स्तन क्यान्सर, महिलालाई बढी हुने रोग हो। स्तन क्यान्सरका कारण वर्षेनि थुप्रै महिलाले ज्यान समेत गुमाउनुपरेको छ। महिलामा पाठेघरको मुखको क्यान्सर पछि सबैभन्दा बढी हुने भनेको स्तन क्यान्सर रहेको चिकित्सकहरु बताउँछन् ।
के हो त स्तन क्यान्सर ?
शरीरको कुनै पनि अंगमा हुने कोशिकाहरुको अनियन्त्रित वृद्धि नै क्यान्सरको प्रमुख कारण हुन्छ । शरीरको आवश्यकता अनुसार यी कोशिकाहरु विभाजित हुन्छन, तर जब यीनीहरु लगातार अनियन्त्रित वृद्धि हुन्छन्, तब क्यान्सरको रुप लिन्छन् । यस प्रकारले स्तन कोशिकाहरुमा हुने अनियन्त्रित वृद्धि नै स्तन क्यान्सरको प्रमुख कारण हो ।
स्तन शरीरको महत्वपूर्ण अंग हो । स्तनको काम भनेको आफ्नै तन्तुबाट दूध बनाउनु हो। यी तन्तुहरू सूक्ष्म वाहिनीद्वारा निप्पलसँग जोडिएका हुन्छन्। जब स्तन क्यान्सरको नलीमा सानो कडा कण जम्मा हुन थाल्छ वा स्तनको तन्तुमा सानो गाँठो बन्न थाल्छ । तब क्यान्सर बढ्न थाल्छ।
सामान्यतया स्तन क्यान्सर महिलामा हुन्छ, तर यसको मतलब यो होइन कि पुरुषमा स्तन क्यान्सर हुन सक्दैन । महिलामा जस्तै पुरुषमा पनि स्तन क्यान्सरको जोखिम हुन्छ । यद्यपि पुरुषमा स्तन क्यान्सरको जोखिम महिलाको तुलनामा कम हुन्छ ।
स्तन क्यान्सरका लक्षणहरु ?
स्तन क्यान्सरको सुरुको अवस्थामा कुनै पनि लक्षण देखा पर्दैनन्। सामान्यतया दुख्न पनि दुख्दैन। विभिन्न जाँचहरुबाट मात्रै यस अवस्थाको क्यान्सर पत्ता लाग्दछ। केहि देखिने लक्षण निम्न हुन्छन् ।
- स्तनको मुन्टोमा असाधारण परिवर्तन हुनु स्तनमा गाँठो, गिर्खा आउनु अथवा आकार परिवर्तन हुनु
- स्तन वा काखीमुनि गिर्खा वा डल्लो मासु देखिन सक्छ
- स्तनको निप्पल निचार्दा पानी, दुध वा पिप बग्ने हुन्छ
- स्तनको छाला खुइलिनु अथवा रङ्ग परिवर्तन हुनु
- निप्पल भित्रपट्टि छिर्दै जान्छ
कसरी थाहा पाउने ?
महिनावारी ठीक समयमा भइरहेको छ भने महिनावारी भएको सातदेखि १० दिनभित्रमा सेल्फ ब्रेस्ट एक्जामिन गर्न सकिन्छ । ऐना अगाडि उभिएर आफ्नो दुवै स्तनलाई हेर्ने, दुवै स्तनको समानता, आकार, बनोट, मुन्टोको अवस्था, छालाको रंग र नरमपनाको फरकपन हेर्ने गर्नुपर्छ ।
साथै स्तनको कुनै पनि भागमा रहेको गिर्खालाई ध्यान दिनुपर्छ । त्यस्तै मेमोग्राम,अल्ट्रासाउण्ड र सिटी स्क्यानसमेत गर्नुपर्ने हुन्छ। एमआरआई गरेर पनि रोग पत्ता लगाउन सकिन्छ। कतिपय अवस्थामा वायस्पी गर्नुपर्ने हुन्छ भने यति गर्दा पनि भएन भने डल्लै निकालेर परीक्षण गरिन्छ।
के कारण हुन्छ त स्तन क्यान्सर ?
स्तन क्यान्सर विभिन्न कारणले हुनसक्छ । केही प्रमुख कारण यी हुनसक्छन् ।
- स्तनपान नगराउँदा
- वंशाणुगत
- हर्मोनको गडबढी
- नशालु पर्दागको सेवन
- महिनावारीको अनियमितता
- त्यस्तै पुरुषमा स्तन क्यान्सरको समस्या देखिनुका मुख्य कारण यही हो भनेर पत्ता लागेको त छैन तर जोखिमका कारण भने धेरै छन् ।
कसरी बच्ने ?
जो महिला उच्च जोखिममा छन्, उनीहरू बेलैमा सचेत हुनुपर्छ। आफ्नो स्तन आफैंले ध्यान दिने र वर्षमा १ \ २ पटक परीक्षण गर्नुपर्छ। ४० वर्ष उमेर कटेका महिलाले भने वर्षमा १ पटक स्वास्थ्य परीक्षण गर्नु स्वास्थ्यका लागि राम्रो हो। महिलाहरु जागरुक हुनुको साथै नियमित रुपमा स्तन क्यान्सरको जाँच गराइराख्नु पर्छ ।
स्तनमा देखिने स–साना समस्याहरुलाई वेवास्ता गर्नु हुदैन । स्तनमा केहि समस्या देखिने बित्तिकै चिकित्सकको परामर्श लिनु पर्दछ
(प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तथा महिला क्यान्सर रोग विशेषज्ञ डा.किर्तीपाल सुवेदीसँगको कुराकानीमा आधारीत)
उहाँसगको कुराकानीको भिडियो स्वास्थ्य पेजको फेसबुक पेजमा चाडैं प्रकाशन गरिनेछ