तत्काल पूर्वाधार र जनशक्ति थप्ने अवस्था छैनः स्वास्थ्य मन्त्री पौडेल

    • स्वास्थ्य पेज

  • २५ श्रावण २०८१, शुक्रबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संबिधानमा आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गरेकाले सरकारले त्यसको कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले स्वास्थ्य सेवालाई प्रभावकारी गराउन राज्यले लगानी गर्न जरुरी रहेको समेत बताए ।  भेरी अस्पताल नेपालगन्जको नवनिर्मित इन्डोर भवन तथा एमआरआई सेवाको उद्घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रमा राज्यको अहिलेको लगानीले संबिधानमा उल्लेख भए वमोजिम स्वास्थ्य सेवा प्राप्त गर्ने अवस्था नरहेको पनि बताए । उनले भने–‘अहिलेको लगानीले संबिधानमा उल्लेख गरिएअनुसार राज्यबाट प्राप्त हुने सेवा आमनागरिकले पाएका छैनन् ।

तर राज्यले विस्तारै त्यसलाई कार्यान्वयनमा लगिरहेको छ ।’ उनले स्वास्थ्य क्षेत्रको विकासका लागि तत्काल भौतिक पूर्वाधारमा लगानी गर्ने स्थिति राज्यसँग नरहेको पनि बताए । त्यसैगरी उनले जनशक्तिको व्यवस्थापन गर्न पनि चुनौतिपूर्ण रहेको उल्लेख गरे । उनले भौतिक उपलब्धता, जनशक्तिको उपलब्धता र उपकरणको उपलब्धताका आधारमा गुणस्तरीय र प्रभावकारी सेवा दिन आग्रह गरे ।

‘तत्काल भौतिक पूर्वाधारमा लगानी गर्ने अवस्था राज्यसँग छैन उनले भने–‘रातारात जनशक्ति थप्ने अवस्था पनि हामीसँग छैन त्यसैले भएको पूर्वाधार र जनशक्तिबाट प्रभावकारी सेवा दिनुपर्ने आवश्यकता छ ।’

यस्तै मन्त्री पौडेलले अस्पतालहरुमा उपचारका लागि बिरामी लाइन लाग्ने अवस्था हटाउने उपायको खोजीका लागि सरकार दत्तचित्त भएर लागेको बताए । उनले बिरामीलाई विना लाइन र भञ्झट सहजरुपमा उपचार सेवा दिने प्रबन्ध कसरी गर्न सकिन्छ भनेर सरकार लागिपरेको बताए ।

मन्त्री पौडेलले अस्पतालको निरीक्षण पनि गरेका छन् । यस्तै अस्पतालले आजैदेखि अनलाइन टिकट काट्न सक्ने व्यवस्थाको समेत शुरूवात गरेको छ । मन्त्री पौडेलको उपस्थितिको अवसर पारेर स्वास्थ्य परीक्षणका लागि अब घरमै बसेर पर्चा (टिकट) काट्न सक्ने व्यवस्थाको शुरूवात गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारी अस्पतालप्रति जनताको विश्वास बढेको बताए । भेरी अस्पताललाई स्तरवृद्धि र व्यवस्थित बनाउन मन्त्रालयले कुनै कसर बाँकी नराख्ने उनको भनाई छ ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापाले अस्पतालको सेवा प्रवाह, समस्या र मन्त्रालयसंग अस्पतालका अपेक्षा लगायतका विषयमा जानकारी गराएका थिए ।

अस्पताल विकास समिति अध्यक्ष बिरेन्द्र बहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय सांसदहरु सूर्य ढकाल, आशा विक र दीपा शर्मा, जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट लगायतको उपस्थिति थियो ।

  • २५ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech