हिन्दु नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं सबैको घरआँगनमा आइसकको छ । यो बेला विभिन्न कामका लागि घरदेखि टाडा भएकाहरु घर फर्कन्छन् ।
यात्रा गर्दा सबैले ध्यान दिनत पर्छ नै, अझ गर्भवती महिलाहरूले भने यात्रा गर्दा विशेष ध्यान दिनुपर्छ। गर्भवतीको लागि पहिलो तीन महिना अलि जोखिमको अवस्था हुन्छ। बच्चा भर्खर पाठेघरमा टाँसिएको हुनाले अझै चनाखो हुनुपर्छ। कति लामो यात्रा गर्ने, कुन ठाउँमा जाने, कस्तो सवारी साधनमा यात्रा गर्ने जस्ता कुराहरू महत्वपूर्ण हुन्छन्। गर्भावस्थामा यात्रा गर्नै हुन्न भन्ने होइन ।
छोटो दूरीको बाटो राम्रो छ भने सावधानीपूर्वक यात्रा गर्दा कुनै फरक नपर्न सक्छ । तर, पहिलो त्रैमासिक र अन्तिम त्रैमासिक नजिक गर्भावस्था छ, गन्तव्य टाढा छ भने बच्चा मात्र नभई आमाको स्वास्थ्य जोखिममा पर्न सक्छ । त्यसैले, हवाई होस् वा बस यात्रा गर्नुअघि एकपटक सोच्न भने पर्छ ।
नजिकै जादै हुनुहुन्छ अर्थात छोटो दुरीको राम्रो बाटो छ भने त्यसमा समस्या हुँदैन। विस्तारै सवारी साधन रोक्दै रोक्दै जान मिल्छ। अलि टाढा जानुछ भने जहाजबाट गएको राम्रो। जहाजको यात्रा गर्दा जोखिम हुन्न भन्ने चाँही होइन तर गाडीको तुलनामा जहाजको यात्रा धेरै सुरक्षित हुन्छ।
पहिलो त्रैमासिकमा गर्भवती महिलामा हर्मोनल चेन्जका कारण मर्निङ सिकनेस हुनसक्छ । जसमा वान्ता आउने, टाउको दुख्ने र थकान अनुभव जस्ता समस्या देखिन सक्छ । यो बेला गर्भमा रहेको बच्चाले राम्रोसँग ठाउँ लिइसकेको हुँदैन । त्यसैले यो बेला लामो दूरीको यात्रा गर्दा गर्भ खेरजाने जोखिम हुने सम्भावना रहन्छ । यो विषयमा विशेष ख्याल गर्नुपर्छ । तर, छोटो दूरीको खाल्डाखुल्डी नभएको स्थानमा विस्तारै सवारी चलाएर यात्रा गरेमा भने खासै जोखिम हुँदैन ।
त्यस्तै गर्भावस्थाको दोस्रो त्रैमासिकमा हुनुहन्छ भने यो समय यात्राको लागि तुलनात्मक रूपमा सुरक्षित मानिन्छ । यो बेला हर्मोनको स्तर सन्तुलनमा आउने, वान्ता जस्ता लक्षण कम भइसकेको हुने साथै बच्चाले पनि एक निश्चित आकार बनाइसकेको हुने भएकाले १४ महिनादेखि २२ साताको समय यात्राको लागि सुरक्षित मानिन्छ । यद्यपि, लामो यात्रा गर्दा भने विशेष ध्यान भने दिनैपर्छ ।
गर्भावस्थाको तेस्रो त्रैमासिकमा यात्र गर्दा भने विशेष ख्याल गर्नुपर्छ । यो समय पहिलो र दोस्रो त्रैमासिकको तुलनामा यात्रा गर्नु झन् घातक हुनसक्छ । किनकि यो समयमा यात्रा गर्दा सालको पानीको स्तर घट्न सक्छ । र, जुनसुकै बेला फुटेर मिति अगावै जुन ठाउँमा पनि व्यथाले च्याप्न सक्छ ।
यात्रा गाडीबाटै गर्नुपर्ने बाध्यता छ भने धेरै कुरामा विचार पुर्याउनुपर्छ। सकेसम्म आफ्नै गाडी वा रिजर्ब गाडीमा गएको राम्रो । किनकि, भिडमा यात्रा गर्न त्यसै पनि कठिन हुन्छ, त्यसमाथि अफ्ठ्यारो बाटोमा झन गाह्रो हुन्छ। आफूले चाहे अनुसार गाडी चल्दैन। त्यसैले यो अवस्थामा आफू अनुकुलको गाडीमा जानु राम्रो र सुरक्षित हुन्छ।
विशेषगरी यो अवस्थामा चिकित्सकको सुझाव अनुसार मात्र यात्रा गर्नुपर्छ। सुरूदेखिनै गर्भमा केही समस्या छ भने अलि बढी ध्यान पुर्याउनुपर्ने हुन्छ।
“भेरी अस्पताल नेपालगन्जमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.एलिश श्रेष्ठसँगको कुराकानीमा आधारित”