नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिका–८ बालापुरमा एक जना बालिकामा एचआइभी संक्रमित भएको थाहा पाएपछि अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई विद्यालय पठाउन छाडेका छन् ।
जनशक्ती मावि वालापुरमा कक्षा एक मा अध्ययन गर्ने बालिकामा एचआइभी संक्रमित भएको थाहा पाएपछि अभिभावकहरुले आफ्ना बालबालिका विद्यालय पठाउन छाडेका हुन् । पछिल्लो एक हप्तादेखि कक्षा १ मा ४-५ जना मात्र विद्यार्थी उपस्थित हुने गरेका छन् ।
उक्त कक्षामा १७ जना बालबालिका अध्ययनरत छन् । एचआइभी सर्ने भन्दै अभिभावकले विद्यार्थी पठाउन छाडेको हुन् । विद्यालयका प्रअ मोहन खत्रीले पनि ती बालिका एचआइभी संक्रमित भएको थाहा पाएपछि अन्य अभिभावकहरुले आफ्ना बालबालिका विद्यालय पठाउन छाडेको बताए ।
‘आफ्ना बालबालिकाहरुलाई पनि सर्छ की भन्ने गलत बुझाई अभिभावकहरुमा पर्न गएको छ उनले स्वास्थ्य पेजलाई भने–‘सम्झाउने प्रयास गरिरहेका छौ । विस्तारै अभिभावकहरुले बुझ्नु होला ।’
उनले भोलि शुक्रबार अभिभावक भेलाको समेत बोलाइएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गौतमले पनि कक्षा १ मा अध्ययनरत बालिकामा एचआइभी संक्रमित भएको थाहा पाएपछि अभिभावकहरुमा त्रास फैलिएको बताए ।
‘एचआइभी संक्रमण सँगै बस्दा, सँगै खाँदा र खेल्दा नसर्ने भएपनि अभिभावकहरुमा चेतनाको अभावका कारण गलत बुझाइको आतंक छ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतमले स्वास्थ्य पेजलाई भने–‘मेडमहरुलाई घरघरमा पठाएर अभिभावकहरुलाई सम्झाउने काम गरिरहेका छौं ।’ वुवा र आमा दुवै एचआइभी संक्रमित हुँदा चार वर्षीया ती बालिकालाई पनि संक्रमण पुष्टि भएको थियो ।
कुनै बेला एचआइभी/एड्स भन्नेबित्तिकै ज्यानै जाने रोग बुझिन्थ्यो। कारण, यस रोगका लागि औषधि थिएन। पछिल्लो समय औषधिको पहुँचका कारण एचआइभी संक्रमितलाई पनि सामान्य रूपमा लिइन्छ।
यौन, चर्म तथा सरुवारोग विशेषज्ञ डा. अनुपराज बास्तोला
यो रोग कसरी सर्छ ?
मुख्य संक्रमित व्यक्तिले अर्को व्यक्तिसँग असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित आमाबाट जन्मेको बच्चामा, संक्रमित कीट तथा सुईको प्रयोग अर्को मानिसले गरेमा र संक्रमित रगत कुनै पनि बिरामीलाई चढाएमा यो रोग सर्छ।
समाजमा एचआइभी सक्रमितलाई हेयको दृष्टिले हेरिन्छ, वास्तविकता के हो ?
यो सही हो। तर पहिलाको तुलनामा केही सुधार भएको छ। तैपनि एचआइभी संक्रमण भन्नेबित्तिकै समाजले नराम्रो रोगको रूपमा लिने भय बिरामीमा देखिन्छ र समाजले अहिले पनि हेयको दृष्टिले हेर्छ। त्यही कारण संक्रमितहरू समाजले थाहा पाउने र घृणा गर्ने भयले स्थानीय स्वास्थ्य संस्थाभन्दा फरक ठाउँमा उपचारमा पुग्छन् र औषधि सेवन गर्छन्। तर एचआइभी भएकालाई घृणा गर्नुको सट्टा समयमै उपचारमा पुग्ने र पु¥याउने काम गरेमा एच आइभीको असर घटाउन सकिन्छ।
उपचारको अवस्था कस्तो छ ?
नेपालमा पछिल्लो समय उपचारको अवस्था राम्रो छ। अहिले सबै एचआइभी संक्रमितका लागि सरकारले एआरटी औषधि उपलब्ध गराइरहेको छ। एआरटी औषधिको नियमित सेवन गरेर संक्रमित धेरै वर्ष बाँचिरहेका छन्। एचआइभी संक्रमित आमाहरूले पनि सुरक्षित बच्चा जन्माएर डाक्टर, इन्जिनियर बनाइसकेका छन्।