सुर्खेत अस्पताल र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच क्यान्सर सेवा विस्तार सम्बन्धि सम्झौता

    • स्वास्थ्य पेज

  • १८ भाद्र २०८१, मंगलवार

नेपालगन्जः सुर्खेत प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु हुने भएको छ । मंगलबार विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सुर्खेत प्रादेशिक अस्पतालमा सेवा विस्तार गर्ने सम्झौता गरेको छ । यससँगै सुर्खेतमा समेत क्यान्सर उपचार सुरु हुने निश्चित भएको हो ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा शिवजी पौडेल तथा सुर्खेत प्रादेशिक अस्पतालका तर्फबाट निर्देशक डा डम्बर खड्काले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतामा विपी कोइराला मेमोरियल अस्पतालले सुर्खेत प्रादेशिक अस्पतालमा बहिरंग, अन्तरंग तथा उपचार समेटेर सेवा प्रदान गर्नुपर्ने उल्लेख छ ।

यसैगरी, सुर्खेत प्रादेशिक अस्पतालले भने आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने सम्झौतामा छ । यसअघि यस्तो सेवाका लागि कोशी प्रदेश अस्पतालसँगसमेत विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट सम्झौता भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ३१ असारमा पदभार सम्हाल्दा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका थिए ।

जसले क्यान्सर उपचार सेवालाई सातवटै प्रदेशमा विस्तार गर्ने लक्ष्य बोकेको थियो । त्यसलगत्तै गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने घोषणा गरेका थिए ।डर

  • १८ भाद्र २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech