘हिजोआज राम्रै विषय पढेका रहेछौ भन्दै प्रशंसा गर्छन्, खुसी लाग्छ ।’ पुरुष स्टाफ नर्सको राम्रो सम्भावना देखेका छन् गोकुलले । उनी आफ्नो पालिकामा पुरुष स्टाफ नर्स पढ्ने पहिलो हुन् । अर्को वर्ष उनी पास आउट हुन्छन् । उनको लक्ष्य आयोगमा नाम निकाल्ने नै छ ।
सरकारले विद्यालय नर्स कार्यक्रमलाई प्रभावकारी गराउने हो भने ठूलो सम्भावना देख्छन् गोकुल । अध्ययन पूरा गरेपछि उनी आफ्नै गाउँ फर्किने र त्यहीका जनतालाई सेवागर्ने योजनामा छन् । त्यस्तै विचार छ सुवेन्द्रको पनि । पहाडी तथा हिमाली जिल्लाका नागरिकहरुले राम्रोसँग डाक्टर देख्न पाउँदैनन् । स्वास्थ्यकर्मीको पनि अभाव छ । यही अभाव टार्न गाउँमै फर्किने योजना छ । नर्स पढेपछि विदेश नै जान्छन् भन्ने मानसिकता छ ।
यी पुरुष नर्सहरु भने आफ्नै देशमा सेवा गरेर उक्त भाष्य फेर्न चाहन्छन् । वेष्टर्न नर्सिङ कलेजमा पछिल्ला ब्याचमा निर्धारित कोटा पुरुष स्टाफ नर्सले भरिएका छन् । १३ औं ब्याचमा एक जना पुरुष स्टाफ नर्स थिए । ७ जनाको पुरुष स्टाफ नर्स कोटामा उनले मात्र स्टाफ नर्स पढे । त्यसपछि १४ औं, १५ औं र १६ औं ब्याचमा पुरुष नर्सका लागि छुट्याइएको कोटा फुल छ ।
वि.सं. २०७५ असार ५ गते नेपाल नर्सिङ काउन्सिलले नर्सिङ विधाका कार्यक्रमहरू सर्टिफिकेट नर्सिङ र बिएस्सी नर्सिङमा पुरुष विद्यार्थीहरुलाई अध्यापन गराउने साथै नर्सिङ कलेजहरूमा १५ प्रतिशत कोटा पुरुष विद्यार्थीको लागि उपलब्ध गराउने निर्णय गरेसँगै कलेजहरुले पुरुष नर्स भर्ना गर्न लागेका हुन् ।
पुरुष नर्सको पेशामा आगमनसँगै भविष्यमा नर्सिङ पेशाको उन्नति र विकास गर्न सहज होला भनेर आशा पनि गर्न थालिएको छ, जुन स्वभाविक छ । नर्सिङ पेशामा अनेकन समस्याहुनु, नर्सहरुको हक, अधिकारको सुनिश्चततानहुनु, नर्सिङ शिक्षा र सेवाको गुणस्तर अभिवृद्धि सन्तोषजनक नहुनु र यो क्षेत्र राज्यबाट पनि तुलनात्मक रूपमा हेपिएको अवस्थामा रहनुमा यस पेशामा नगन्य पुरुष सहभागिता हुनु पनि एक प्रमुख कारण भएको एकथरीको बुझाई छ ।
जति महिलावाद भने पनि, समानताको कुरा गरे पनि हाम्रो देशमा अझै पनि महिलाको मुद्दालाई प्राथमिकता दिने र महिलाको क्षमतामा विश्वास गरिहाल्ने परिपाटी निकै कमजोर छ । त्यसैले पुरुष नर्सहरुको पेशामा आबद्धतासँगै यो स्थितिको अन्त्य गर्न सहज हुन सक्ने अपेक्षा समेत गरिएको छ ।