नेपालगन्जः लुम्विनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा.बिनोद गिरीले क्षयरोग निवारणका लागि सबै रोगीहरुको पहिचान गरी उपचारमा ल्याउनुको विकल्प नभएको बताएका छन् ।
विराट नेपाल मेडिकल ट्रष्टद्धारा सञ्चालित चेन्ज टिबी परियोजनाले सामुदायिक अधिकार र लैङ्गीक सम्वन्धमा क्षयरोग सर्वेक्षणकर्ताहरुलाई लक्षित गरी नेपालगन्जमा आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले सबै रोगीहरुको पहिचान गरी उपचारको पहुँचमा नल्याएसम्म निवारणमा चुनौती भइरहने बताए ।
अहिलेपनि टिबी, एचआइभी, कुष्ठरोगीहरुलाई समाजमा हेर्ने दृष्टिकोण सकारात्मक नभएको उनले बताए । ‘यस्ता रोगीहरुलाई समाजले अझैपनि लाञ्छना लगाउने, भेदभाव गर्ने प्रवृत्ति छ उनले भने–‘स्वास्थ्यकर्मीले मात्र नभएर प्रत्येक व्यक्ति, परिवार र समाजले विभेद चिर्नुपर्ने आवश्यकता छ ।’
भेदभाव बढी, बिरामीपनि खुल्न नचाहने र सरुवा रोग भएकाले पनि निवारण कठिन देखिएको उनले बताए । तर सबैको सहयोग, सहकार्य र समन्वय हुने हो भने रोग निवारण गर्न भने सकिने उनको तर्क छ । सरुवा रोगको समयमै पहिचान गर्ने र उपचार तथा निदान तिर लाग्ने हो भने निवारणमा सहजता आउने निर्देशक डा.गिरीले बताए । उनले क्षयरोगीका बिरामीले नियमित औषधि नखाने र बीचमै छोड्ने गर्दा पनि ठूलो समस्या सिर्जना भएको बताए ।
यस्तै स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले पछिल्लो समय शिक्षित भनिएका व्यक्तिहरुबाटै विभेद भइरहेको बताए । ‘पहिलापहिला अशिक्षित व्यक्तिहरुबाट यस्ता रोगहरुको बारेमा विभेद हुने गरेको थियो उनले भने–‘अहिले पढेलेखेकै शिक्षित भनिएका व्यक्तिबाट विभेद भएको छ । यसबारेमा जागरण ल्याउन आवश्यक छ ।’
यस्तै स्वास्थ्य कार्यालय बर्दियाका ल्याव टेक्निसियन निरीक्षक जीवन रजौरेले पनि समाजमा अहिलेपनि क्षयरोगीका बिरामीहरुमाथि विभेद कायमै रहेको बताए । उनले क्षयरोग निवारणका लागि सबैको समन्वय आवश्यक रहेकोमा जोड दिए । विराट नेपाल मेडिकल ट्रष्टसँगको सहकार्यमा बर्दियामा क्षयरोगीका थुप्रै एक्टिव केसहरु पहिचान गरिएको स्मरण समेत गराए ।
स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रविन्द्र कुमार साहले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा स्वास्थ्य निर्देशनालयका क्षयरोग फोकल पर्सन रामबहादुर भट्टराई, तथ्यांक अधिकृत मानबहादुर वली, नेपालगन्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य बीना थापा लगायतको उपस्थिति रहेको विराट नेपाल मेडिकल ट्रष्टका लुम्विनी प्रदेशका कार्यक्रम संयोजक दिपेन्द्र पाण्डेले जानकारी दिए ।
सामाजिक रुपमा पछाडि परेका समुदायबाट १२ जना टिबी च्याम्पियनको नेटवर्कलाई सशक्त बनाउनेगरी क्षयरोग नियन्त्रणमा अभियान चलाउने तयारी छ । वकालत गर्ने सीप बढाउने, समावेशी क्षयरोग हस्तक्षेप गर्ने लगायतका कार्यक्रमलाई पनि प्राथमिकता दिने परियोजनाको उद्देश्य रहेको संयोजक पाण्डेले बताए ।
बाँके र बर्दियाका स्वास्थ्य कार्यालय, पालिकाका स्वास्थ्य शाखामा आवद्ध क्षयरोग फोकल पर्सन, क्षयरोगबाट मुक्त भएका व्यक्तिहरु सम्मेलित कार्यक्रम भोलिसम्म चल्ने स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी दिइन् । प्रशिक्षण कार्यक्रमको सहजीकरण मनोज नेपाल खुसी खुसीले गरिरहेका छन् ।