कहिलेकाहीं महिलाले योनीमा अचानक पीडा महसुस गर्छन् । कुनैबेला लामो समयसम्म एकै अवस्थामा बस्दा वा यौन सम्पर्क गरेपछि योनीको दुखाइको अनुभव हुनसक्छ । जुन स्वभाविक हो ।
तर कतिपय महिलालाई भने पटक-पटक दुखाइ हुनसक्छ । त्यो दुखाइले दैनिकीमा नै प्रभाव पारेको छ भने त्यसलाई सामान्य र स्वभाविक रुपमा लिनु हुँदैन । यो स्वास्थ्य समस्याको संकेत हुनसक्छ ।
कतिपय महिला गुप्तांगमा दुखाइ भए पनि संकोच मानेर लुकाएर बस्न सक्छन् । कालान्तरमा त्यो सानो समस्या जटिल बन्न सक्छ ।
कारण के हुनसक्छ ?
बार्थोलिनको सिस्ट
योनीमा दुखाइ हुने सतही गाँठो छन् भने दुख्न सक्छ । यो एक प्रकारको संक्रमण हो, जसलाई बार्थोलिन सिस्ट भनिन्छ ।
योनीमा बार्थोलिन ग्रन्थीहरु हुन्छन् । जसमा कुनै कारणले अवरोध भएर तरल पदार्थ जम्मा भई डल्लोको रूप लिन्छ । यदि बार्थोलिन सिस्टको आकार ठूलो छ भने यसले थोरै घर्षण हुँदा पनि पोल्ने र दुखाइ हुनसक्छ ।
के गर्ने ?
यो समस्या भएमा तुरुन्त स्त्रीरोग विशेषज्ञलाई देखाउनुपर्छ । विशेषज्ञले अवस्था हेरेर जमेको तरल पदार्थ निकाली बार्थोलिन ग्रन्थीमा भएको अवरोध खोलिदिन्छन् ।
यौन प्रसारित रोग
यौन प्रसारित रोग ब्याक्टेरिया वा भाइरसले लाग्ने गर्छ । यी दुईको सङ्क्रमण महिलाको यौनांगको भागमा असर गर्छ । जसकारण योनी दुखाइ हुनसक्छ ।
फंगल इन्फेक्सन, पिसाबजन्य संक्रमण, क्लायमेडिया, गोनोरिया, भिरिङ्गी जस्ता रोगले दुखाइ मात्र होइन, चिलाउने, पोल्ने र पिसाब फेर्दा समेत असहज गराउँछ ।
के गर्ने ?
माथि उल्लेखित लक्षण देखिए सरसफाइमा ध्यान दिनुका साथै चिकित्सकलाई जाँच गराउनुपर्छ । यसको जति छिटो उपचार हुन्छ, त्यति छिटो निको पनि हुन्छ । चिकित्सकले अवस्था हेरेर संक्रमणविरुद्ध खाने र लगाउने औषधि दिन सक्छन् । यसको नियमित सेवन गरेमा लक्षण पनि बिस्तारै कम हुँदै जान्छ ।
महिनावारी
कतिपय महिलालाई महिनावारी हुँदा पेटका साथै योनीमा पनि मध्यमदेखि तीव्र दुखाइ हुनसक्छ ।
महिनावारी भएको पहिलो दिन योनीमा भारीपन हुँदै दुखाइ अनुभव हुनसक्छ । तर यो दुखाइ सबैले गर्छन् भने हुँदैन ।
के गर्ने ?
हल्का दुखाइ हुनु सामान्य हो । तर तीव्र दुखाइ भइरहन्छ भने अन्य समस्याको कारण पनि हुनसक्छ । यस्तोमा चिकित्सकलाई देखाइहाल्नुपर्छ ।
फाइब्रोइड
पाठेघरमा फाइब्रोइड हुँदा पनि लक्षणको रुपमा योनीमा दुखाइ हुनसक्छ । फाइब्रोइड ३० देखि ५० वर्षको उमेरको कतिपय महिलालाई हुनसक्छ । फाइब्रोइडको आकार ठूलो छ भने योनीमा दुखाइ र घोचेको अनुभव हुनसक्छ । फाइब्रोइड हुँदैमा आत्तिहाल्नु पर्दैन । किनकि यी फाइब्रोइड क्यान्सरजन्य हुँदैनन् ।
के गर्ने ?
योनीमा कुनै समस्या छैन । तर गुप्ताङ्ग दुखेको, घोचेको र तल्लो ढाड दुखेको अनुभव दैनिकजसो अनुभव हुन्छ भने तुरुन्त चिकित्सकलाई भेट्नुपर्छ ।
चिकित्सकले लक्षणको आधारमा भिडियो एक्स-रे गरेर फाइब्रोइड छ कि भनेर हेर्न सक्छन् । फाइब्रोइड देखिएमा त्यसको बनावट र आकारको आधारमा उपचार प्रक्रिया अगाडि बढ्छ ।
नर्मल डेलिभरी
नर्मल डेलिभरीबाट प्रसूति गराउँदा योनीमा दबाब पर्ने हुँदा दुख्न सक्छ । त्यस्तै, त्यसमा रहेको नरम तन्तु च्यातिएमा टाँका राख्नुपर्ने हुन्छ । यो अवस्थामा पनि अत्यधिक दुखाइ हुन्छ । यसबाट भएको दुखाइ केही दिनमा ठीक हुँदै जान्छ । टाँका लगाइएको केसमा त सो भाग चिलाउने र पोल्ने पनि हुनसक्छ ।
के गर्ने ?
दुखाइ ६ साता भन्दा बढी रहेमा चिकित्सकलाई समस्या उल्लेख गर्नुपर्छ । घाउको अवस्था हेरेर त्यसको उपचार हुनसक्छ ।
योनी सुक्खा हुनु
योनीमा सुक्खापन हुनु आम महिलाको समस्या हो । यो अवस्थामा योनी तन्किएको जस्तो अनुभव हुनसक्छ । जसकारण योनीमा असह्य दुखाइ अनुभव हुन्छ । यो अवस्थामा यौन सम्पर्क गरेमा घर्षण हुँदा योनीमा पोल्ने र दुख्ने हुनसक्छ । योनीमा सुक्खा हुने कारण हर्मोनल परिवर्तन हुनसक्छ । रजोनिवृत्ति हुँदा, तनाव र कुनै औषधिको ओभर डोज हुँदा पनि महिलाको योनीमा चिल्लोपन कम हुन्छ । जसकारण दुखाइ हुनसक्छ ।
के गर्ने ?
चिकित्सकको सल्लाहमा केमिकल रहित लुब्रिकेन्टको प्रयोग गरेमा यो समस्या समाधान हुनसक्छ ।
एन्डोमेट्रिओसिस
एन्डोमेट्रिओसिस एक दुर्लभ समस्या हो । जसमा पाठेघरभन्दा बाहिर रहेको तन्तु बढ्छ । पेटसँगै योनीमा पनि दुखाइ हुनसक्छ ।
एन्डोमेट्रिओसिसले महिनावारी हुँदा रगत पाठेघर बाहिर झरेर जम्मा हुन थाल्छ । यो रगतको कारण, सिस्ट वा गाँठो बढ्न थाल्छ । योसँगै दुखाइ पनि बढ्न थाल्छ ।
सबैभन्दा बढी महिनावारीमा र यौनसम्पर्क गर्दा योनी पोल्ने र दुख्ने गर्छ । यद्यपि एन्डोमेट्रिओसिसका लागि कुनै ठोस उपचार छैन । तर लक्षणहरू व्यवस्थापन भने हुनसक्छ ।
के गर्ने ?
केही दुखाइ व्यवस्थापन र हर्मोन थेरापीले पनि यसको लक्षण कम हुनसक्छ । जुन चिकित्सकको सल्लाहमा मात्र लक्षणको आधारमा दिइन्छ । एन्डोमेट्रियोसिसको आकारप्रकार बढेको छ भने शल्यक्रिया गरेर निकालिन्छ । जसमा अहिले विना चिरफार ल्याप्रोस्कोपी, इन्टरभेन्सनल पद्धति र शल्यक्रियाको सुविधा नेपालमा छ । कतिपय महिलालाई एउटै शल्यक्रियापछि आराम मिल्छ भने कसैलाई तीन–चारवटा शल्यक्रिया गर्नुपर्ने हुन्छ ।