दशैंमा सात्विक भोजन कि राजसिक र तामसिक ?

    • राजु अधिकारी

  • २५ आश्विन २०८१, शुक्रबार

दशैँ केवल खाने पर्व मात्र हैन दशैँ साधनात्म उत्सव हो । उत्सव रमाइलो त गरौं तर साधना नछाडौं । सबैभन्दा बढि साधना हामीले खानपानमा गर्नु पर्ने हो । तर, सबैभन्दा बढि हेलचेक्राइ र असन्तुलन हामी खानपानमा नै गर्छौं ।

खानपान तीन प्रकारको हुन्छ–सात्विक, राजसिक र तामसिक । जसले शरीरमा, मनमा, भावनामा, आत्मामा, चेतनामा सत्गुण अभिवृद्धी गर्छ त्यसलाई सात्विक खाना भनिन्छ । जुन सुपाच्य हुन्छ, हल्का हुन्छ, पोषिलो हुन्छ र खर्चको दृष्टिले पनि कम खर्चिलो हुन्छ, हिंसाको भोजन हुँदैन र गरिष्ठ हुँदैन त्यो सात्विक खाना हो । तर, हामी  राजशिक र तामसिक खानालाई मात्र दशैं उत्सवको भोजन मान्ने गर्छौं ।

सात्विक खानाका धेरै फाइदाहरु छन् । त्यसो त सात्विक खाना आफैंमा औषधि हो । अरु खाना आहार मात्र हो, कतिपय खाना भुस र कतिपय खाना चोकर छोकरा मात्र हो, पोषण केही छैन स्वादको लागि मात्र खान्छौं ।

सात्विक खानामा जीवन, प्राण, अमृत, रस हुन्छ र सबैभन्दा बढि मिठास हुन्छ । तपाईं हामी खानाको नाममा दाल, भात, तरकारी हैन मरमसला, नुन, तेल खाइरहेका हुन्छौं  सात्विक खानामा मरमसला, नुनतेल हुँदैन, त्यहाँ भोजन स्वयमको सारतत्व हुन्छ । जो प्राकृतिक स्वाद हो, मौलिक र नैसर्गिक स्वाद हो, त्यो सात्विक खानमा हुन्छ ।

सात्विक खाना खाइयो भने हामी प्रकृतीसँग पनि नजिक हुन्छौं । त्यहाँ अहिंसात्मक खाना हुन्छ, शाकाहारी भोजन हुन्छ, जहाँ मांसहार, मत्छ्याहार र मद्यपान हुँदैन ।

विशेषगरी खानाले तीन वटा लाभ पुर्‍याउँछ-

एक, शारीरिक पोषणको लाभ ।

दुई, मानसिक स्वास्थ्यको लाभ ।

तीन, आत्मिक उन्नतीको लाभ ।

सात्विक खाना त्यो हो जसले शारीरिक पोषण मात्र दिँदैन मानसिक स्वास्थ्य र आत्मिक उन्नती पनि दिलाउँछ । त्यसैले दशैं तिहार जस्ता उत्सवमा सात्विक खानामा जोड दिनुपर्ने हो ।

आयुर्वेदिक दृष्टिकोणले हेर्ने हो भने खानाले हामीलाई तीनवटा कुरा दिनुपर्छ दीर्घायु, हीतायु र सुखायु । यी तीन वटा गुण प्रदान गर्ने क्षमता सात्विक खानामा हुन्छ ।

तपाईं –हामी आजभोलि रोगी र भोगी भएका छौं, शोकमग्न छौं, चिन्ता र छटपटीले भरिएका छौं । यो विभिन्न कारणले भएको हो । तर मूख्य कारण खानाको असन्तुलनले भएको हो । अस्वस्थकर, प्रशोधित, प्याकेटबन्द खाना र विभिन्न प्रकारले त्यसको रुपरंग बिगारिएका खानाले हो ।

खानाको सार र प्राण जुन खानामा छ त्यो सात्विक खाना हो । जसले हाम्रो हृदय स्वास्थ्यको जोखिमलाई कम गर्छ । विभिन्न शारीरिक रोगव्याधिहरुलाई कम गर्छ र मोटोपनालाई नियन्त्रण गर्छ । यस्ता खानामा क्यालोरी पर्याप्त हुन्छ तर शरीरमा विभिन्न प्रकारका विकार एवं दोष उत्पन्न गर्ने हुँदैन ।

प्रकृतिमा जुन रुपमा खाद्य परिकार छ त्यसलाई सकेसम्म रुपरंग आकार प्रकार नबिगारी खायौं भने त्यो सात्विक खाना हो ।

माछामासु तामसिक खाना हो हामी यही बढि खान्छौं । यसले तमगुण उत्पन्न गर्छ, यसले जडता ल्याउँछ, निद्रा ल्याउँछ, अपराधवृत्ति ल्याउँछ, हिंसावृत्ति ल्याउँछ ।

खाना जुन मसलेदार हुन्छ, क्याफिनयुक्त हुन्छ, नशादार हुन्छ त्यसले चञ्चलता, अति सकृयता बढाउँछ । त्यो राजसिक खाना हो ।

सात्विक खाना  त्यो हो जुन प्रकृतिक छ, कम प्रसोधन गरिएको छ । जसमा फलफूल, काजु, किसमिस, नरिवल, बदाम, टुसाएका गेडागुडी, विभिन्न सलाद र अनि हाम्रा स्थानिय जडिबुटी अमला, घिउकुमारी, हर्रो, बर्रो आदि सबै समावेश छन् । यी सात्विक खाना हुन् ।

हामीले नियमित खाने दालभात तरकारी पनि यदि सहि तरिकाले पकाउँछौँ, त्यसको पोषण जीवित राख्छौं, धेरै प्रसोधित गर्दैनौं भने त्यो साित्वक खाना हो ।

हाम्रो सर्वत्र समाज र प्रकृति सात्विक खानाले भरिएको छ । तर, हामी जिब्रोको स्वादको लागि तमसिक र रजगुणी खाना खोजिरहेका छौं । यो दशैं– तिहारमा र हरेक चाडपर्व उत्सवमा सात्विक खानाको पारखी हुनुपर्ने आवश्यकता छ । किनभने हाम्रो शरीरको मात्र चिन्ता लिएर हुँदैन मानसिक स्वास्थ्यको पनि चिन्ता लिनुपर्छ । र, त्यसको स्रोत सात्विक खाना नै हो ।

खानाको भित्री सार तत्व, प्राण तत्व र जीवन तत्व सत्व भनिन्छ त्यसले हाम्रो आध्यात्मिक स्वास्थ्य राम्रो बनाउँछ । त्यसले भावना राम्रो बनाउँछ, ध्यान साधनामा मन लगाइदिन्छ, हामी भित्र चरित्र संस्कार सत्भाव उत्पन्न गरिदिन्छ र दूर्गुण अनि कुसंस्कारलाई हटाइदिन्छ ।

दशैं खासगरी नौ दिन सात्विक खाना खानुपर्ने चाड हो, वैदिक दर्शन अनुसार । दुर्गा भनेको अति दुर्गम, मनका चित्तिका दुर्गम ठाउँमा रहेका विकारहरुलाई पशुवृत्तिहरुलाई बलि दिन दशैँ मनाइने हो । त्यो साधनालाई पूर्ण गर्न सात्विक खाना खानुपर्ने हो । तर हामी तामसिक र राजसिक खानामा रमाइरहेको छौं । एकपटक हामी फेरी प्रकृमिा फर्कौं र चाडबाडको मूल मर्म सत्व र प्रतिष्ठालाई जोगाऔं । केवल स्वाद र खानामा अलमल नगरौं ।

सात्विक खाना चाडपर्वमा मात्र होइन, अरुबेला पनि खानुपर्ने नियमित भोजन हो । अबको समय सात्विकताको युग हो । तासिकता र राजसिकताले हामीलाई चञ्चलता, मनका रोग शरीरका रोगव्याधि, विभिन्न व्यथा, पीडातर्फ लैजान्छ । मानसिक शान्तिका लागि आध्यात्मिक अभिवद्र्धनका लागि र शारीरिक स्वास्थ्यका लागि सात्विक खानामा फर्कनु पर्ने हुन्छ त्यसको पहिलो सिंढी यही चाडबाडलाई बनाउनु पर्छ ।

हाम्रो चाडबाड सात्विक होस्, भान्सा सात्विक होस् । भान्सालाई हत्यालय, हिंसालय, रोगालय बनाइरहेका छौं । अब निरोगालय, आरोग्यलय र सात्विक भोजनालय बनाउँ ।

 

  • २५ आश्विन २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech