बर्दियामा सर्पदंशको विगविगीः एकै दिन दुई बालिकाको मृत्यु

यसरी जागिन सकिन्छ सर्पदंशबाट


    • स्वास्थ्य पेज

  • २४ श्रावण २०८१, बिहीबार

नेपालगन्जः बर्दियामा सर्पदंशबाट एकै दिन दुई जना बालिकाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ की १५ वर्षीया माया चौधरी र ११ वर्षीया स्वर्णिमा चौधरीको सर्पदंशबाट मृत्यु भएको बर्दियाका अस्पतालका सूचना अधिकारी केशव न्यौपानेले बताए । एक जना बालिकालाई रातिको २ बजे र अर्की बालिकालाई बिहान साढे ८ बजे आफन्तहरुले अस्पतालमा पु¥याएका थिए ।

सर्पले टोकेर सिकिस्त अवस्थामा अस्पताल ल्याउँदै गरेका दुईजना बालिकाको बाटोमा नै मृत्यु भएको थियो । उनीहरुलाई रातीको समयमा करेत सर्पले टोकेका आशंका गरिएको छ । यसैगरी सर्पले टोकेर सिकिस्त मधुबन नगरपालिका –२ की ७ वर्षीया अर्की बालिका रियाको अहिले भेरी अस्पतालको आईसीयु वार्डमा भर्ना गरेर उपचार भइरहेको छ । बर्दिया अस्पतालका अनुसार चालु आर्थिक २०८१/०८२ मा बर्दिया अस्पतालमा ४२ जना सर्पले टोकेको बिरामी आएका थिए ।

जसमध्ये ३ जनालाई भेरी अस्पताल नेपालगन्जमा रिफर गरिएको छ । गत आर्थिक वर्ष २०८०/०८१ बर्दिया अस्पतालमा ८७ जना सर्पले टोकेको बिरामी आएको थिए । जसमध्ये ४७ विषालु सर्पले टोकेकामध्येमा १७ जनालाई भेरी अस्पतालमा नेपालगन्जमा रिफर गरिएको अस्पतालका सूचना अधिकारी न्यौपानेले बताए ।

बर्दियामा जिल्ला अस्पताल गुलरिया, ठाकुरबाबा नगरपालिकाको नगर अस्पताल र बारबर्दिया नगर अस्पताल र भुरीगाउँको आम्बासामा नेपाली सेनाको दंश उपचार केन्द्रमा सर्पदंशका बिरामीहरुको उपचार हुने गरेको छ ।

कसरी जोगिने सर्पदंशबाट

  • प्रा.डा. सञ्जीवकुमार शर्मा
    सल्लाहकार, ग्लोबल स्नेक बाइट इनिसिएटिभ (बिपी कोइराला
    स्वास्थ्य विज्ञान प्रतिष्ठान)

संसारभर ३४ सयभन्दा बढी सर्पका प्रजाति छन् । नेपालमा ८९ प्रजातिका सर्प पाइन्छ । तीमध्ये १७ प्रजातिका सर्प विषालु मानिन्छन् । यिनीहरूको बसोवास हिमाली क्षेत्रदेखि प्यासिफिक समुद्रका कोरल (मुगा) तटीय क्षेत्रहरूसम्म रहेको पाइन्छ । केही सर्पले जीवनकाल पानीमा बिताउँछन् भने कुनै सर्प जमिनमुनि अन्य प्राणीले खनेका वा बनाएका प्वालमा बस्छन् । केही सर्प रुखमाथि बस्छन् । धेरैजसो सर्पले फूल पारेर प्रजनन् गर्दछन्, तर केही प्रजाति भने पूर्ण विकसित बच्चा जन्माएर प्रजनन् गर्दछन् । सर्पका केही निश्चित प्रजातिहरू जस्तै अजिंगर वा राज गोमनले तिनीहरूले पारेको अन्डालाई पहरा दिई सुरक्षा प्रदान गर्दछन् । सबै सर्पले अन्य प्राणीलाई आहार बनाई निल्दछन् । सर्पका धेरै प्रजाति आफ्नो शरीरभन्दा पनि ठूला वा गह्रौँ आहार सजिलै निल्न सक्षम हुन्छन् ।

कुन–कुन सर्प खतरनाक हुन्छन् ?
सर्पका धेरैजसो प्रजाति मानिसलाई हानि नगर्ने खालका नै हुन्छन् । थुप्रै सर्पका प्रजातिमा बिल्कुलै विष हुँदैन । तिनले या त आहारलाई आफ्नो शरीरले बेरेर श्वासावरोध गरेर मार्दछन् वा आहारलाई जमिनमा थिचेर मार्दछन् या जिउँदै निलिदिन्छन् । सर्पका धेरै प्रजातिले मुखमा भएका विशेष खाले ग्रन्थिबाट रस निकाल्दछन्, जसले आहारलाई लठ्याउने, मार्ने र पाचन गर्नमा मद्दत पुर्याउँदछ । साथै, यस्तो रसले हानिकारक किटाणुविरुद्ध पनि काम गर्दछ । यसरी आफ्नो प्राकृतिक आहारलाई अशक्त बनाइदिने वा मारिदिने मुखका ग्रन्थिबाट निस्कने रसलाई वैज्ञानिक भाषामा विष र ग्रन्थिलाई विष–ग्रन्थि भनिन्छ । मुखको माथिल्लो बंगाराका अघिल्तिरका ठूला दुईवटा दाँतलाई विषदन्त भनिन्छ । एउटा विषवाहिनी नलीले प्रत्येक विषदन्तलाई टाउकोको दायाँ–बायाँ आँखाको पछाडि रहेका विष–ग्रन्थिलाई जोडेको हुन्छ । सर्पको दाँत निडिलजस्तो हुन्छ । मानिसको शरीरमा दाँत गाडेपछि विष फैलिन्छ । मानिसको शरीरमा लसिकातन्त्र हुन्छ । त्यसबाट विष रगतमा पुग्दछ । रगतको माध्यमबाट शरीरभरि फैलिन्छ ।

विषालु सर्प कसरी चिन्ने ?
सर्पसम्बन्धी ज्ञान नभएकाहरूलाई कुन सर्प विषालु हो र कुन होइन भनी पहिचान गर्न गाह्रो हुन्छ ।
बाहिरबाट झ्वाट्ट हेर्दा सबै सर्प उस्तै देखिए तापनि हरेक सर्पको शरीरको निश्चित विशेषता हुन्छ । जसले गर्दा कुन प्रजातिको सर्प विषालु र कुन चाहिँ विष नभएको छुट्याउन सकिन्छ । हाम्रोमा मुखको अघिल्लो भागमा १७ वटा विषदन्त भएका प्रजातिहरूलाई अति विषालु सर्प भएको पत्ता लागेको छ ।

विषालु सर्पका प्रकार
इलापिडी परिवार
गोमन, राजगोमन, करेत र मुगा सर्पहरू इलापिडी परिवारमा पर्दछन् । यस समूहका सर्पमा मुखको अघिल्तिर माथिल्लो बंगारोमा अचल रहने दुईवटा छोटा विषदन्त हुन्छन् । यी दाँत छोटा भए पनि प्रत्येक दाँतको बाहिरी सतहमा गहिरो डुँड हुन्छ । यस डुँडले विषलाई आहारको वा शत्रुको शरीरमा पुर्याउन प्रभावकारी भूमिका खेल्दछ । यिनीहरूको डसाइबाट देख्न सकिने डसाइको चिह्न वा रगताम्मे घाउ बनेको हुँदैन र यिनले कति विष पसाएको छ भनी पूर्वानुमान पनि गर्न सकिन्न ।

बाघे सर्प, हर्यौ सर्प
(भाइपेरिडी परिवार)
बाघे सर्प, गुरुबे सर्प र सबै ताप–संवेदनशील खाल्डो भएका हर्यौ सर्पहरूको समूहमा मुखको अघिल्तिर माथिको बंगाराको छेउमा दुईवटा एकदमै लामा विषदन्त हुन्छन् । यी दाँत खुम्चिन सक्ने भएकाले प्रयोग नभएका वेला पछाडि तलपट्टि दोब्रिएर बस्छन् । सर्पले मुख खोलेर डस्न लाग्दा यी दाँत सोझो हुन्छन् । यी दाँत औषधि दिने सुइजस्तै खोक्रो परेका हुन्छन् र सुइको जस्तै काम गर्दछन् । यी सर्पको विष गोमन, राजगोमन, करेत र मुगा सर्पभन्दा धेरै फरक हुन्छ ।

गोमन र करेतको डसाइ
करेतको डसाइ सामान्यतया राति सुतेका वेला हुन्छ र डसाइ भएको थाहै नपाउन सकिन्छ । यसको लक्षण बिहान पेट दुख्ने, आँखा उघार्न गाह्रो पर्ने हुन्छ, अत: यस्तो भयो भने छिट्टै उपचार गरिहाल्नुपर्छ । गोमनले दिउँसो कामको दौरान वा साँझ–बिहान डस्ने गर्छ ।
प्राथमिक उपचार
सर्पले डसेका वेला जो मान्छे नजिकमा हुन्छ उसले वा जसलाई डसेको हो उसले आफैँ पनि प्राथमिक उपचार गर्न सक्छ । बिरामीलाई सान्त्वना दिनुपर्छ, किनभने धेरको डरले पनि मृत्यु हुन्छ । डसेको हात वा खुट्टालाई हलचल हुन नदिनु एउटा प्रभावकारी उपाय हो । डसेको व्यक्तिलाई आरामसँग ढल्काएर सुताएर राख्नुपर्छ । । काम्रो लगाएर भए पनि डसेको हातखुट्टा हल्लिन दिनु हुँदैन । पीडितलाई तुरुन्त नजिकको सर्पदंश उपचार केन्द्रमा पुर्याउनुपर्छ ।
सर्पदंशबाट बच्ने उपाय
-घर तथा खेल मैदानवरिपरि सफा राखौँ, झाडी, ढुंगा, हिलो र पातको थुप्रो नराखौँ
-खुट्टा ढाक्ने गरी लामो लुगा र बुट वा जुत्ता लगाऔँ
-राति अँध्यारोमा हिँड्दा टर्च वा बत्ती बालेर मात्र हिँड्ने गरौँ
-ढुंगाको थुप्रो अथवा काठमा सर्प लुकेर बसेको हुन सक्छ, त्यसैले त्यस्ता ठाउँमा काम गर्दा सतर्क बनौँ, केटाकेटीलाई सर्प हुन सक्ने -इलाकामा जानबाटरोक्ने
-आफ्ना क्षेत्रमा भएका विष नभएको सर्पका बारेमा जानकारी राखौँ, भुइँमा सुत्न छाडौँ
-झुल टाँगेर मात्र सुत्ने गरौँ
-पालभित्र सुत्ने हो भने राम्ररी ढोका बन्द गरेर मात्र सुतौँ

  • २४ श्रावण २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech