शहरमा बढ्दै मुटु रोग, सहज छैन ग्रामीण क्षेत्रमा उपचार

    • डा मिलन प्रकाश श्रेष्ठ / मुटुरोग विशेषज्ञ

  • १४ आश्विन २०८१, सोमबार

मुटुरोग विभिन्न किसिमको हुन्छ। आमाको कोखमा हुँदा देखिनै समस्याहरू लिएर जन्मने जन्मजात मुटुका रोग हुन्छ। दोस्रोमा पाँच वर्षदेखि १५ वर्षसम्मका बच्चाहरूमा मुटुको बाथ रोगको समस्या हुन्छ। यसले मुटुको भल्ब र मुटुमा क्षति पुर्‍याउने गर्दछ। समयमै उपचार हुन नसके यो रोगबाट बालबालिकाको मृत्युसम्म पनि हुनसक्छ। कहिलेकाहीं पहिला कुनै पनि लक्षणहरू देखा नपर्ने र पछि मात्र संकेतहरू देखापर्ने मुटुको बाथरोग मा मुटुका भल्बहरूमा क्षति पुर्याइसकेको अवस्थामा रोग को पहिचान हुने गर्दछ ।

शुरुमा खाने औषधिद्वारा मात्र बिरामीको उपचार गर्ने गरिन्छ तर समस्या ठूलै भएमा र मुटुको मा क्षति पुगिसकेको अवस्था मा विरामीको भल्ब नै फेर्ने शल्यक्रिया नै गर्नुपर्ने पनि हुनसक्दछ। त्यस्तैगरी पहिला ६० वर्षको उमेरमा देखापर्ने भनिएको मुटुरोग आजभोलि ४० वर्षको आसपासमा नै देखा पर्न थालेको छ। त्यो अर्को प्रकारको मुटु रोग हो। जसलाई हामी कोरोनरी आर्टरी डिजिज भनिन्छ। यस रोगमा मुटुका मांसपेशीहरुमा अक्सिजन सप्लाई गर्ने मुटुका रक्तनलीहरू सागुरिने र मांसपेशीमा अक्सिजन को कमी भइ छाती दुख्ने हुन्छ।

यसको समयमै पहिचान र सही उपचार गर्न नसके यसले हृदयाघात पनि गराउने गर्दछ, यो तेस्रो प्रकारको मुटुरोग हो। त्यस्तै चौथोमा हार्टफेलियर अर्थात् मुटुले पूर्णरूपमा काम गर्न नसक्ने अवस्थालाई पनि मुटुरोग मानिन्छ । माथिका तीनवटै अवस्था वा मुटुको चाल गडबडीले पनि हार्टफेलियर समस्या देखा पर्न सक्दछ। समयमै उपचार हुन नसकेमा यसले बिरामीको ज्यानसम्म लिन सक्दछ। मुटुको चाल गडबड हुने पनि मुटुरोगकै रुपमा लिने गरिन्छ । यसले पनि बिरामीको ज्यान लिन सक्दछ। मुटुसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकोले ब्लड प्रेसर लाई पनि अहिले मुटुरोग कै रूपमा लिन थालिएको छ।

मुटुरोगका लक्षणहरू

बिरामीलाई मुटुरोग लागेको कुरा थाहा पाउने तरिका भनेको सामान्य हिँड्दौड गर्दा पनि बिरामीलाई स्वा स्वा हुन्छ भने यो प्रकारको मुटुरोगको संकेत हुन सक्दछ। सामान्य हिडडुल गर्दा पनि छाती दुख्ने, सामान्य भारी बोक्दा पनि छाती दुख्ने भयो भने यो मुटु रोगको अर्को लक्षण हो।

अनावश्यक रूपमा मुटुको चाल बढी मुटुको धड्कन बढ्छ भने यो पनि अर्को एउटा मुटु रोगको लक्षण हो। बिरामीको दुईटै खुट्टा कहिलेकाहीँ सुनिन्छ भने पनि मुटुरोगको संकेत हुन सक्दछ। बाटोमा हिँड्दै गर्दा भन भन रिंगटा लाग्नु, ढल्नु, बेहोस हुनु पनि मुटुरोको लक्षण हुनसक्छ।

शहरमा बढ्दै मुटुरोग

आजभन्दा २० वर्ष अगाडि जनचेतनाको अभावका कारणले मानिसले मुटु रोगको सेवा लिने मात्रा कम थियो। आज आइपुग्दा यो सङ्ख्या बढेको देखिन्छ। नेपालमा यसको सङ्ख्या बढ्दै गइरहेको छ। यसरी मुटुरोग बढ्नुको मुख्य कारण भनेको खानपान, धुम्रपान, मध्यपान, अत्यधिक मानसिक तनाव, सुगर, कोलिस्टोरेल, ब्लड प्रेसर जस्ता कारणले पनि नेपालमा मुटुरोगका बिरामीहरू बढिरहेका छन्।

सहरी क्षेत्रमा पछिल्लो समयमा मुटु ब्लक हुने रोग ह्वात्तै बढेर गएको देखिन्छ। सहरी क्षेत्रमा प्रेसर, सुगर र कोलिस्टोरेलका बिरामीहरू अत्याधिक मात्रामा पाइने हुँदा मुटु ब्लक हुने बिरामीको सङ्ख्या बढेको हुनसक्छ।

सहरी क्षेत्रको जनताको चेतना स्तर र सहज रुपमा स्वास्थ्य सेवा प्राप्त हुने हुँदा पनि हुनसक्छ, त्यहाँका मानिसहरुमा बढी मात्रामा सुगर प्रेसरको समस्या र औषधि सेवन गरिराखेको पाइएको हुनसक्छ। यसरी सहज रुपमा स्वास्थ्य उपचार प्राप्त गर्ने हुँदा पनि मुटुरोगको संख्या बढेको अनुमान लगाउन सकिन्छ जुन कुरा ग्रामीण भेगमा सम्भव प्राय हुँदैन त्यसैले ग्रामीण भागमा कम देखिएको हुनसक्छ। युवा अवस्थामा भने चुरोट, सुर्तीजन्य पदार्थ र जाँडरक्सी खाने, नियमित शारीरिक अभ्यास गर्ने बानी नहुनु र मानसिक तनाव युक्त कार्यहरूले पनि यो समस्या बढेको हुनसक्छ ।

सहज छैन ग्रामीण क्षेत्रमा उपचार

विगत १० वर्षभन्दा आजको दिनमा सहरी क्षेत्रमा सहज रुपमा मुटुरोगको उपचार गराउन सक्ने गरी सेवा सुविधाहरु प्राप्त गर्न सकिन्छ। जसले गर्दा ठूलो संख्यामा मानिसहरुले मुटु रोगको समस्याबाट छुटकारा पाउने अवसर मिलेको छ। । देश का मुख्य सहरहरुमा सरकारी अस्पतालमै पनि मुटुरोग को उपचार पहिला भन्दा विस्तारित भए पनि ग्रामीण भागमा अझै पनि सहज रुपमा मुटुरोगका सेवाहरू प्राप्त गर्न नसक्ने हुँदा अझैपनि ठूलो संख्यामा मुटु रोगका बिरामीहरु स्वास्थ्य सेवाबाट वञ्चित भएका जस्तो देखिन्छ।

बच्ने उपायहरू

मुटु रोग लाग्न नदिनका लागि नियमित रुपमा शारीरिक व्यायाम गर्ने, आहारव्यहारमा ध्यान दिने र नियमित स्वास्थ्य परीक्षण तथा मानसिक तनावबाट मुक्त हुनेगरी बाँच्ने हो भने मुटु रोग लाग्न नदिन सकिन्छ। मध्यपान, धुम्रपान लगायत खराब आचरणलाई राज्यले कडैकडाउका साथ नियन्त्रण गर्ने हो भने पनि मुटुरोगको समस्यालाई न्यूनीकरण गर्न सकिन्छ।

जनचेतना फैलाएर ३० वर्षभन्दा माथिका मानिसले नियमित रुपमा प्रेसर, सुगर र कोलिस्टरको चेकजाँच गराउने गर्दा पनि मुटुरोगको समस्यालाई न्यूनीकरण गर्न सकिन्छ। आफ्नो हाइट अनुसारको शरीरको aमोटाईपन व्यवस्थापन गर्न सकियो भने पनि मुटुरोग कम गर्न सकिन्छ। मानसिक चिन्ताबाट पनि मुक्त हुन सकियो भने मुटु रोगलाई रोक्न सकिन्छ। दैनिक अधिकतम आठ घण्टा मात्र काम गर्ने र मानसिक चिन्ताबाट मुक्त हुने र पर्याप्त निन्द्रा पुर्याउने गर्दा पनि मुटुरोगको समस्यालाई कम गराउँदछ। मुटुरोका लक्षणहरू देखा परे भने तुरुन्तै स्वास्थ्य चौकीमा अथवा अस्पताल गएर चेकजाँच गराउने गर्नुपर्दछ। जसले पनि मुटु रोगका गम्भीर समस्याहरु निम्तिनबाट बचाउने गर्दछ ।

नियन्त्रणमा भएका सरकारी प्रयास

त्रिवि शिक्षण अस्पताल र गङ्गालाल अस्पतालले १५ वर्ष मुनिका र ७० वर्ष माथिका मुटुरोग बिरामीलाई विभिन्न आर्थिक सुविधा प्रदान गरी मुटुरोगका बिरामीहरूको सहुलियतपूर्ण उपचार गर्ने गरेको छ। आर्थिक अवस्था विपन्न भएका परिवार र बिरामीलाई विभिन्न किसिमका सहुलियतपूर्ण उपचार गर्ने गरेको छ। आर्थिक अवस्था विपन्न भएका परिवार र बिरामीलाई विभिन्न किसिमका सहुलियतहरु दिएर पनि उपचार गर्ने गरेको छ ।

आजको दिनमा काठमाडौँ सहरमा मात्र केन्द्रित रहेका यी सेवाहरू प्रदेश अस्पताल र स्थानीय अस्पतालहरूमा उपलब्ध गराउने हो भने ठूलो मात्रामा मुटुरोगका बिरामीहरू लाभान्वित हुने थियो। जुन कार्य आजका दिनमा सरकारी स्तरबाट हुनुपर्ने थियो हुन सकिराखेको छैन यसतर्फ सम्बन्धित निकायको ध्यान जानु पर्ने देखिन्छ।

नेपालमै विश्वस्तरीय उपचार सम्भव

विश्वस्तरमा प्राप्त हुने मुटुरोगका समस्याहरूको उपचार नेपालमा पनि उपलब्ध छ, ती कुराहरूको जानकारी नहुँदा पनि मुटुरोगका समस्याहरू बल्झिराखेका छन्। नेपालमा प्राप्त हुने मुटुरोगका सेवाहरूसँग विश्वस्तरमा प्राप्त सेवासँग तुलना गर्न सकिने स्तरमा छ। ती सेवाहरू बिरामीहरूले लिएर आफ्नो मुटुरोगको समस्याबाट छुटकारा पाउन सक्दछन्।

सर्वप्रथम त मुटुरोग लाग्न नदिनु नै उत्तम उपाय हो। जसका निम्ति माथि उल्लेखित उपायहरू र नियमित शारीरिक अभ्यास मानसिक चिन्ताबाट मुक्त हुने कार्यहरू गर्नुपर्दछ। मुटुरोग लागिसकेपछि पुरानै स्थितिमा बिरामीलाई फर्काउन मुस्किल पर्दछ त्यसो हुँदा मुटु रोग लाग्नै नदिनु पर्दछ।

  • १४ आश्विन २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech