१८ वर्षमै कौशिलाले जन्माइन् तिम्ल्याहा बच्चा

    • स्वास्थ्य पेज

  • १२ भाद्र २०८१, बुधबार

नेपालगन्जः रुकुमपश्चिमको सानीभेरीमा रहेको गाउँपालिका अस्पतालमा एक महिलाले १८ वर्षको उमेरमा तीन जना बच्चाको जन्म दिएकी छन् । चौरजहारी नगरपालिका १४ घर भइ हाल सानीभेरी गाउँपालिका ८ स्थित माइती घरमा बस्दै आएकी १८ वर्षीया कौशिला पुनले तिम्ल्याहा बच्चा जन्माएकी हुन् । अस्पतालका स्टाफ नर्स अम्बिका ओलीका अनुसार बुधवार बिहान ८ः१५, ८ः३७ र ९ः०० बजे पुनले तीन बच्चा जन्माएकी हुन् ।

जन्मिएका नवजात शिशु दुई छोरी र एक छोरा हुन् । स्टाफ नर्स ओलीका अनुसार पुनले समय पूरा नहुँदै (करिब २८ हप्तामै) तीन बच्चाको जन्म दिएकी हुन् । सामान्यतया ४० हप्ताको अवधिमा बच्चाको जन्म हुने आँकलन गरिएको हुन्छ । सुत्केरी व्यथा लागेर आफैँ अस्पताल पुगेकी पुनको स्वास्थ्य अवस्था भने सामान्य छ ।

शुरुमा जन्मिएका दुई छोरीको अवस्था सामान्य र तौल एक किलो रहेको छ भने अन्तिममा जन्मिएका छोराको तौल नौ सय ग्राम मात्र छ । तौल पनि कम र श्वासप्रश्वासमा केही समस्या देखिएपछि बच्चालाई अक्सिजनसहित सुविधासम्पन्न अस्पतालमा आवश्यक समन्वय गरेर पठाइएको उनले जानकारी दिइन् । स्टाफ नर्स ओलीका अनुसार गाउँपालिका अस्पताल स्थापना भएयता तिम्ल्याहा बच्चा जन्मिएको पहिलो पटक हो ।

जुम्ल्याहन बच्चा जन्माएको घटना फेस गरेको भएपनि पहिलोपटक तिम्ल्याहा बच्चा जन्मिएको घटना फेस गरेको उनले जनाइन् । गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले तिम्ल्याहा बच्चा विरलै जन्मिने गरेको बताए । सुत्केरी र नवजात शिशुलाई गाउँपालिका एम्बुलेन्समार्फत अस्पताल इन्चार्ज कर्णवीर केसीको साथमा नेपालगञ्ज लगिएको अध्यक्ष विष्टले जानकारी दिए । गाउँपालिकाले गर्भवती, सुत्केरी र दैवी प्रकोपमा परेर बिरामी तथा घाइतेहरुलाई निःशुल्क एम्बुलेन्स सेवा दिने गरेको छ ।

  • १२ भाद्र २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech