नेपालगन्जः बाँकेमा बालबालिकाहरुमा कुपोषणको समस्या विकराल देखिएको छ । पश्चिम नेपालको सबैभन्दा सुगम मानिने जिल्ला भएपनि बालबालिकामा नै कुपोषणको समस्या न्यूनिकरण चुनौतिपूर्ण देखिएको हो । गत आर्थिक वर्ष ०८०-०८१ मा जिल्लाका एक हजार ३१० बालबालिकामा कुपोषण देखिएको छ । अघिल्लो आर्थिक वर्ष ०७९-०८० मा पनि बाँकेमा एक हजार ४१९ जना बच्चामा कुपोषण देखिएको थियो ।
स्वास्थ्य कार्यालयको यो तथ्याङ्कले नै कुपोषित हुने क्रम लगातार दुई आर्थिक वर्षमा घट्न नसकेको देखिएको छ । जिल्लाका आठ वटै पालिकाहरूले विभिन्न कार्यक्रम हुँदै आएपनि कुपोषित हुने बालबालिकाको संख्या कम देखिएको छैन । संघीय संरचनापछि स्थानीय तहले नै कुपोषण घटाउन कार्यक्रम गरिरहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देव नारायण उपाध्यायले बताए । उनले अझै पनि कुपोषित बालबालिकाहरू भेटिने क्रम निरन्तर जारी रहेको बताए । जनस्वास्थ्य निरीक्षक उपाध्यायका अनुसार ग्रामीण क्षेत्रका अधिकांश बालबालिका कुपोषित भेटिने गरेका छन् ।
पोषिलो खानेकुराको अभावमा उनीहरू कुपोषणको चपेटामा पर्ने गरेका छन्। उनले थपे, ‘समयमै पोषिलो खाना नपाएकै कारण ग्रामीण क्षेत्रका अधिकांश बालबालिका कुपोषित छन् । स्थानीयस्तरमा चेतनाको कमी र गरिबीले जानकी गाउँपालिका,नरैनापुर गाउँपालिका सहित नेपालगन्ज उपमहानगरपालिका लगायत अधिकांश क्षेत्रमा कुपोषित बालबालिकाको संख्या बढी छ ।’
स्वास्थ्य कार्यालय बाँकेका अनुसार गत वर्ष जानकी गाउँपालिकामा ३९९, नरैनापुरमा २७९, नेपालगन्जमा १४१, राप्ती सोनारीमा ११५, बैजनाथमा १०४, खजुरामा १०२, डुडुवामा १०१ र कोहलपुरमा ५१ जना बालबालिकामा कुपोषण पुष्टि भएको छ । गर्भवती हुने बेलादेखि नै स्वास्थ्य संस्थामा पहुँच नपुग्नु र पोषिलो खाना समेत नपाउनुले कुपोषणको समस्या भएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
पोषणबारे विशेष गरी मधेशी र मुस्लिम समुदायका महिलाहरूमा चेतना फैलाउन आवश्यक रहेको स्वास्थ्यकर्मीहरुको भनाइ छ। घरमै उपलब्ध हुने पोषिलो खाना नखाने गर्दा पनि बच्चाको शारीरिक वृद्धि विकास हुन नसकेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।