आत्महत्या रोकथाम सम्बन्धि नेपालगन्जमा प्रदेश स्तरीय अन्तरक्रिया सुरु

    • स्वास्थ्य पेज

  • ७ आश्विन २०८१, सोमबार

नेपालगन्ज: नेपालमा आत्महत्याको अवस्था भयावह देखिएको छ । नेपालगन्जमा आज आयोजित आत्महत्या रोकथाम सम्बन्धि सुरक्षा निकायका प्रतिनिधि तथा सरोकारवालाहरुसँगको प्रदेश स्तरीय अन्तरक्रियामा कार्यक्रममा प्रस्तुत तथ्यांकले अवस्था भयावह देखाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको उक्त कार्यक्रममा बिभागका नसर्ने रोग प्रमुख डा पूमावती थापाले गएको आर्थिक वर्ष २०८०/०८१ मा नेपालमा सात हजार २२३ जनाले आत्महत्या गरेको तथ्यांक प्रस्तुत गरिन ।

अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा छ हजार ९९३ जनाले आत्महत्या गरेका थिए । यो संख्या २२३ ले बढी हो । यो हिसाबले हेर्दा नेपालमा दैनिक २० जनाले आत्महत्या गर्ने गरेको देखिन्छ । आत्महत्याका विभिन्न कारणहरुमध्ये मनोसामाजिक, सामाजिक तथा आर्थिक अभाव प्रमुख देखिएका छन् ।

मानसिक अस्पतालका मानसिक रोग विशेषज्ञ डा बासुदेव कार्कीले आत्महत्या गर्नुको कारण चरम निराशा पनि एक भएको बताए । व्यक्तिलाई आत्महत्याबाट रोक्न उसले देखाउने पूर्व संकेतको पहिचान गरेर उचित परामर्श र उपचारनै भएको डा कार्की बताउँछन् ।

पछिल्लो समय मानसिक समस्या र नसर्ने रोगको जोखिम बढ्दै गएकाले यसको रोकथामका लागि तीनै तहका सरकारले योजना बनाउन आवश्यक रहेको सरोकारवालाहरुको सुझाव छ । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आत्महत्या रोकथामका लागि नीतिनै बनाएर काम गरिने प्रतिबद्धता जनाए ।

उनले मानसिक स्वास्थ्य समस्या समाधानका लागि परामर्श सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए । प्रहरीले मात्रै आत्महत्या रोकथाम गर्न नसक्ने भन्दै उनले परिवार र समाजको पनि भूमिका जरुरी रहेको उल्लेख गरे । अन्तरक्रियामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्बद्ध सरोकारवालाहरुको सहभागिता रहेको छ ।

स्वास्थ्य कार्यालय बाँकेक प्रमुख अंगत बहादुर शाहीको अध्यक्षता आयोजित अन्तरक्रिया कार्यक्रममा भिमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम रेग्मी, जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुल बहादुर कार्की, शशस्त्र प्रहरीका एसपी बिमल डाँगी, भेरी अस्पतालका नर्सिङ प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठ, बर्दिया अस्पतालका मेसु डा सुभाष पाण्डे लगायतको समेत उपस्थिति रहेको छ । कार्यक्रम आज दिनभरी चल्ने स्वास्थ्य सेवा बिभागका वरिष्ठ जनस्वास्थ्य अधिकृत दिपकराज भट्टले जानकारी दिए ।

तस्वीर:

 

  • ७ आश्विन २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech