स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाइन्छ: मन्त्री पौडेल

    • स्वास्थ्य पेज

  • २५ श्रावण २०८१, शुक्रबार

नेपालगञ्ज: स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाइने बताएका छन् ।

नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सबैलाई समेट्ने गरी यसको दायरा फराकिलो बनाउने काम भइरहेको बताए । उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि केही नयाँ कामहरु गर्ने तयारी भइरहेको जानकारी दिँदै छिट्टै ती कार्यक्रमहरु घोषणा गरिने समेत बताए ।

आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने योजना पनि मन्त्री पौडेलले सुनाए । नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा उनले स्वास्थ्यमा नेपाली नागरिकको सहज पहुँच स्थापित गर्ने कार्ययोजनाका साथ सरकार लाग्ने बताए । सरकारी र निजी अस्पताललाई व्यवस्थित र नागरिकमैत्री बनाउन तथा अस्पतालहरुमा विरामीको लाइन हटाउने विषयमा आफू सुक्ष्म अध्ययनमा रहेको मन्त्री पौडेलको भनाई छ ।

पार्टी सभापति गौडेलले गरीब र निमुखा जनताको स्वास्थ्यमा सहज पहुँच पुर्याउने गरी नयाँ ढंगले काम गर्न मन्त्री पौडेले सक्षम हुने विश्वास ब्यक्त गरे । भेरी अस्पतालको स्तरबृद्धि, भौतिक पूर्वाधार विकास र जनशक्ति ब्यवस्थापनका लागि मन्त्री पौडेललाई आग्रह गर्दै उनले सुशील कोइराला क्यान्सर अस्पतालमा अहिलेसम्म दरबन्दी नै नभएकोप्रति ध्यानाकर्षण समेत गराए । गौडेलले नेपाली जनताले कांग्रेसलाई क्रेडिट दिने गरी स्वास्थ्य क्षेत्रमा नयाँ काम हुने विश्वास समेत ब्यक्त गरे ।

  • २५ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech