काठमाडौैंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवाको उद्घाटन गरेका छन्।
अस्पतालमा आयोजित कार्यक्रममा सेवाको उद्घाटन गर्दे मन्त्री पौडेलले हेर्दा सानोजस्तो देखिए पनि यो महत्वपूर्ण प्रयास भएको उल्लेख गरे। प्रसूति अस्पतालमा देशमै ख्याती कमाएको अस्पतालमा अरु सेवा पनि विस्तार गर्ने सोच मन्त्रालयको रहेको बताउँदै मन्त्री पौडेलले यो शुरुवात त्यसैको एक कडी भएको उल्लेख गरे।
अस्पतालले २० शैय्या आइसीयू थप्न लागेको भन्दै मन्त्री पौडेलले यसले अति आवश्यक मातृ शिशुका लागि धेरै राहत दिने विश्वास गरे। मन्त्री पौडेलले अस्पतालमा जनशक्ति पर्याप्त नभएको गुनासो सुनेको भन्दै आफू मन्त्रालय आउनासाथ त्यसको समाधानका लागि प्रयास थालेको र तत्कालका लागि छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई खटाउने घोषणा गरे।
यसैबीच परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले थप दुई सेवा विस्तार गरेको छ। अस्पतालमा गर्भवती तथा सुत्केरीहरुको लागि मानसिक स्वास्थ्य सेवा तथा बालबालिकामा जन्मजात रुपमा हुने विकलांग अवस्थाको पहिचान गर्ने सेवा सुरु गरिएको हो।