भरतपुर: डेंगुको संक्रमणबाट चितवनमा थप एकजनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुषको डेंगुको संक्रमणबाट उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । उपचारका लागि शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिए ।
उनका अनुसार बिरामीमा कडा खालको डेङ्गी देखिएको थियो । शरिरका विभिन्न भागबाट रक्तश्राव भई अङ्गहरुले काम गर्न छाडेर (मल्टि अर्गान फेलर) उनको मृत्यु भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । यसअघि शनिबार चितवन मेडिकल कलेजमा भरतपुर–२ का एक वृद्धको डेङ्गीको सङ्क्रमणकै कारण मृत्यु भएको थियो ।
जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय ८८ जनामा डेंगुको संक्रमण देखिएको छ ।