नेपालगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले भेरी अस्पतालको बिग्रेको सिटी स्क्यान र एमआरआई मेशिन तत्काल बनाएर सेवा सुचारु गर्न निर्देशन दिएका छन् । अस्पतालको इन्डोर भवन र एमआरआई सेवा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सचिव पोखरेलले यो काम तत्काल गर्न निर्देशन दिएका हुन् ।”
बिग्रेको सिटी स्क्यान तुरुन्त बनाउनुस्, नयाँ पनि माग गर्नुस् । पहिलो चौमासिकमा सकिँदैन, दोस्रो चौमासिकमा दिन सक्ने अवस्थामा छौं,”उनले भने “-१७ गतेपछि एमआरआई पनि भएको रैनछ, यसलाई तत्काल बनाउनुस् । रेडियोलोजीका मेरा डाक्टर साथीहरुलाई विनम्र अनुरोध छ, एमआरआई बनाउनुस् । कृपया यसमा ध्यान दिनुहोला । अन्य चाहिएको उपकरण भन्नुस्, हामी दिन्छौं “।
डा.पोखरेलले डायलासिस र ट्रान्सप्लान्ट सेवालाई ध्यान दिन पनि आग्रह गरे । उनले अहिले भएको सेवाहरु राम्रो भएको उल्लेख गर्दै अझ ब्यवस्थित गर्नुपर्नेमा जोड दिए । दुई वटा प्रदेशको मुख्य अस्पतालको रुपमा रहेको भेरीको स्तरबृद्धि आवश्यक रहेको पनि बताए ।
” यसको स्तरबृद्धिका लागि सरकारले कुनै कसर बाँकी राख्दैन, ” उनले भने । कार्डियोलोजीमा भइरहेको कामको प्रशंसा गरेका डा.पोखरेलले स्पाइनल सर्जरी, न्युरो सर्जरीको काम पनि राम्रो भइरहेको उल्लेख गरे ।
“यसलाई अझ ब्यवस्थित गर्दै लगौं । नयाँ भवनलाई भरपुर सदुपयोग गरौं । इमरजेन्सीमा आउने विरामीले आर्थिक अभावले उपचार पाएन भन्ने कुरा नआओस् । यसको खर्च सरकारले दिन्छ, “डा.पोखरेलले भने ।
सरकारी अस्पतालमा जनताको विश्वास बढेको उनको भनाई छ । “हामी कर्मचारीको पहिचान सरकारी अस्पतालले गर्दा नै हुन्छ,” उनले अगाडि भने-“श्यामसुन्दर यादव, डा.विनोद थापा, डा.सुरेश कनौडिया यहाँ हुनुहुन्छ, उहाँहरु सरकारी कर्मचारी भएकै नाताले यहाँ हुनुहुन्छ । उहाँहरुले गरेको योगदानका लागि हार्दिक धन्यवाद अग्रजहरुलाई ।
“भेरी लगायतका अस्पतालमा पाँच सय बेडको ओएनएमका लागि मन्त्रीज्यूले प्रधानमन्त्रीसमक्ष कुराकानी गर्नुभएको छ, मन्त्रीज्यू यसमा लाग्नुभएको छ, प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ,”डा.पोखरेलले भने -“स्वीकृत हुने वित्तिकै मानव संशाधन पूर्ति हुन्छ । स्वास्थ्य मन्त्रालय यसलाई जतिसक्दो चाँडो टुंगोमा पुर्याउन लागिपरेको छ ।ू सरकारी कर्मचारी खाली छन् भने अस्पताल विकास समितिबाट लिन उनले सुझाए । मन्त्रालयले अहिले गर्न सक्ने भनेको छात्रबृत्तिका डाक्टरहरुलाई खटाउने हो,” उनले भने ।
बीमामा समस्या भएको उल्लेख गर्दै डा.पोखरेलले बीमाको सोधभर्ना ब्यवस्थित गर्नलाई प्रयास भइरहेको बताए । बीमाबाट उठेको १० प्रतिशत रकम छु्ट्याएर कर्मचारीलाई दिन उनको आग्रह छ ।
नर्सिंगको पढाई पनि छिट्टै सुरु गर्नुपर्ने भन्दै उनले पहल गर्न आग्रह गरे । नयाँ इन्डोर भवन र एमआरआई सेवाको स्वास्थ्य मन्त्री प्रदिप पौडेलले आज एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए ।