संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

    • स्वास्थ्य पेज

  • ५ भाद्र २०८१, बुधबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधबार मन्त्रालय र केन्द्रबीच सो सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरे ।

अस्पतालमा खेर गइरहेका उपकरण मर्मत गर्नका लागि सघाउन मन्त्री पौडेलले केही दिनअघि पुनसँग आग्रह गरे । त्यसलगत्तै मन्त्रालयले केन्द्रसँग औपचारिक सम्झौता गरेको हो ।

सो क्रममा मन्त्री पौडेलले अस्पतालमा मर्मत अभावमा उपयोगमा आउन नसकेका उपकरणलाई केन्द्रको सहयोगमा मर्मतपछि उपचार सेवामा सहजता आउने विश्वास व्यक्त गरे ।

केन्द्रको सहयोगमा राज्यको खेर गैरहेको सम्पत्तिको उपयोगबाट बिरामी पनि लाभान्वित हुने र उपकरण खरिदका लागि हुने खर्चसमेत कम हुने उनको धारणा छ ।

केन्द्र प्रमुख पुनले राज्यले आफूहरूलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको भन्दै खुशी प्रकट गरे । यसले आफूहरूलाई हौसला दिएको भन्दै मन्त्री पौडेललाई धन्यवादसमेत दिए ।

अब केन्द्रले हाल मन्त्रालयअन्तर्गतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिनेछ । त्यसपश्चात मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरुले मर्मत गर्ने बताइएको छ ।

  • ५ भाद्र २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech