नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा आगामी वर्षदेखि एमडी/एमएस (पिजी) पढाइ हुने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्र्याजुएट (पिजी) चिकित्सक तथा नर्स अध्यापनका लागि शिक्षक दरबन्दी स्वीकृत गरेसँगै भेरी अस्पतालमा पनि एमडी/एमएस पढाइ हुने निश्चित भएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.निराजन सुवेदीले जानकारी दिए ।
‘प्रतिष्ठानका सहकुलपति समेत रहनु भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको ३१ औँ सिनेट बैठकले भेरी अस्पतालका लागि २८ वटा सिट निर्धारण गरेको छ डा.सुवेदीले भने–‘यो हाम्रा लागि अत्यन्तै सुखद क्षण हो । दक्ष चिकित्सक अभाव कम गर्नका लागि यो निर्णय एतिहासिक हुनेछ ।’
प्रमुख मेसु डा. सुवेदीका अनुसार सिटको अनुपात बढेसँगै एमडी/एमएस अध्ययनका लागि चिकित्सकहरु विदेश जानुपर्ने बाध्यता कम हुनेछ । यसले भेरी अस्पतालको सेवा प्रभावलाई समेत ठूलो सकारात्मक प्रभाव पार्ने भन्दै बिरामीहरुले पालो कुर्नुपर्ने अवस्थाको समेत अव समाधान हुने प्रमुख मेसु डा.सुवेदीले विश्वास व्यक्त गरे । उनले अव योग्यता पुगेका भेरी अस्पतालका कन्सल्टेन्ट चिकित्सकहरुको प्राज्ञिक पद समेत निर्धारण हुने बताए ।
भेरी अस्पतालमा एमडी/एमएस अध्यापन गराउन लामो समयदेखि प्रयास भइरहेको थियो । तर त्यसले औपचारिक सार्थकता भने पाइरहेको थिएन् । तर मन्त्री पौडेल आएपछि भने यसअघि न्याम्सअन्तर्गत शैक्षिक आबद्धता लिएका आंगिक कलेज भरतपुर अस्पताल, कोशी अस्पतालसँगै नारायणी र भेरी अस्पताललाई समेत आबद्धता दिने निर्णय बैठकले गरेको हो ।
यी सबै अस्पतालका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत गरेको प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर भूपेन्द्रकुमार बस्नेतले जानकारी दिए । यसैगरी, मेची र गेटा आँखा अस्पताल, सशस्त्र प्रहरी अस्पताल, नेपाल अर्थोपेडिक अस्पतालका लागिसमेत पोस्ट ग्र्याजुएट अध्ययनमा विद्यार्थी थप्न सघाउने गरी शिक्षक दरबन्दी थप भएको छ ।
नर्सिङ क्याम्पस, भरतपुर नर्सिङ क्याम्पस, कान्ति नर्सिङ क्याम्पस, निजामती नर्सिङ क्याम्पस तथा सशस्त्रको नर्सिङ क्यम्पसका लागिसमेत शिक्षक दरबन्दी स्वीकृत गरिएको उपकुलपति बस्नेतले जानकारी दिए । अब देशैभरका सरकारी चिकित्सा तथा नर्सिङ कलेजमा चार सयसम्म पोष्ट ग्र्याजुएट विद्यार्थीलाई थप अध्ययन गराउन सकिने बस्नेतले बताए ।
डा बस्नेतका अनुसार विद्यार्थी सिट थप्नका लागि भेरी अस्पतालमा २८, वीरमा ६३ जना, निजामतीमा ५९, सशस्त्र, कोशी र नारायणीमा २८–२८ जना भन्दा बढी फ्याकल्टी थप गर्ने निर्णय भएको छ । यस्तै नर्सिङमा पनि १२५ जना भन्दा बढी फ्याकल्टी थप गर्ने गरी दरबन्दीको निर्णय भएको छ ।
हाल प्रतिष्ठानमार्फत शैक्षिक आबद्धता लिएका सरकारी मेडिकल तथा नर्सिङ कलेजहरूमा एक सय १२ जना विद्यार्थी वार्षिक रूपमा पोस्ट ग्र्याजुएट अध्ययन गरिरहेका छन् ।
अब देशैभरका सरकारी चिकित्सा तथा नर्सिङ कलेजमा ४ सय सम्म पोष्ट ग्रयाजुएट विद्यार्थीलाई थप अध्ययन गराउन सकिनेछ । शिक्षक अभावमा दक्ष चिकित्सा जनशक्ति अभाव भए पनि विद्यार्थी थप गर्न नसकिएको अवस्थामा यो निर्णयले सहायता पुग्ने विश्वास गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।
‘सरकारी कलेजमा पोस्ट ग्रयाजुएट विद्यार्थीको अध्ययन कोटा कम भएको अवस्थामा यो निर्णयले ठूलो संख्यामा विद्यार्थी थप गराउन सघाउनेछ उनले भने–‘यसका साथै सरकारलाई धेरै संख्यामा गाउँमा विज्ञ चिकित्सक पठाउने पनि यसले मद्दत गर्छ ।’