आमाहरु नै चाहान्छन् शल्यक्रियामार्फत बच्चा जन्माउन

    • स्वास्थ्य पेज

  • २५ श्रावण २०८१, शुक्रबार

नेपालगन्जः पछिल्लो समय शल्यक्रियाद्वारा बच्चा जन्माउने क्रम अस्वाभाविक रुपमा बढेको छ । भेरी अस्पतालमा सुत्केरी भएको तथ्यांक हेर्दा शल्यक्रियाबाट बच्चा जन्माउनेको संख्या अस्वभाविक देखिएको हो । अस्पताल नेपालगन्जका वरिष्ठ कन्सल्टेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी पछिल्लो समय शल्यक्रिया गरेर बच्चा जम्माउनेहरुको संख्या बढ्दो रहेको बताउँछन् ।

गर्भमा रहेको बच्चामा कुनै समस्या देखिए चिकित्सकहरुले नै शल्यक्रियाका लागि सिफारिस गर्छन्, जुन अनिवार्य पनि हो । तर, कतिपय अवस्थामा गर्भवती स्वंयले शल्यक्रियाद्वारा बच्चा जन्माउने इच्छा प्रकट गर्ने गरेको उनी बताउँछन् । डा.सुवेदीका अनुसार सुत्केरी गर्ने मुख्यत ३ वटा विधि हुन्छन्। एउटा स्वभाविक डेलिभरी । यसमा सुत्केरी गराउने घरहरु बढाउनुपर्ने हुन्छ ।

यसमा सुत्केरीलाई सहयोग हुने गरी, बेथा लाग्ने, डेलिभरी हुन सहयोग गर्ने औषधीहरु प्रयोग गर्ने गरिन्छ। अर्को सिजेरियन सेक्सनबाट डेलिभरी हुन्छ । बाँकी एक दुई प्रतिशत भ्याकुम, फोरसेप्सबाट गरिने डेलिभरी पर्छन् । भेरी अस्पतालको तथ्यांक हेर्दा गत आर्थिक वर्षमा २६ प्रतिशत बढीको सिजेरियन सेक्सनबाट डेलिभरी गराईएको पाइएको छ ।

१ हजार १४ जनाले अपरेशन मार्फत बच्चा जन्माएको अस्पतालले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ । त्यस्तै भ्याकुम, फोरसेप्सबाट गरिने डेलिभरीको संख्या २ सय १८ छ । आर्थिक वर्ष ०७९–८० मा २५ प्रतिशतको सिजेरियन सेक्सनबाट डेलिभरी गराईएको थियोे । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालका रुपमा चिनिने भेरी अस्पतालमा गत आर्थिक वर्ष ०८० –८१ मा ५ हजार ३ सय ८३ जना सुत्केरी भएका थिए भने आर्थिक वर्ष ०७९–८० भन्दा ५ हजार ५ सय ९५ जना सुत्केरी भएका थिए ।

भेरी अस्पतालमा मात्र नभई अहिले देशैभरका सरकारी र निजि अस्पतालहरुमा शल्यक्रियाद्वारा बच्चा जन्माउने क्रम बढ्दो देखिन्छ । नर्मल डेलिभरी सिजेरियन भन्दा सय गुणा राम्रो छ । खर्च कम लाग्ने, सुत्केरी आमामा हुने विभिन्न समस्याको सम्भावना कम रहने, पछि दोस्रो तेस्रो बच्चा जन्माउँदा नर्मल हुनसक्छ भनेर सम्झाउँदा पनि कतिपय शल्यक्रियाकै लागि दवाव दिने गरेको चिकित्सकहरु बताउँछन् ।

त्यसैले पनि शल्यक्रियाद्वारा बच्चा जन्माउने क्रम बढ्दो देखिएको हो । व्यथा लाग्न सुरु भइसकेपछि अधिकांश गर्भवतीलाई अप्रेशन गरेर बच्चा निकालिदिए हुन्थ्यो भन्ने महसूस हुन थाल्छ । जसले ६ देखि १० घण्टाको व्यथाको पीडा खप्ने, सहने आँट गर्छ, उसको ७५ प्रतिशत नर्मल डेलिभरी हुन्छ । जसले पीडालाई सहन सक्दैन, त्यो अवस्थामा मान्छेको सिजेरियन हुन्छ ।

चिकित्सकहरुका अनसुार नर्मल डेलिभरीबाट बच्चा जन्माउँदा रगत कम बग्छ । संक्रमण तथा शरीरको भित्री भागहरुमा चोटपटक लाग्ने सम्भावना कम हुन्छ । नर्मल डेलिभरीबाट बच्चा जन्माउने आमा छिटो तंग्रन्छन् । छिटो उठेर आफ्नो काममा फर्किन सक्छ । छिटो बच्चालाई स्यार्हान सक्छ । दूध सजिलै खुवाउन सक्छ । र, अर्को पटक पनि बच्चा जन्माउँदा डेलिभरी नर्मल नै हुने सम्भावना हुन्छ ।

  • २५ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech