भेरी अस्पतालबाट शल्यक्रिया लिनेको संख्या बढ्यो

    • प्रियास्मृति ढकाल

  • ३० श्रावण २०८१, बुधबार

नेपालगन्ज: नेपालगन्ज स्थित भेरी अस्पतालमा एक वर्षमा साढे तीन हजार बढी शल्यक्रिया गरिएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रेषण अस्पतालको रुपमा रहेको भेरीमा गत आर्थिक वर्ष २०८०-०८१ मा तीन हजार सात सय ८८ जनाको शल्यक्रिया गरिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.प्रकाश बहादुर थापाले जानकारी दिए । आर्थिक वर्ष २०७९-०८० मा भेरी अस्पतालमा तीन हजार दुई सय ३२ वटा शल्यक्रिया भएका थिए ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा पाँच सय २५ वटाले बढी हो । आर्थिक वर्ष २०८०-०८१ मा तीन हजार सात सय ८८ जनाको शल्यक्रिया गरीएका मध्ये दुई हजार आठ सय ६० वटा जटिल शल्यक्रिया भएका छन् । त्यसैगरी तीन सय ४५ वटा मध्यम खालका र पाँच सय ८३ वटा सामान्य खालका शल्यक्रिया भएको पनि डा.थापाले बताए । सबैभन्दा धेरै प्रसूति तथा स्त्रीरोग विभागमा एक हजार सात सय ५६ वटा शल्यक्रिया भएको छ ।

त्यसमा एक हजार छ सय ७६ वटा जटिल खालका शल्यक्रिया भएका छन् । त्यसैगरी मध्यमखालका २३ र सामान्य खालका ५७ वटा शल्यक्रिया भएका छन् । त्यसैगरी नौ सय ८३ वटा जनरल सर्जरी विभाग अन्तर्गत शल्यक्रिया भएको छ । तीमध्ये चार सय ४८ वटा जटिल, एक सय ४५ मध्यम र तीन सय ९० वटा सामान्य खालका शल्यक्रिया गरिएको छ ।

हाडजोर्नी विभागतर्फ पाँच सय ६५ वटा शल्यक्रिया भएको अर्थोपेडिक सर्जन समेत रहेका निमित्त मेसु डा.थापाले बताए । उनका अनुसार चार सय २२ वटा जटिल, ९७ वटा मध्यम र ४६ वटा सामान्य खालका शल्यक्रिया भएका छन् । उनले ५५ वटा अर्थोस्कोपी गरिएको पनि बताए । नाक, कान र घाँटी विभाग अन्तर्गत जटिल एक सय २५, मध्यम १६ र सामान्य ९० गरी दुई सय ३१ वटा शल्यक्रिया भएका छन् । यस्तै हाइड्रोसिलका ६४, ग्यास्ट्रो सर्जरीका ५४, स्पाइनल केस (न्यूरो) चार, स्पाइनल केस (अर्थो) ४० वटा शल्यक्रिया भएको छ ।

अस्पतालमा शल्यक्रिया सेवा लिनेको चाप छ । तर अप्रेशन थ्रियटरको सीमितता, जनशक्तिको अभाव लगायतका कारणले शल्यक्रिया सेवालाई थप प्रभावकारी गराउन भने नसकिएको अस्पतालले जनाएको छ ।

  • ३० श्रावण २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech