स्वास्थ्यमन्त्री र सांसद विनोद चौधरीले बर्दघाटमा गरे ट्रमा सेन्टरको शिलान्यास

    • स्वास्थ्य पेज

  • १३ आश्विन २०८१, आईतवार

नेपालगन्जः पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र सांसद विनोद चौधरीले संयुक्त रुपमा ट्रमा सेन्टरको सिलान्यास गरेका हुन् । १२ करोड ३४ लाख रुपैयाँ लागतमा संघ सरकारबाट निर्माण शुरु भएको सेन्टर डेढ बिघा बढी क्षेत्रफलमा बन्नेछ ।

१५ बेड क्षमताको भवन शिलान्यास गर्दै मन्त्री पौडेलले विशिष्टिकृत सेवाहरु विस्तार गर्ने सोच आफूहरुको रहेको भन्दै प्रदेशस्तरमा रहेका प्रादेशिक अस्पतालहरुबाट संघीय राजधानीमा उपलब्ध सेवाहरु विस्तार गर्ने प्रयास थालिएको बताए । क्यान्सर उपचार सेवा सातै प्रदेशमा भएको उल्लेख गर्दै मन्त्री पौडेलले क्रमैसँग मुटु, मृगौलालगायतका उपचारहरुसमेत विस्तार गर्ने लक्ष्य रहेको बताए ।

स्वास्थ्य बीमामा सुधार आफूहरुको प्राथमिकतामा रहेको भन्दै मन्त्री पौडेलले छरिएर हुने स्वास्थ्य क्षेत्रको खर्च एकीकृत गरेर स्रोतसमेत थप्ने अवस्थामा हरेक नागरिकलाई ५ लाख बराबरको स्वास्थ्य बीमा सुविधा दिन सकिने बताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचित भएसँगै सेन्टर खोल्ने चाहना राखेकामा अघि बढ्न सफल भएको भन्दै सघाउने संघीय सरकारलगायत सबैप्रति आभार प्रकट गरे ।

शहरी विकास मन्त्रालय अन्तर्गतको सघन सहरी तथा भवन निर्माण योजना, चितवनले ठेक्का आह्वान गरेको थियो । १५ करोड बजेट लागतको बहुवर्षीयय ठेक्का अन्तर्गत एक्सिस एसियन कम्पनी, जनकपुरले निर्माणको ठेक्का पाएको हो । अर्थ मन्त्रालयबाट माघ १७ गते १५ करोड रुपैयाँको बहुवर्षीय ठेक्का तथा श्रोत सुनिश्चितताको स्वीकृति प्राप्त भएको हो । निर्वाचनका बेला सांसद चौधरीले चिसापानी अस्पतालको सेवा विस्तारसँगै विशिष्टिकृत सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने प्रतिवद्धता गरेका थिए ।

  • १३ आश्विन २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech