राप्तीसोनारीद्वारा सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण 

    • स्वास्थ्य पेज

  • १ आश्विन २०८१, मंगलवार

कोहलपुर: बाँकेको राप्तीसोनारी गाउँपालिकाले पूर्वपश्चिम राजमार्गमा हुने सडक दुर्घटना तथा पालिकाको सिमा क्षेत्रबाट सर्पदंशका विरामी उद्दारका लागि सहज बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण हेड क्वाटर शम्शेरगञ्जलाई एम्बुलेन्स सञ्चालनका लागि हस्तान्तरण गरेको छ ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल र सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण हेड क्वाटर शम्शेरगञ्जका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक क्षितिज क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेपछि एम्बुलेन्स हस्तान्तरण  गरिएको हो ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पौडेलले पालिकाको स्वामित्वमा रहेको एम्बुलेन्स पूर्वपश्चिम राजमार्गमा हुने सडक दुर्घटना तथा पालिकाको सिमा क्षेत्रबाट सर्पदंशका विरामी उद्दारका लागि सञ्चालन गर्न सहज हुने बताए । उनले पालिकामा ७–८ वटा एम्बुलेन्स रहेको र आवश्यक जनशक्तिको अभावका कारण सर्पदंश केन्द्रमा रहेको एम्बुलेन्स सञ्चालनका लागि सशस्त्र प्रहरीसंग एम्बुलेन्स सञ्चालनको सम्झौता गरिएको स्पष्ट पारे ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालगन्जका मेयर प्रशान्त विष्टले विपदको बेलामा उद्दारमा खटिनका लागि उपकरणको आवश्यक पर्ने भएकोले आफु सहकार्य गर्न ईच्छुक रहेको बताए । उनले राप्तीसोनारी गाउँपालिकाले विपदको बेलामा उद्दारमा सहज पुर्‍याउने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरेर सशस्त्र प्रहरी बललाई बलियो बनाउने काम गरेको भन्दै प्रशंशा गरे ।

जिल्ला विपद व्यवस्थापन समिति बाँकेका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले विपदमा उद्दारका लागि सशस्त्र प्रहरीलाई एम्बुलेन्स उपलब्ध गराएकाले आपतकालीन अवस्थामा राहत मिल्ने बताए ।

पूर्वपश्चिम राजमार्गको शिब खोलादेखि कोहलपुरको सिमा क्षेत्रसम्म हुने सडक दुर्घटनाका प्रभावितलाई उद्दारको लागि एम्बुलेन्सले मद्दत पुग्ने सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण हेड क्वाटर शम्शेरगंजका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक क्षितिज क्षेत्रीले बताए ।

  • १ आश्विन २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech