बुटवल: उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा बन्न लागेको १२ सय शैय्याको प्रादेशिक अस्पताल भवन निर्माणको जनस्तरबाट नियमित निगरानी हुनुपर्ने बताएका छन् । बुटवलमा लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवनको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले आयोजना सम्पन्न गर्नका लागि जनस्तरबाट निगरानी गर्नुपर्ने भन्दै समयमै निर्माणको काम सक्न निर्माण कम्पनीलाई निर्देशन पनि दिएका छन् । अस्पताल भवन लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना र बुटवलकै ठूलो पूर्वाधार भएकाले निर्माण कम्पनीलाई गुणस्तरीय काम गराउन खबरदारीका लागि जनस्तरबाट निगरानी हुनुपर्नेमा अर्थमन्त्री पौडेलले जोड दिएका हुन् ।
अस्पतालको निर्माण ठेक्का समयमै काम सकेर स्याबासी कमाउन प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई उनले आग्रह गरेका छन् । तीन वर्षमा सक्छु भनेको काम नसकेर पछुताउने अवस्था नआओस् भन्दै उनले भनेकै अवधिमा काम पूरा हुने विश्वास व्यक्त गरे ।
उनले अस्पतालको भवन निर्माण सँगसँगै जनशक्ति र उपकरण व्यवस्थापनको प्रकृया पनि बेलैमा थालेर भवन पूरा हुँदा पूर्ण क्षमतामा सेवा सञ्चालन पनि एक साथ गर्न सकिने गरी काम गर्न प्रदेश सरकारलाई सुझाव दिए । १२ सय शैयाको अस्पतालमा ठूलो संख्यामा दक्ष जनशक्ति आवश्यक पर्ने भन्दै अर्थमन्त्री पौडेलले विशेषज्ञ चिकित्सकसहित जनशक्तिको व्यवस्थापनमा मुख्य ध्यान दिनुपर्ने बताए । अस्पताल भवन बन्दैमा अत्याधुनिक उपकरण छैन भने प्रभावकारी उपचार नहुने भन्दै पौडेलले सबै हिसावले सुविधासम्पन्न अस्पताल बन्न जरुरी रहेको बताए ।
यस्तै उनले विकास निर्माणका काममा सत्ता पक्ष प्रतिपक्षसँग सँगसँगै हिँड्नुपर्ने बताएका छन् । विकास सवैका लागि भएकोले त्यसमा सत्ता पक्ष र प्रतिपक्ष सबैले मिलेर जानुको विकल्प नभएको उनको भनाइ थियो । रुपन्देही क्षेत्र नम्बर- २ का प्रतिनिधिसभा सदस्य समेत रहेका अर्थमन्त्री पौडेलले आफू राजनीतिभन्दा माथि उठेर सत्ता पक्ष र प्रतिपक्ष नभनी सबैसँग हातेमालो गरेर रुपन्देहीलाई विकासमा नमूना बनाउन चाहेको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अस्पताल भवनले सिंगो प्रदेशको मात्र नभएर देशकै स्वास्थ्य क्षेत्रलाई परिवर्तन गर्ने बताए । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले नयाँ बन्ने अस्पतालको भवनले आधुनिक अस्पतालको आवश्यकतालाई पूरा गर्ने बताए । यो प्रदेशकै गौरवको आयोजना भएकाले प्रदेश सरकारले यसको सही व्यवस्थापन गर्नुपर्ने सभामुख घर्तीको भनाई छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले अस्पतालको हालको अवस्थाबारे जानकारी गराउँदै स्तरोन्नतीपछि यो नमूना अस्पताल बन्ने बताए । अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ ।