लाहान: मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले लहानस्थित प्रादेशिक अस्पतालको छड्के अनुगमन गरेका छन् । शुक्रबार साँझ अस्पतालमा उनले छड्के अनुगमन गरेका हुन् ।
साँझ साढे ८ बजे अचानक मुख्यमन्त्री सिंह रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानमा पुगेका थिए । अस्पताल अनुगमनका क्रममा उनले अस्पतालको समग्र अवस्थाका बारेमा जानकारी लिए ।
त्यसक्रममा मुख्यमन्त्री सिंहले चिकित्सक र त्यहाँका कर्मचारीसँगै सेवाग्राहीसँग समेत कुराकानी गरे । उनले अस्पतालमा सेवा प्रवाह, सरसफाई, चिकित्सक कर्मचारीको अनुपस्थिति लगायतका समस्या देखिएको भन्दै त्यी समस्याहरू तत्कालै समाधान गर्न अस्पताल प्रशासनलाई निर्देशन समेत दिएका छन् ।
मुख्यमन्त्री सिँहले सर्वसाधारणको उपचारमा कुनै पनि किसिमको सम्झौता नगर्न अस्पतालका कर्मचारीहरूलाई निर्देशन दिएका हुन् । उनले अस्पतालका जनशक्ति र स्वास्थ्य उपकरणको विषयमा पनि चासो लिएका थिए।
मुख्यमन्त्री सिँहले पछिल्लो समय प्रदेश सरकार मातहतको स्वास्थ्यसंस्था लगायत विभिन्न संस्थाको छड्के निरीक्षण गर्ने गरेका छन् । यसअघि उनले जनकपुरधामस्थित प्रादेशिक अस्पताल र जलेश्वरस्थित प्रादेशिक अस्पतालमा समेत निरीक्षण गरेका थिए ।