विराटनगर: विराट मेडिकल कलेज विराटनगरले एकै पटक एक हजार नर्सका लागि रोजगारीको अवसर खुला गरेको छ। कलेजले अस्पतालमा नर्सहरुको संख्या कम भएको भन्दै एकैपटक एक हजारका लागि आवेदन माग गरेको हो। मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्र कार्कीले अस्पतालका लागि आवश्यक भएर नै एकैपटक ठूलो संख्यामा रोजगारी खुला गरेको जानकारी दिए।
उनले अन्य अस्पतालमा भन्दा राम्रो सेवा सुविधा दिने गरी नै नर्सहरुको माग गरिएको बताए। ‘अहिले नेपालमा नर्सहरुको अभाव भएको छ। जागिर खाइरहेकाहरु पनि विदेश जाने क्रम बढेका कारण अस्पतालहरुमा नर्सहरु हाहाकार नै हुने अवस्था आइसकेको छ,’ उनले भने, ‘हाम्रो पनि नर्सहरुको अभाव भएकाले आवश्यकताको पहिचान गरेर एक हजार जनाका लागि रोजगारी खुला गरेका हौं।’
डा कार्कीले अस्पतालमा स्टाफ नर्सको बेसिक तलब नै २२ हजार रहेको र नर्सहरुको ग्रेडका आधारमा उक्त तलब सुविधा थप हुँदै जाने जानकारी दिए। उनले कोही नर्सले पाँच वर्षसम्म जागिर छाड्दिन भनेर सम्झौता गर्छ भने उसको तलब सुरुमै ४५ हजार हुने पनि बताए।
डा कार्कीका अनुसार अस्पतालमा हाल दैनिक १५ सयभन्दा बढीले ओपिडी सेवा लिने गरेका छन्। दैनिक दुई सयभन्दा बढी बिरामी अस्पतालमा भर्ना हुन्छन् भने डेढ सय डिस्चार्ज हुन्छन्। अस्पतालमा हाल ४ सय नर्सहरु कार्यरत छन्।