उपचार पाउदा पाउँदै पनि सर्पदंशका बिरामीहरुको किन मृत्यु भइरहेको छ ?

बिरामीको उपचारमा मात्र नभएर अनुसन्धानमा पनि उत्तिकै चासो राख्ने भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा.राजन पाण्डे सर्पदंशबाट मानिसहरुको मृत्यु जुन ढंगबाट बढीरहेको छ त्यसका दुई तीन वटा कारण हुन सक्ने सम्भावना औल्याउँछन् ।


    • प्रियास्मृति ढकाल

  • १८ आश्विन २०८१, शुक्रबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा यसवर्ष सर्पदंशका १६ बिरामीको मृत्यु भइसकेको छ । केही अझै उपचारकै क्रममा छन् । कहिलेकाहीँ सर्पदंशका बिरामीले नै अस्पतालको आकस्मिक कक्ष र आईसीयू वार्ड भरिने गरेको छ । सर्पदंशको जोखिम तराईका जिल्लाहरुमा कार्तिक महिनासम्मै रहने स्वास्थ्यकर्मीहरु बताउँछन् । गएका वर्षहरु भन्दा यो वर्ष सर्पदंशबाट ज्यान गुमाउनेको संख्या बढी छ । उपचारका लागि समयमै अस्पताल नआउँदा सर्पदंशका बिरामीको अकालमै मृत्यु हुनुलाई अस्वभाविक मान्न सकिदैन् ।

तर पछिल्ला दिनमा सर्पदंशका बिरामीहरुको उपचारकै क्रममा पनि गम्भीर भएर मृत्युवरण गर्नेको संख्या बढ्दै गएको छ । सर्पले टोकेपछि बिरामी भेन्टिलेटरमै जानुपर्ने अवस्था पनि बढ्दै गएको छ । सर्पदंशबाट मृत्युवरणको तथ्य तथ्यांक केलाउँदै जाने हो भने सर्पले टोके मान्छे बाँच्दैन की भन्ने आशंका गर्ने ठाउँलाई बल पुराइदिएको देखिन्छ ।

उपचार पाउदा पाउँदै पनि सर्पदंशका बिरामीको किन मृत्यु भइरहेको छ ? भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा.राजन पाण्डे समयमै उपचार नपाए बिरामीको मृत्यु हुन सक्ने सम्भावना बढी हुने बताउँछन् । तर उपचार पाउदा पाउँदै पनि मृत्यु हुनुको कारणबारे उनी पनि आश्चर्यमा छन् । पहिलापहिला सर्पले टोके गाउँघरमा झारफुक गर्ने र अन्तिम अवस्था भएपछि अस्पताल ल्याउँदा बिरामीलाई जोगाउनै मुश्किल पर्थ्यो । अहिले उपचारकै क्रममा पनि मृत्यु भइरहेको छ ।

सर्पबारे अध्ययन गरेका विज्ञहरूका भनाइमा नेपालमा हालसम्म ९० भन्दा बढी प्रजातिका सर्पहरू पाइएको विवरण छ । ‘नेपालमा हालसम्म पहिचान भएका भनेर ९०-९२ प्रजातिका सर्पलाई लिइन्छ’ नेपालमा पाइने सर्प र सर्पदंशबारे अनुसन्धान गरेका एकजना प्राणीशास्त्री डा. देवप्रसाद पाण्डे भन्छन् । ‘तर नेपालमा सर्पबारे अझै अध्ययन हुन बाँकी रहेकाले यहाँ योभन्दा धेरै नै जातका सर्प हुन सक्छन् ।’ पाण्डेका अनुसार नेपालमा पाइने धेरै सर्पहरू विषालु छैनन् ।

‘यहाँ पाइनेमध्ये १८ प्रकारका सर्पहरू चाहिँ अति विषालु खालका हुन् उनी भन्छन्–‘त्यस बाहेकका सर्पहरू कम विषालु र विष नभएका छन् ।’ नेपालमा कोब्रा, करेत, भाइपर प्रजातिका सर्पले धेरैलाई टोक्ने गरेको पाइन्छ । नेपालमा धेरै मानिसलाई टोक्ने सर्पमा गोमन रहेको छ । त्यसपछि करेतले टोक्ने गर्छ ।

पूर्वतिर गोमनको टोकाइ बढी हुन्छ भने पश्चिमतिर करेतले बढी टोक्ने गरेको अवस्था देखिन्छ । नेपालमा पाइने सर्पमध्ये सबैभन्दा विषालु र धेरै मानिसको ज्यान लिएका सर्प भनेका करेत र गोमनका विभिन्न प्रजाति रहेको पाण्डे बताउँछन् । त्यस्तै हरेउका केही प्रजाति र बाघे सर्प पनि अति विषालु सर्पका रूपमा लिनुपर्ने उनको भनाइ छ ।

करेत र गोमन सर्प तराई क्षेत्रमा धेरै मात्रामा पाइने गरेको उनी बताउँछन् । करेत र गोमन सर्पले टोकेपछि यसको विषका कारण मानिसको श्वासप्रश्वासमा समस्या निमत्याउँछ भने भाइपर प्रजातिको सर्पले टोकेपछि शरीरमा रगत वग्ने समस्या सिर्जना गर्छ ।

तर पछिल्लो समय सर्पदंशबाट अचानक मुटु र मस्तिष्कमा समेत समस्या सिर्जना भइरहेको पाइएको डा.पाण्डे बताउँछन् ।  ‘सर्पले टोकेपछि बिरामीलाई तत्काल अस्पताल पुर्याइहाल्नु पर्नेमा त कुनै सन्देह नै भएन डा. पाण्डे भन्छन्–‘जसरी अस्पतालमा उपचार पाउदा पाउँदै पनि बिरामीको मृत्यु भइरहेको छ यो गम्भीर अनुसन्धानको विषय हो ।’

बिरामीको उपचारमा मात्र नभएर अनुसन्धानमा पनि उत्तिकै चासो राख्ने डा.पाण्डे सर्पदंशबाट मानिसहरुको मृत्यु जुन ढंगबाट बढीरहेको छ त्यसका दुई तीन वटा कारण हुन सक्ने सम्भावना औल्याउँछन् । सर्पले टोक्दा वा टोकेमा बिरामीको उपचारका लागि दिइने औषधिलाई एन्टिस्नेक भेनम भनिन्छ ।

नेपालमा जुनसुकै सर्पले टोक्दा पनि पोलोभ्यालेन्ट एन्टिभेनम दिइन्छ । तर भुगोल र वातावरण अनुसार सर्पको विषको गुण पनि फरक हुन सक्ने डा.पाण्डे बताउँछन् । ‘जस्तै मधेश प्रदेशमा पाइने करेतमा विषको मात्रा धेरै हुन सक्छ भने बाँकेमा पाइने त्यही करेत सर्पमा विषको मात्रा कम हुन सक्छ । त्यसैले पोलोभ्यालेन्ट एन्टिभेनमको मात्राले बाँकेमा काम गरेपनि मधेश तिर काम नगर्न पनि सक्दछ । यसको गहिरो अध्ययन अनुसन्धान आवश्यक छ’–डा. पाण्डेको भनाइ छ ।

यस्तै एन्टिस्नेक भेनमको गुणस्तर जाँचको पनि डा. पाण्डे आवश्यकता देख्छन् । अहिले बजारमा पाइने एन्टिस्नेक भेनमको गुणस्तर जाँच भएको खासै देखिदैन् । एन्टिस्नेक भेनमले नै काम गर्न छोडेर बिरामीको मृत्यु भइरहेको छ की ? त्यसैले यसको गुणस्तर जाँच्नुपर्ने आवश्यकता रहेको डा.पाण्डेको भनाइ छ ।

अर्को भनेको एन्टिस्नेक भेनम औषधिको भण्डार र वितरणमा पनि अनुगमन जरुरी रहेको उनी देख्छन् । कोल्डचेन व्यवस्थापनमा प्रभावकारिता नहुँदा पनि एन्टिस्नेक भेनमले कतै काम गर्न छोडेको पो होकी ? यो पनि एउटा अनुसन्धानको विषय हुन सक्ने डा.पाण्डे बताउँछन् ।

सर्पदंशका बिरामीलाई दिइने औषधि एन्टिस्नेक भेनमलाई निश्चित तापक्रममा राख्नु पर्छ । तर नेपालगन्ज जस्तो गर्मी ठाउँमा कोल्डचेन मापदण्डको पालना भएनभएको बारेमा पनि अनुगमन आवश्यक रहेको डा. पाण्डेको भनाइ छ । समयमै सर्पले टोकेको थाहा नपाउँदा अस्पताल ल्याउन ढिलाइ भएका कारण उपचार नपाउँदा मृत्यु भइरहेको छ भन्ने एंगलबाट मात्रै सोच्नु भन्दा अन्य कारणहरुको पनि खोजी र अनुसन्धान गर्न आवश्यक देख्छन् डा.पाण्डे ।

भेरी अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लास्थित अस्पतालबाट सर्पदंशका बिरामी प्रेषण भएर आउने गरेका छन् । सर्पदंशका बिरामीलाई समयमै अस्पताल ल्याउन सके बिरामीको ज्यान जोगाउन सकिने सम्भावना भने धेरै रहने चिकित्सकहरु बताउँछन् ।

  • १८ आश्विन २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech