काठमाडौंः चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा २०७२ वैशाखको भूकम्पपछि बन्द रहेको जलनका बिरामीको उपचार सेवा पुनः सुरु भएको छ । सेवा सुरु भएसँगै बर्न वार्डमा जलनका सामान्य बिरामीलाई उपचार गर्न अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता टरेको अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बताए । बर्न वार्डमा १० जनरल बेड, ५ आइसियू र तीन वटा अप्रेशन थिएटर रहेका छन् । नेपालमा जलनको उपचारको सुरूवात वरिष्ठ प्लाष्टिक सर्जन डा केशवदास जोशीले २०४३ सालदेखि वीर अस्पतालमा सुरू गरेका थिए ।
नेपालजस्तो अल्पविकसित देशमा जलनको समस्या भयावह छ । चिकित्सकहरुका अनुसार जलनमा पर्ने धेरैजसो बिरामी दूरदराज र विपन्न वर्गका हुन्छन् । नेपाल सरकारले जलनका घाइतेहरूलाई नै उपचार गर्ने भनेर अस्पताल बनाएको छैन । सबै खाले उपचार हुने ठुला अस्पतालमा ५ देखि १० वेडको जलन उपचार विभाग तोकिए पनि दक्ष जनशक्ति नहुँदा काठमाडौं नै रेफर गर्ने चलन छ ।
‘जलनबाट बढी प्रभावित गरिब तथा विपन्न वर्गका हुन्छन् । सरकारी संस्थाले उहाँहरुको उपचार नगर्दा उपचारका लागि खेतबारी नै बेच्नुपर्ने अवस्था थियो,’ डा पौडेलले भने, ‘ अबदेखि वीरले सर्वसुलभ र गुणस्तरीय सेवा दिन्छ ।’ हाल नेपालमा सबैभन्दा बढी सेवा दिइरहेको कीर्तिपुर अस्पतालमा शरीरको बाहिरी भाग जलेकामा ३० प्रतिशत र श्वासनली जलेकोमा ६० प्रतिशतभन्दा बढी मृत्युदर छ । उपत्यकाका ८ प्रतिशत र काठमाडौं बाहिरका ९२ प्रतिशत जलनका बिरामी आउने गरेको कीर्तिपुरको तथ्यांकले देखाउँछ । बढी जलनका घटना मधेश प्रदेशमा हुने गरेको छ ।
अस्पताल बसाई लामो र जलनको बिरामीको स्वास्थ्य अवस्था जटिल हुने भएकाले उपचार खर्चिलो हुन्छ । एक अध्ययनअनुसार जलेका बिरामीको ६० प्रतिशतभन्दा बढी पैसा औषधि किन्दा सकिन्छ । कमजोर आर्थिक अवस्था भएकाहरु नै बढी जलनको समस्यामा पर्छन् । उपचारमा पटक–पटक शल्यक्रिया र मंहगो औषधि लाग्ने हुँदा उनीहरुको सर्वस्व सकिने अवस्था आउँछ ।
सरकारले जलनका बिरामीलाई उपचारमा सहुलियत दिने गरेको छैन । डा पौडेलका अनुसार शुक्रबार जलन उपचार केन्द्र उद्घाटन गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जलनका बिरामीलाई एक लाख सहुलियत दिने आश्वासन दिएका छन् । ‘सरकारले ८ वटा कडा रोग लागेका बिरामीलाई एक लाख सहुलियत दिँदै आएको छ । जसमा जलनका बिरामीलाई समावेश गर्दै नीतिगत निर्णय गरेको जानकारी दिनुभएको छ,’ डा पौडेलले भने, ‘यसो हुँदा गम्भीर जलन भएका बिरामीलाई निःशुल्लक उपचार गर्न सकिन्छ कि ।’