नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिकाले चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर कार्यक्रमहरु संचालनको तयारी गरेको छ । पालिकाबासीको स्वास्थ्यमा सहज पहुँच स्थापित गर्नका निमित्त पालिकाले सचेतनामुलक कार्यक्रमसँगै, रोकथाम, निदान र उपचारका कार्यक्रमहरुलाई प्राथमिकता दिएर कार्यक्रम संचालन गरिने पालिकाले जनाएको छ ।
‘पालिकाभित्रका सर्वसाधारणहरुको रोग निदानका लागि यो वर्ष नयाँ कार्यक्रम संचालन गर्ने योजना पनि रहेको छ पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले भने–‘दशैं तिहारपछि योजना बनाएर ती कार्यक्रमहरु संचालन गरिने छ ।’ स्वास्थ्य क्षेत्रमा हरेक दिन नयाँ समस्या देखिने भएकाले नियमित कार्यक्रमसँगै यो वर्ष नयाँ कार्यक्रममार्फत समयमै स्वास्थ्य समस्याको पहिचान गरि निदानतर्फ प्रेरित गर्ने कार्यक्रमहरु तयार गरिएको उनले बताए ।
गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले पनि स्वास्थ्य क्षेत्रमा समयसापेक्ष कार्यक्रमहरुलाई प्राथमिकता दिइएको बताए । ती कार्यक्रमहरु पालिकाका सम्पूर्ण क्षेत्रहरुमा संचालन हुने गरि योजना बनाएको र उक्त कार्यक्रमले लक्षित वर्गहरु लाभान्वित हुने अध्यक्ष पौडेलको भनाइ छ । ‘हामी चाहन्छौं कि, सर्वसाधारणले आफुमा भएको समस्याका बारेमा समयमा जानकारी पाउन् अध्यक्ष पौडेलले भने–‘साथै समस्या समाधानका लागि पालिकामार्फत गरिने कार्यक्रमहरुले उनीहरुलाई लाभ मिलोस् ।’ यो वर्ष स्वास्थ्यतर्फ ल्याइएका नयाँ सेवा स्थानीय गाउँ ठाउँमा पुगेर प्रदान गर्ने योजना रहेको अध्यक्ष पौडेलले बताए ।
उनका अनुसार जेष्ठ नागरिहरुको स्वास्थ्य परीक्षण, महिलाहरुमा हुने पाठेघर सम्बन्धि स्वास्थ्य परीक्षण र छालाजन्य रोग पहिचान कार्यक्रमहरु संचालन हुने छन् । स्वास्थ्यतर्फ बनाइएको ती कार्यक्रमको कार्यान्वयनले आगामी वर्षको कार्यक्रम बनाउनसमेत दिशानिर्देश गर्न सहयोग गर्नेको भनाइ छ । पालिकाका विशेषगरी थारु समुदायमा देखिएको सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको पहिचान तथा सर्वसाधारणलाई सचेत बनाउने लगायतका कार्यक्रम पनि यो वर्ष नियमित हुने स्वास्थ्य शाखा प्रमुख केसीले जानकारी दिए । सिकलसेल रोग सम्बन्धि अघिल्लो वर्ष संचालन गरिएको शिविरमार्फत ४ सय ७५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
‘शाखामार्फत संचालन हुने कार्यक्रमहरुसँगै हामी स्वास्थ्यका तथ्याँकहरुलाई समेत व्यवस्थित बनाउने छौं,’ स्वास्थ्य शाखा प्रमुख केसीले भने–‘स्वास्थ्य संस्थाहरुमा महिनाभर प्रवाह भएका सेवा लगायतका विवरणलाई महिनाको अन्त्यमा अनलाईनमा प्रविष्ट गरेर व्यवस्थापन गछौं, यसले स्वास्थ्यको तथ्याँक एकत्रित हुन्छ भने यसका लागि स्वास्थ्यकर्मीहरुका लागि आवश्यक तालिम प्रदान गरिनेछ ।’
पछिल्लो समय महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको समस्या बढ्दै गएकाले पालिकामा त्यसको पहिचानका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर संचालन, ५ वर्षम्मका बालबालिकाहरुले पाउनुपर्ने १३ प्रकारको खोप प्रदान गरी हरेक वर्ष झै पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणा गरिने स्वास्थ्य शाखा प्रमुख केसीले बताए ।
उनका अनुसार कुपोषण पहिचानका लागि ५ वर्ष उमेर पुगेका बालबालिकाहरुको उमेर, तौल र स्वास्थ्य परीक्षण कार्यक्रम संचालन गरिनेछ । यसले कुपोषण समस्या निदानमा सहयोग पुग्नेछ । यस्तै पालिकामा विद्यालय जाने १० देखि १५ प्रतिशत बालबालिकामा मानसिक समस्या रहेको देखिएको हुँदा सचेतनामूलक कार्यक्रम संचालन गर्ने योजना रहेको प्रमुख केसीको भनाइ छ । यसैगरी गाउँपालिकाको वडा नं ६ मा यही वर्ष प्रयोगशाला स्थापना गरिने तयारी गरिएको छ ।
यसका साथै पालिकाका स्वास्थ्य संस्थाहरु यो वषदेखि डिजिटलाईजेशन हुने छन् । स्वास्थ्य शाखाका अनुसार ७ वटा वर्थिङ्ग सेन्टर रहेको पालिकामा यो वर्ष वडा नं ८ मा थप वर्थिङ्ग सेन्टर स्थापना गरिँदै छ । यस्तै पछिल्लो समय अस्वस्थ खानपानबाट सर्वसाधारणमा समस्याहरु विभिन्न समस्याहरु देखिन थालेको भन्दै भन्सा सुधार कार्यक्रम संचालन गरी स्वस्थकर भन्सा बनाइने शाखाले जनाएको छ । यो वर्ष स्वास्थ्यतर्फ करिब ३ करोड ३५ लाख बराबरको कार्यक्रमहरु तयार गरिएको छ । संघीय सरकारले ४ करोड ४० लाख बजेट पठाएको छ । प्रदेश सरकारले भने कुनै पनि शिर्षकमा बजेट पठाएको छैन । गत वर्ष १० लाख बजेट पठाएकोमा ५ लाख बजेट कटौति गरेको थियो ।