नेपालगन्ज: नेपाल नेत्रज्योति संघ बाँकेद्वारा सञ्चालित नेपालगन्जको फुल्टेक्रास्थित फत्ते बाल आँखा अस्पतालमा गत आर्थिक वर्षमा सेवा लिनेको संख्या घटेको छ । गत आर्थिक वर्ष २०८०-८१ मा एक लाख ३३ हजार ३३८ जना नागरिकको आँखाको परीक्षण तथा उपचार गरेको अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार बर्माले जानकारी दिए ।
अस्पतालबाट आव २०७९-८० मा एक लाख ३८ हजार ३८४ जना नागरिकले सेवा लिएका थिए । यो अघिल्लो आर्थिकक वर्षको भन्दा ५ हजार ४६ जनाले कम हो । डा. बर्माका अनुसार गत आर्थिक वर्षमा ५५ हजार ५७७ जना नेपाली नागरिक र ४५ हजार ४७० जना भारतीय नागरिकको आँखाको परीक्षण गरिनुका साथै उपचार गरिएको हो । जस अन्तर्गत एक लाख एक हजार ४५ जनाको अस्पतालमा, ११ हजार ९४८ जनाको सामुदायिक आँखा उपचार केन्द्रमा र २० हजार ३४५ जनाको विभिन्न शिविरमा आँखाको परीक्षण गरिएको हो । गत आर्थिक वर्षमा आठ हजार ३९३ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।
अस्पतालबाट आर्थिक वर्ष २०७९-८० मा पाँच हजार ४१४ नेपाली र चार हजार ३८२ जना भारतीय गरी नौ हजार ९४८ जनाको शल्यक्रिया गरिएको थियो । अस्पतालले स्वास्थ्य बिमा बोर्डसँग आव २०८१-८२ देखि पाँच वर्षसम्मका लागि लागु हुने गरी स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरिसकेको हुनाले आगामी दिनमा सेवाग्राहीको संख्यामा वृद्धि हुने विश्वास लिएको छ ।
नेपाली नागरिकभन्दा भारतीय नागरिकको आकर्षणमा रहेको फत्तेबाल अस्पतालमा पछिल्लो समयमा भने तुलनात्मक रूपमा उपचार गर्न आउने भारतीय नागरिकको संख्या घट्दै गएको र नेपाली नागरिकको संख्या बढ्दै गएको डा. बर्माले जानकारी दिए । अस्पतालले प्रदान गर्ने उच्चस्तरीय सेवा तथा आँखा उपचारमा नेपाली नागरिकको सहज पहुँच भएका कारण पहिलाभन्दा अहिले नेपाली सेवाग्राहीको अनुपात बढेको उनको भनाइ छ ।
भारत सरकारले त्यहाँका नागरिकलाई विभिन्न योजना बनाएर निःशुल्क रूपमा स्वास्थ्य उपचार गर्न सुरु गर्नु तथा कोभिड समयमा नियमित रूपमा त्यहाँका नागरिक यहाँ आउन नपाउनु र त्यतैका स्वास्थ्य संस्थामा जाँच गराउँदा पछिल्लो समयमा भारतीय नागरिकको आउने संख्या क्रमशः कमी हुँदै गएको उहाँले जानकारी दिए ।
२०४३ सालमा स्थापना भई आँखा उपचारमा सेवा प्रदान गर्दै आएको अस्पतालमा नेपालका लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका साथै भारत उत्तर प्रदेश राज्यका बहराइच, गोन्डा, श्राबस्ती, गोरखपुर, लखिमपुर, सीतापुर, बाराबङ्की, लखनउ, अयोध्या, फैजावाद तथा सुल्तानपुरलगायतका जिल्लाबाट आँखाका बिरामीले सेवा लिने गरेको डा. बर्माको भनाइ छ ।
अस्पतालको सुरुवातमा १० शय्या क्षमता रहेको अस्पतालमा हाल २५० शय्याभन्दा बढी क्षमतामा सञ्चालन भइरहेको छ । अस्पताल अन्तर्गत विभिन्न जिल्लामा पाँच वटा आँखा उपचार केन्द्र सञ्चालन भइरहेका छन् ।