पवन जायसवाल ।
नेपालगन्जः बाँकेको नेपालगन्जमा जोङ्ग नेपालगन्ज क्यासिनोद्वारा “रक्तदान जीवनदान” मूल नाराका साथ दोस्रो पटक आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी ५६ जनाले आज रक्तदान गरेका छन् । नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१९ छकुन्ने चौक स्थित माजोङ्ग नेपालगन्ज क्यासिनो ब्यान्क्वेट हल सोल्टी होटल नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका मेयर तथा प्रमुख अतिथि प्रशान्त बिष्टले पानसमा दीप प्रज्वलित गरी र रगत संकलन गर्नु पाकेट प्रमुख अतिथि प्रशान्त बिष्ट र माजोङ्ग नेपालगन्ज क्यासिनोका महाप्रबन्धक (जिएम) नीरज कुमार प्रधानले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको हो ।
उद्घाटन गर्दै प्रमुख अतिथि प्रशान्त बिष्टले यो मानवीय कार्य हो, जुन अरुको जीवनलाई बचाउछ, रक्तदान जस्तो अरु कुनै ठूलो दान छैन । नेपालगन्ज बाहेक बाँके जिल्लाका विभिन्न अस्पतालहरुमा विभिन्न जिल्लाबाट उपचार गराउन आएका बिरामीलाई रगतको अभाव नहोस भन्ने उद्देश्यले माजोङ्ग क्यासिनोले रक्तदान कार्यक्रमको आयोजना गरी आफ्नो सामाजिक उत्तरदायित्व प्रकट गरेको छ भन्दै आयोजक संस्थालाई धन्यवाद व्यक्त गरे ।
बाँके जिल्लाका विभिन्न २४ वटा अस्पतालहरुमा विभिन्न जिल्लाबाट उपचारका लागी आएका बिरामीहरुलाई दैनिक १ सय पिन्ट रगतको माँग हुने गर्दछ । आफूहरुले यो सानो प्रयास गरिएको माजोङ्ग क्यासिनोका महाप्रबन्धक नीरजकुमार प्रधानले जानकारी दिए । क्यासिनोले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आई रहेको छ । त्यस मध्येमा रक्तदान कार्यक्रम रहेको छ । गत वर्ष पनि माजोङ्ग नेपालगन्ज क्यासिनोद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो यो दोस्रो पटक आयोजना गरी झन टेवा पुराएको छ ।
उनले नेपालगन्ज उप–महानगरपालिकाको सौन्दर्यकरणमा समेत सहभागिता जनाउनका लागी माजोङ्ग नेपालगन्ज क्यासिनो परिवारलाई आग्रह समेत गरेका छन् । उक्त कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, सन्दिप आचार्य, सुनिल रत्गैया, गुञ्जा कनौजिया, सञ्जय बढही र बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए । कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका कार्यपालिका सदस्य बसन्त कुमार कनौजिया, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाल, क्यासिनोका पदाधिकारी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।