नेपालगन्जः बाँकेको नरैनापुरमा पछिल्लो डेढ सातामा पाँच जनाको मृत्यु भइसकेको छ । पछिल्लो पटक नरैनापुर गाउँपालिका–६ गङ्गापुरस्थित सोनवर्षा निवासी ३० वर्षीया निर्मला पासीको उपचारका क्रममा मृत्यु भएको छ। पासीलाई १८ गते राति बान्ता भएपछि स्थानीय मेडिकलमा जाँच गराई बुधबार नेपालगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
उनको उपचारकै क्रममा बुधवार मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए । योसँगै एउटै प्रकृतिको वान्ता हुने, झाडापखाला, पेट दुख्ने, जलवियोजन, उच्च ज्वरो लगायतका लक्षण चिन्हबाट नरैनापुरमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नरैनापुर गाँउपालिका–३ गेग्ली गाउँमा एउटै घरका तीन जना र अन्य एक जना सहित चार जनाको मृत्यु भएको थियो ।
२६ वर्षीय उषादेवी पासी, उनकी १ वर्षीय छोरी नन्दनी पासी र काकी नाता पर्ने ७२ वर्षीया कान्ति पासीको मृत्यु भएको थियो भने १० वर्षीय युसुफ अलि शेषको पनि मृत्यु भएको थियो । तीन चार दिनको फरकमा मानिसहरु मृत्यु भइरहेको सूचना पाएपछि स्वास्थ्य कार्यालयको टोलि १७ गते नरैनापुर पुगेको थियो ।
झाडापखलाबाट नै मानिसहरुको मृत्यु भएको स्थानीयबासीको सूचनाका आधारमा संचारकर्मीले समाचार सम्प्रेशन गरे । तत्काल स्वास्थ्य कार्यालयको टोलिले दिसा र पानीको ल्याव परीक्षण गर्यो । न दिसामा हैजाको जिवाणु भेटियो न त पानीमा किटानु नै भेटियो ।
रैनापुरमा झाडापखलाको महामारी छैन तर फ्याटफ्याट किन मानिसको मृत्यु भइरहेको छ ? जवाफमा स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी श्रेष्ठ भन्छन् -‘महामारी फैलिएको छैन । सबैको झाडापखलाका कारण मृत्यु भएको होइन् । एक जना बालिकाको छालाको संक्रमण बढ्दै जाँदै मृत्यु भएको देखिन्छ भने बालकको उच्च ज्वरोको कारण मृत्यु भएको देखिन्छ । अन्य तीन जनाको भने समयमै उपचारका लागि अस्पताल नजानु र शरीरमा पानीको मात्रा कम भएर मृृत्यु भएको देखिन्छ ।’
झाडापखालाकै कारण मृत्यु भएको भए अहिलेसम्म गाउँमा महामारीको रुपमा लिइसक्ने उनको भनाइ छ । अहिले गाउँमा झाडापखालाको महामारी नभएको उनले बताए । निश्चित घर र परिवारमा केही लक्षण देखिएको छ । तर समयमै सरसफाई, खानपिनमा ध्यान दिने र स्वास्थ्यकर्मीसँग परामर्श लिने हो भने अहिले देखिएका लक्षण चिन्हबाटै मानिसको मृत्यु हुन नसक्ने श्रेष्ठ बताउँछन् ।
प्रभावित भएको भनिएको गाउँ असाध्यै पिछडिएको उनले बताए । त्यहाँ विपन्न समुदाय छन् । सरसफाईको अवस्था नाजुक छ । खानपिनमा पनि सावधानी नपनाएको पाइएको छ । खानपिन नमिल्दा वान्ता हुने, पखालापनि लाग्ने र शरीरमा पानीको मात्रा कम हुँदा विरामीको ज्यान गएको अनुमान स्वास्थ्यकर्मीको छ ।
अहिले गङ्गापुरका स्थानीयवासी स्वास्थ्यचौकीमा परीक्षणका लागि आउनेक्रम बढेको स्वास्थ्यकर्मीहरु बताउँछन्। ‘यो बेला मौषमी ज्वरो, आउँमासी, पेट दुख्ने समस्या प्रायः हुने गर्दछ, स्वास्थ्यचौकीमा आज पनि झाडापखालाको लक्षण भएका केही बिरामी उपचारका लागि आएका छन्”,चौकी इन्चार्ज भरतराज बुढाथोकीले भने- ‘झाडापखालाको प्रकोप छैन, तर एकजनाको ज्यान गएपछि स्थानीयवासी डर त्रासले स्वास्थ्यचौकीमा जाँचका लागि आउनेक्रम बढेको छ।’
स्वास्थ्यचौकीमा बिहीबार एकैदिन एक सय छ जना ज्वरो, आउँ र झाडापखालाको समस्या लिएर आएको उनले जानकारी दिए। जसमध्ये ४५ जनाले आउ र पखालाको लक्षण देखिएको छ। त्यसमध्ये तीनजनामा जलवियोजनको अवस्था पाइएपछि औषधोपचार गरेको बुढाथोकीको भनाइ छ।
नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले हाल मौषमी ज्वरो, आउँ, पेट दुख्ने समस्या देखिरहेको उल्लेख गरे। गाउँमा गएर बुझ्दा अवस्था नियन्त्रित अवस्थामै रहको पाइएको उनले बताए। गाउँपालिकामा कुनै पनि किसिमको सङ्क्रमण फैलिन नदिन आफूहरूको ध्यान केन्द्रित भएको र स्वास्थ्य टोली गाउँमा खटाएर बिरामीलाई उपचारमा ल्याउन र सचेतीकरण गर्ने काम गरिरहेको स्वास्थ्य शाखा संयोजक साहले बताए।