नेपालगन्ज: नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले आज नेपालगन्जमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विजयादशमी, शुभ दिपाओली, छठ तथा नेपाल सम्वतको अवसरमा संघले शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।
संघका कार्यबहाक जिल्ला अध्यक्ष विरजंग शाहको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले संघमा आवद्ध भएका स्वास्थ्यकर्मीहरुलाई नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदानका निमित्त इमान्दार हुन आग्रह गरे ।
उनले अहिले पनि नागरिकहरु स्वास्थ्यको पहुँचमा नभएको उल्लेख गर्दै यसमा संघले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड समेत दिए । संघमा आवद्ध भएका स्वास्थ्यकर्मीहरुले प्रवाह गर्ने स्वास्थ्य सेवामा नागरिकले अनुभूति महसुस गर्नुपर्ने उनको भनाइ छ ।
यस्तै लर्डबुद्ध एजुकेशन नेपालगन्ज मेडिकल कलेज कर्मचारी संघका सभापति यमबहादुर खड्काले संघमा आवद्ध भएका स्वास्थ्यकर्मीहरुले कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेको भन्दै यसलाई अझै बरकरार राख्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा स्वास्थ्यकर्मी संघका नेता राजेश सेन, भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा.संकेत कुमार रिसाल, बरिष्ठ चिकित्सकहरु डा. कृष्ण मोहन अधिकारी, डा.विनोद कर्ण, डा.सौरभ सिंह हमाल, डा.पारश श्रेष्ठ, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगत बहादुर शाही, नेपाल प्रेस युनियन लुम्विनी प्रदेशका महासचिव नवीन गिरी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, स्वास्थ्य शाखा कोहलपुरका प्रमुख अनिल सेन ठकुरी, स्वास्थ्य शाखा नेपालगन्जका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत सहित संघमा आवद्ध स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव तेज वलीले गरेका थिए ।